बैतडीमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन गरिँदै



बैतडी । अगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि बैतडीमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन गरिने भएको छ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा तोकिएका मतदानस्थल र मतदान केन्द्रहरुलाई पुनरावलोकन गर्ने कार्य जिल्ला निर्वाचन कार्यालय बैतडीले थालेको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अगामी माघ ८ गतेसम्म मतदानस्थल र मतदान केन्द्र टुंगाउने गरी जनप्रतिनिधि र राजनितिक दललाई जिम्मा दिएको छ । सो निर्वाचनमा बैतडीमा १ सय २० मतदानस्थलका १ सय ८२ मतदान केन्द्र तोकिएको थियो ।

ती मतदानस्थल र मतदान केन्द्रहरुमध्ये मतदाता र भौगोलिक अवस्थाको आधारमा पुनरावलोकनको काम हुने बैतडीका निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिनुभयो । मतदान गर्नका लागि ४ किलोमिटरभन्दा लामो दूरीमा रहेका तथा १ हजारभन्दा बढी मतदाता भएका मतदानस्थल रहेको भए मतदान केन्द्र थप गरिने उहाँले बताउनुभयो ।माघ ८ गते मतदानस्थल र मतदान केन्द्रहरुहरुको टुंगो लगाएर माघ ११ गते निर्वाचन आयोगमा पठाइसकिने जनाइएको छ ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद् विघटनका साथसाथै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गर्नुभएको थियो ।सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछिको विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहे पनि आयोगले मतदाता नामावली अध्यावधिक गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्