गुल्मीमा नागरिकमैत्री सेवा दिन सहायता कक्ष सञ्चालन



गुल्मी ।

गुल्मीदरबार गाउँपालिकाले नागरिकमैत्री सेवा दिन सहायता कक्ष सञ्चालन गरेको छ । सेवाग्राहीहरुले सहज र सरलरूपमा सेवा लिन सकून भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएकोे हो । जसले गर्दा विभिन्न सेवा दिन गाउँपालिकामा जाने सेवाग्रहीलाई सहज भएको छ ।

गाउँपालिकामा सहायता कक्षबाट पालिकामा सेवा लिन आउने नागरिकहरुले पेस गर्नुपर्ने विभिन्न निवेदनको ढाँचा उपलब्ध गराइने र सेवाग्राहीको काममा सहजीकरण गरिदिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष अशोककुमार थापाले बताउनुभयो ।

गाउँपालिकाले मासिक विद्युतीय बुलेटिन प्रकाशित गर्दै कार्यपालिकाका सम्पूर्ण विषयसार्वजनिक गरेको र गाउँपालिकाले गरेका कार्यहरुलाई पारदर्शीरूपमा आम जनतासम्म पुर्‍याउने कार्य गर्दै आएको छ ।गाउँपालिकाले सेवालाइ अझै बढी प्रभावकारी र जनमुखी बनाउँदै सेवा प्रवाह गर्न बिभिन्न बिषयगत शाखाहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

पालिकामा भष्ट्राचार शून्य सहनशीलताको नीति अवलम्ब गरी सेवा प्रवाह, पारदर्शी, जवाफदेहिता, सुशासन, विकास निर्माण प्रशासनलाई सँगसँगै अगाडि बढाइको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय बताउनुहुन्छ । त्यस्तै, गाउँपालिकाले कोरोना भाइरसका कारण विदेशबाट फर्केका र स्वदेशमै रोजगारी गुमाएका युवाहरुलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाउनका लागि बाँझो जग्गाको लगत सकलन कार्य थालेको छ ।

प्रतिक्रिया दिनुहोस्