एट्लेटिकोको रियलमाथि ४ अंकको अग्रता



लन्डन, (एजेन्सी) ।

एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत अंकतालिकामा दोस्रो स्थानको रियल मेड्रिडमाथि ४ अंकको अग्रता कायम गरेको छ । मंगलबार राति भएको खेलमा सेभियामाथि २–० को जित निकाल्दै दुई खेल कम खेलेको एट्लेटिकोले शहरी प्रतिद्वन्द्वी रियललाई ४ अंकले पछि पारेको हो । एट्लेटिकोको १६ खेलबाट ४१ अंक पुगेको छ । जसमा १३ जित २ बराबरी र १ हारको नतिजा छ ।

१८ खेल खेलेको दोस्रो स्थानको रियल म्याड्रिडको ३७ अंक छ । पराजित भएको सेभियाले चौथो स्थानमा उक्लने अवसर गुमाउँदा छैटौं स्थानमा खुम्चिएको छ । सेभियाको १७ खेलबाट ३० अंक छ । घरेलु मैदान वान्डो मेट्रोपोलिटानोमा एट्लेटिकोको जितमा एन्जल कोरेय र साउल निग्वेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो ।

खेलको १७औं मिनेटमा नै एन्जेल कोरेयको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । उनले काइरन ट्रिपिएरको पासमा गोल गरेका थिए ।७६औं मिनेटमा सउल निग्वेजले मार्काेस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई २–० को सहज जित दिलाए । घरेलु टोलीविरुद्ध सेभियाले केही सुवर्ण अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्