भारतमा बर्डफ्यू देखिएपछि नेपालमा कडाइ



कृष्णउदास खनाल, वीरगन्ज ।

भारतका विभिन्न राज्यमा देखापरेको बर्डफ्लु नेपालमा भित्रन नदिन वीरगन्ज सहित देशभरका सीमा नाकामा कडाई र निगरानी बढाईएको छ । भारतको १० भन्दा बढी राज्यमा वर्डफ्लु देखा परेपछि वीरगन्ज सहितका सिमा नाकामा कडाई सहित अनुगमन समेत गरिएको छ ।

पर्सा जिल्लामा यतिखेर कुखुराको मासु र अण्डाको मूल्य बढेसँगै ब्यपारीहरूले भारतीय बजारबाट ल्याएर वीरगन्ज लगायतका सीमावर्ती नेपालका बजारहरुमा विक्री वितरण गर्ने गरेको पाईएपछि अवैध ओसार पसार रोक्नका लागि पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज, जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल १३ नंबर गणको संयुक्त टोलीले पर्साको सीमावती बजारमा अनुगमन समेत गरेको छ ।

अनुगमनका क्रममा पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा बजार र जगरनाथपुर गाउँपालिकाको जानकी टोला बजारमा भारतीय अण्डा छ्याप्छ्याप्ती विक्री वितरण भएको पाईएको छ ।बुधबार पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डा. हरेराम यादबको नेतृत्वमा सीमावर्ती बजार झौवा, सबैठवा, भिस्वा दशौता, जानकी टोलामा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा टोलिले ३५ क्रेट अण्डा र केही कुखुरा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको अण्डा र कुखुरालाई सशस्त्र प्रहरी बल भिखमपूरमा नष्ट पनि गरिएको छ । भारतबाट आयात हुने कुखुरा र अन्डामा पूर्ण रूपमा रोक लगाउन पशु क्वारेन्टाइन कार्यालय पर्साले निर्देशन दिएको छ ।

नेपाल पोल्ट्रीमा आत्म निर्भर भएकोले बर्डफ्लु देखिएका भारतीय कुखुरालाई रोक लगाउन र विशेषगरी बजारमा सेतो अण्डा भेटिए तत्काल जफत गरेर नष्ट गर्न सुरक्षाकर्मीहरूलाई निर्देशन गरिएको छ । नेपालमा बर्डफ्लूको संक्रमण हुन नदिन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बाहिरबाट आयात हुने पशुपन्छि तत्काल नेपाल भित्रिन नदिन निर्देशन दिएको छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सिमा नाकाबाट आयात हुने पशुपन्छि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्