धुलिखेलका प्राचीन शहरलाई पुनर्जिवन



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपालका प्राचिन शहरलाई पुर्नजीवन प्रदान गरिने भएको छ । भुकम्पले क्षति गरेका शहरहरु मात्रै नभई विभिन्न कारणले क्षयिकरण भएका प्राचिन शहरहरुको गुरु योजना निर्माण गरी पुर्नजीवन दिने विषयमा सरोकारवालाहरुले निश्कर्ष निकालेका छन् ।

धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा नेपाल नगरपालिका संघ, पुनर्निर्माण प्राधिकरण र नगर विकास कोषको सहकार्यमा धुलिखेलको पुरानो बस्तीहरुलाइ पुरानै मौलिक शैलीमा पुनःनिर्माण गर्न तथा पुराना सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न सबै पक्षको उत्तिक्कै सहभागिता रहेको निश्कर्ष निकालिएको छ ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नेपालका प्राचिन शहरहरु भुकम्प तथा अन्य विपती र विविध कारणबाट नष्ट हुँदै गएकाले त्यस्ता शहरहरुको गुरुयोजना निर्माण गरी पुर्नजीवन दिनु पर्ने बताउनु भयो । नेपालका सबै प्राचिन शहरहरुको पुर्ननिर्माण गर्न राष्ट्रिय विपद ब्यवस्थापन केन्द्र, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगर विकास कोष, नेपाल नगरपालिका संघ, संरक्षण नेपाल र सरोकारवाला निकायहरु सक्रिय हुने बताईएको छ ।

कार्यक्रममा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले ग्रामिण भेगमा भन्दा शहरी भेगमा पुनर्निर्माणको कार्य कठिन भएको बताउनु भयो । प्राचिन शहरहरुमा गरिने पुनर्निमार्ण पुरानै शैलीमा गर्नु पर्ने भएकाले दक्ष जनशक्तिको अभाव, बजेट तथा स्थानीयहरुको चासो भएकाले सहज हुन कठिन हुने बताउनु भयो ।

स्थानीय सरकारहरुले चासो दिँदा पुनर्निर्माणले गति लिने भएकाले साझेदारीमा गर्ने गरी गुरुयोजना निर्माण, डिजाईन तथा इस्टमेट र नक्सा पासमा सहुलियत आवश्यक रहेको बताउनु भयो । स्थानीयहरुको चासो र सक्रियता हुँदा मात्रै पुनर्निर्माण सम्भव हुने ज्ञवालीले बताउनु भयो ।

कार्यक्रममा नगर विकास कोषका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले नगर क्षेत्र भित्रको शहरहरुको निर्माण र पुनर्निमाणमा स्थानीय सरकारहरुसँग समन्वय गर्न तयार रहेको बताउनु भयो । नेपाल नगरपालिका संघका कार्यकारी अधिकृत कलानिधि देवकोटाले सबै निकायसँग समन्वय गरी शहर निर्माण र प्राचिन शहरको संरक्षण गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्मा, वडा अध्यक्ष रोमी ब्याञ्जु, रोटरी अध्यक्ष शुशिल ब्याञ्जु, समाजसेवी दिर्घसिं बरुण, पुर्व वडा अध्यक्ष पूर्णबहादुर कर्माचार्य लगायतले पुराना बस्तिहरुको संरक्षण र पुनर्निमाण गर्नु पर्ने बताउनु भयो । धुलिखेल बजार, श्रीखण्डपुर र शंखुको इट्टे बजारको पुनर्निर्माणको लागि आवश्यक तयारी शुरु गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्