कोरोना खोप व्यवस्थापन



विश्वलाई तहसनहस गर्ने गरी फैलिएको कोरोना भाइरसविरुद्धको खोप उत्पादन भएपछि विश्वमा एक प्रकारको खुसी छाएको छ । अहिले विश्वका ३१ भन्दा बढी देशले कोरोना संक्रमणविरुद्धको खोप आफ्ना नागरिकलाई लगाउन शुरु गरेका समाचारहरु सार्वजनिक भएका छन् । विश्व स्वास्थ्य संगठनले अहिले उक्त खोपमा पहुंँच गरिब मुलुकहरुमा पु¥याउन गरेको प्रयासलाई विश्व समुदायले स्वागत गरिरहेको छ । कोरोना संक्रमणबाट प्रभावित देशहरु अहिले कोरोना संक्रमणविरुद्धको खोप भित्र्याउन भरमजदुर प्रयासमा रहेका छन् । नेपालमा पनि उक्त खोेप कहिले भित्रन्छ भन्ने आम चासो र चिन्ता बढ्दै गएको छ ।

सरकार रमिते बनेर बसिरहेको आरोप लागेका बेला कोरोना संक्रमणविरुद्धको खोप ल्याउने पहल भइरहेको बताइएको छ । सरकारले नेपाली नागरिकलाई उक्त खोप निःशुल्करूपमा उपलब्ध गराउन ५० करोड बजेट विनियोजन गरेको बताउँदै १६ हजार खोप केन्द्रबाट उक्त खोप लगाउने घोषणा गरे पनि खोप कहिलेसम्म आइपुग्छ भन्ने विषयमा भने अनुत्तरित रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप निश्चितरूपमा नेपाल आउने तर मिति तय नभइसकेको बताएपछि जनता फेरि एकपटक निरास भएका छन् ।

कुन कम्पनीबाट खोप नेपाल ल्याउने भन्ने विषयमा समेत सरकार अहिलेसम्म अलमलमा पर्नुले खोप नेपाल भित्रने समय अनिश्चित बन्दै गएको देखिन्छ । यसले कोरोना संक्रमणको जोखिम कायमै रहनु र सरकारले खोप ल्याउने मिति घोषणा गर्न नसक्नुले पनि थप चिन्ता थपिदिएको हो ।

अन्य मुलुकले खोप ल्याउने बारेमा अग्रगामी पहल चालिरहँदा नेपालमा भने यसको पहलले मूर्त रूप लिन नसक्नु सरकारको लाचारीपन हो भन्दा अत्युक्ति नहोला । राज्यको प्रमुख समस्याका रूपमा रहेको कोरोना संक्रमणलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्नेमा सरकार आन्तरिक छिनाझम्टीमा अलमलिनु, सत्ता टिकाउन अनेक तिकडममा लाग्नुले पनि खोप ल्याउने विषय ओझेलमा परेको हो ।

अहिले प्राथमिकता भनेको सत्ता टिकाइराख्ने मात्र होइन, जनताको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने थियो, विडम्बना, सरकार अहिले जनअपेक्षाविपरीत सत्ता किटाउने खेलमा रहनुले पनि यस्ता विषय प्राथमिकतामा नपरेको अनुभव आम नेपालीले गरिरहेका छन् । सरकार जनताको अभिभावक हुनुपर्ने थियो तर सरकार अहिले जनताको अभिभावक होइन, आफ्ना व्यक्तिगत स्वार्थमा अल्झिएर जनतालाई निरास र बेखुस बनाउन लागि परेको देखिन्छ ।

जेहोस्, सरकारले कोरोना संक्रमण विरुद्धको खोप ल्याउन गरेको पहललाई सकारात्मक रूपमा लिँदै सरकारलाई दबाव दिन नागरिक समुदाय चनाखो हुनुपर्ने बेला आएको छ । कुनै अमुक समूहले आयोजना गरेको विरोध ¥यालीमा सहभागी हुने नेपाली जनताले अब भने यस विषयलाई पनि गम्भीररूपमा उठाउनु आवश्यक छ । आम नेपालीले सरकारलाई दबाब दिन सके मात्रै खोरोनाविरुद्धको खोप चाँडै नेपाल भित्रनेछ ।

संसद् पुनःस्थापना संवैधानिक आधारयुक्त विषय हो, आम नागरिकको चाहना पनि यसै दिशातर्फ उन्मुख देखिन्छ । तर, संसद पुनःस्थापनाका साथ मानव स्वास्थ्यको पुनःस्थापना र जीवन रक्षा पहिलो प्राथमिकताको विषय हुनुपर्छ । यस तथ्यप्रति सजग हुँदै आन्दोलनमा सहभागी हुनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्