बीबीएलमा होबार्टले लगातार हार बेहोर्दै



मेलबर्न, (एजेन्सी) ।

अष्ट्रेलियामा जारी ‘बिग बाश टी २० क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी टिम होबार्ट हरिकेन्सले लगातार हार बेहोरेको छ ।

होबार्टले लगातार तेस्रो हार आत्मसात गर्ने क्रममा पर्थ स्कचर्ससँग ९ विकेटले पराजित भएको हो । होबार्टले जितको लागि १ सय ४० रनको लक्ष्य दिएकोमा पर्थले १६.१ ओभरमा १ विकेटको नोक्सानमै जित हासिल गर्‍याे । टिमलाई विजयी दिलाउन इंग्लिस ब्याटसम्यन जेसन रोयले सर्वाधिक ७४ रन जोडेका थिए ।

उनले ५२ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरेका थिए । सन्दीपले ३ ओभर बलिङ गरे पनि एक विकेट पनि हात पार्न सकेका थिएनन् । उनले २३ रन खर्चेका थिए ।

यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो । टिमका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रनको योगदान दिए । यसपछि टिम डेभिडले ३१ रन बनाएका थिए । अन्यले भने खासै ठूलो योगदान दिन सकेका थिएनन् । पर्थका बलर आरोन हार्डीले २ विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्