सहकार्य गर्दै चुनौतीलाई पन्छाउँ छु: खेलकुदमन्त्री



काठमाडौं ।

नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छाउने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा मंगलबार आयोजित मन्त्री तामाङको स्वागत तथा बधाई कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालहरूसँग सहकार्य गर्दै पन्छाउनेछु । समस्याका बारेमा चाडै नै छलफल गर्छु ।’– राखेपका अध्यक्षसमेत रहेका मन्त्री तामाङले भने ।राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद मन्त्रालयले उपयुक्त मन्त्री पाएको धारणा व्यक्त गर्दै, पदक, र प्रदर्शनका हिसाबले १३औं दक्षिण एसियाली खेलकुद उत्कृष्ट रहेको जानकारी गराए ।

सदस्य–सचिव सिलवालले चालु आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा बृद्धिका लागि पहल गरिदिन मन्त्री तामाङसमक्ष आग्रह गरे । उनले कोभिड–१९ का कारण नवौं राष्ट्रिय खेलकुद सार्नुपरेको भन्दै हाल नेपाली खेलकुदले गति लिन थालेको बताए । कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्