प्रमको प्रतिगमनविरुद्ध एक आन्दोलनकर्ताको भित्री कथा



  • मनिषा कार्की

पार्टी एकताको घोषणा गर्दै गर्दा मलाई लाग्थ्यो, अब राजनीतिक स्थिरताको अन्त्य हुने भो, अब सडकमा हाम्रो पुस्ताले कहिल्यै एउटा हातमा झन्डा र निधारमा कालो कफन बाँध्न पर्दैन, कहिल्यै मसाल झोस्न पर्दैन र कसैको पुत्ला दहन गर्न एवं प्रदर्शन गर्न पर्दैन । पार्टी एकता भएको र पार्टीले झन्डै दुई तिहाइ मत प्राप्त गरेको करिब तीन वर्ष पुग्दा नपुग्दै आज हामी सडकमा दैनिकजसो आन्दोलनमा होमिन बाध्य भएका छौं । दैनिक जसो माइतीघर मण्डला, प्रदर्शनी मार्ग, बानेश्वर र अन्य ठाउँमा प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी र पुत्ला दहन सामान्यजस्तै भएको छ ।

हिजो उनै नेताको स्कुनिङबाट जन्मेको हाम्रो पुस्ता आज उनै नेताहरुको विरुद्ध संघर्ष गर्नुपर्ने बाध्यता हामीमाझ उभिएको छ ।मलाई अराजक प्रतिगमनका अन्धभक्तहरुको भजन मण्डली र त्यसका नाइकेभन्दा लोकतन्त्रको पक्षधर, गणतन्त्रको गुलाम बन्न र विधि, पद्धति, सुशासनको अनुयायी बन्नु मेरो राजनीतिप्रतिको निष्ठा र धर्म हो भन्ने ठान्छु । यो आन्दोलनमा मलाई आलोचनाभन्दा धेरै साथ र सहयोगहरु हुने गरेका छन्, यसो भन्दै गर्दा मेरो पुर्वसहयोद्धा मित्रहरुबाट आन्दोलनप्रतिको मेरो लगाव वा रुचिमा विभिन्न टीका–टिप्पणी र आलोचना न भएका भने होइनन् तर सामान्यीकरण र हलुका आलोचनाले मलाई कुनै प्रभाव पार्दैन ।

त्यसैले अचेल झोलाभरि किताब बोकेर एकबिहानै त्रिभुवन विश्वविद्यालयको गेटभित्र छिर्न हतार हुने मलाई, पुस्तक समातेर भन्दा झोलाभरि संगठनको झन्डा र खल्तीभरि कालो कफन लिएर आन्दोलनमा तोकिएको स्थानसम्म उपयुक्त समयमा पुग्न मलाई हत्तार हुन्छ ।आज म फुर्सदमा छु, त्यसैले म लेख्दै छु तर फुर्सद कुनै आन्दोलन वा कार्यक्रम नभएर होइन, म आन्दोलनमा घाइते भएर हो । यो स्वर्णिम समयको सदुपयोग । आज प्रधानमन्त्री ओलीको प्रतिगमन, तानाशाह शासन शैलीको, ‘बा’ प्रवृत्तिको विरुद्ध मेरो रगत बग्ने शिरा, धमनी, नसा, विचार जन्मने मगज, शरीरका अङ्ग–प्रत्यङ्ग, सबै आन्दोलित भएका छन् ।

मैले हिजोमात्र रजश्वलाको असह्य पीडा सहेर पनि प्रधानमन्त्री ओलीको प्रतिगमनको विरुद्ध संघर्ष गरेँ, विद्रोह गरेँ र आज घाइते भएको छु । घाइते शरीर बोकेर पनि म अझै शान्त भएको छैन, प्रतिगमनको विरुद्ध ।त्यसैले मलाई लाग्छ, म मात्र होइन आमजनसमुदायले प्रधानमन्त्री ओलीको प्रतिगमनको धैर्य भएर सहन हुन्न, सबैले एउटै लयमा एउटै स्वरमा प्रतिगमनको विरुद्ध गीतहरु गाउने बेला आएको छ । कविहरुबाट हजारौं कविताहरु जन्माउने बेला आएको छ । कलमको नेगहरु आन्दोलित हुन ढिला भएका छन् । हजारौं–लाखौं न्यायप्रेमी प्रगतिशील जनसमुदाय सडकमा उत्रिएर गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षा गर्ने बेला आएको छ ।

पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको जतिसुकै भत्र्सना गरे पनि निकै कमी हुन्छ । विधि–पद्धतिले खान–लाउन पाइन्छ जस्ता कुतर्क गरेर जनताको भरोसा र जनमतको अपार अपमान गरे भने एकताको बेला नेकपा एमाले दर्ता गरेर एकताको धज्जी उडाए । त्यतिखेर बैठकमा उपाध्यक्ष वामदेव गौतमले भनेका थिए, ‘प्रधानमन्त्रीलाई ‘बा’ भन्नेहरूले एमाले दर्ता गराए ।’ र, आज त्यसैको परिणाम प्रधानमन्त्री ओली र उनका अनुयायीहरु आज प्रतिगमनको बाटो लम्किरहेका छन् ।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले २०६५ तिर तत्कालीन एमालेको केन्द्रीय कमिटीमा नै ‘बा’ अर्थात् केपी ओलीको ‘बा’ प्रवृत्तिविरुद्ध विरोध गरेका थिए, आज १२ वर्षपछि पनि हामी ‘बा’ प्रवृत्तिको विरुद्ध संघर्ष गर्दै आयौं र गर्दै छौं । जुन कुरा ‘केपी बा’ अर्थात् प्रतिगमन मन पराउने÷नपराउनेको तर्क एकातिर रहँदै आज पार्टी विभाजन भएको छ । कम्युनिस्टहरू नातावाद र कृपावाद रुचाउँदैनन्  तर प्रधानमन्त्री ओली सबैभन्दा नातावाद र कृपावाद रुचाउने व्यक्ति विशेष हुन् । त्यसैले ओलीलाई कम्युनिस्ट मान्ने कि ‘बा’ मान्ने भन्ने मूल प्रश्न उठेको छ ।

सेकेन्ड इन्टरनेसनलबारे लेखिएको ‘फर्जिङ डेमोक्रेसी’ नामक किताबअनुसार सबै तहका नेताले सबै तहका नेतालाई कमरेड सम्बोधन गर्थे । समाजवादी तथा माक्र्सवादी आन्दोलनको सेकेन्ड इन्टरनेसनललाई समेत कम्युनिस्ट आन्दोलनको आधार मानेका नेपालका कम्युनिस्टहरूले शुरुमा त्यसैको नेपाली अनुवाद मित्र र पछि कमरेड सम्बोधन गर्न थालेका थिए । तर हाम्रो हिजोको नेकपा र जनवर्गीय संगठनभित्र ‘बा’ प्रवृत्तिमा रमाउनेहरुले सधैँ आफूभन्दा तल्लो तहमा रहेर काम गर्ने कमरेडहरुलाई उमेरमा दाइ भए पनि भाइ भनेर होच्याए, जुन संगठन र पार्टीभित्रको दुर्भाग्य थियो ।

आज प्रधानमन्त्री ओली र उनको मन्त्रिमण्डल राजारजौटाजस्तो र तल्लो तहको नेतृत्व भारदारहरुजस्तो देखिएको छ । जिल्ला तहसम्म पुग्दा पञ्चे र पञ्चायती मण्डले प्रवृत्तिको संस्कार झल्किन्छ । त्यसैले मलाई लाग्छ, प्रधानमन्त्री ओलीको संविधानमाथिको ‘कू’ मात्र आजको आन्दोलनको मुद्दा होइन, भ्रष्टाचारीको संरक्षण गर्ने, नक्कली राष्ट्रवादको नारामा स्वाधीनता बेच्ने, गफ गरेर देश चलाउन खोज्ने, अरुलाइ तल्लो स्तरमा उत्रिएर आलोचना गर्ने, देश र जनताप्रति कहिल्यै उत्तरदायी नहुने, राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्ने कदम हाम्रो निम्ति अमान्य छ । तसर्थः प्रधानमन्त्री ओलीको प्रतिगमनको विरुद्ध हाम्रो आन्दोलन र संघर्ष जारी छ ।

(कार्की त्रि.वि.मा एमएस्सी अध्यनरत अनेरास्ववियुकी विद्यार्थी नेता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्