हिमालपारि मनाङ जलिरहेछ वारि राजनीतिको बाँसुरी बजिरहेछ



यदुप्रसाद भट्ट, मनाङ
हिमालपारिको जिल्ला मनाङमा मंसिर ११ गतेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । चामे गाउँपालिका–२ थानचोकको वनबाट आगलागी शुरु भएको थियो । स्थानीयले बारम्बार अनुनयविनय गर्दा पनि आगलागी नियन्त्रणमा हिमालवारिका शासकले रुचि देखाएनन् ।
काठमाडौंबाट मनाङको यात्रामा निस्केको पत्रकारको टोली आगलागीस्थलमा पुग्दा स्थानीय नागरिक सम्बन्धित निकायको आँखा खोलिदिन हारगुहार गर्दै थिए । ‘तन जलेको छ, मन जलेको छ अनि घरसँगैको वन जलेको छ।’ –नासो गाउँपालिका–८ ताचैका स्थानीय यज्ञ घलेले पीडा पोख्नुभयो । दिनभरि ताचैका स्थानीय आफै आगलागी नियन्त्रणमा खटिएका छन् । विकट हिमाली भूभाग, स्रोतसाधनको अभाव अनि प्रशासनको बेवास्ताका कारण लागलागी नियन्त्रणमा कुनै ठोस पहल नभएको उहाँको भनाइ थियो ।
त्यस्तै ताचैका सामुदायिक व्यवस्थापन समिति प्रमुख याद घलेले आफैले सीडीओ तथा सुरक्षाका चारवटै निकायलाई लागलागी नियन्त्रणमा कदम चाल्न अनुरोध गरेको बताउनुभयो । मनाङबाट सरुवा भएर जानलागेका प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले आफूहरुको कुनै कुरा नसुनेको घलेले आक्रोश व्यक्त गर्नुभयो । उहाँले यहाँका जनप्रतिनिधिले यत्रो संकटको बेलामा पनि कुनै चिन्ता–चासो नदेखाएको बताउनुभयो । चुनावका बेलामा मात्र गाउँ आउने अरु बेला काठमाडौंमै बस्ने नेताहरुले गाउँमा ध्यान नदिएको उहाँको भनाइ थियो ।
एक हप्ताअघि मात्र मनाङ आएका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सोमबारदेखि आगलागी नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित भएको जनाउँदै आगलागी भएको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको थियो । उहाँले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।
‘हाम्रो प्रयत्न जारी छ, हामी नियन्त्रणको प्रयास गरिरहेका छौं’, उहाँले भन्नुभयो– ‘मानवले गर्न सक्नेजति गर्छौं । मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ, अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुनसक्छ ।’
त्यसै गरी आगलागीबाट केकति क्षति भयो, यकिन गर्न नसकिने बताउँदै अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)का जिल्ला प्रमुख लेखनाथ गौतमले आगलागीले जैविक विविधतामा गम्भीर असर पु¥याउने बताउनुभयो ।
‘हिमाली क्षेत्रमा लामो समयसम्म लागेको आगोले वनस्पति र वन्यजन्तु लोप हुन्छन् । यसले जैविक विविधतालाई असर पार्छ।’ –गौतमले भन्नुभयो ।
आगलागीले कस्तूरी मृगदेखि हिमचितुवासम्मको बासस्थान खोसिएको छ भने पाँचऔंले, चिराइतो, जटामसी, निरमसी, यार्सागुम्बाजस्ता अमूल्य जडीबुटी नष्ट भएका छन् ।
आगलागीको कारण अहिलेसम्म यकिन भएको छैन । तर पनि हिमाली क्षेत्रमा कस्तूरी, थार, घोरल आदिको चोरीशिकारी गर्न र आगामी वर्ष राम्रोसँग गुच्चीच्याउ टिप्न पाइने आशामा पनि स्वार्थी तŒवले आगलागी गराएको हुनसक्ने स्थानीय नरजंग घले बताउनुहुन्छ । निगालोको झाडीमा आगो लगाउँदा नयाँ घाँस पलाउने भएकाले स्थानीय गोठालाहरुले आगो लगाएको हुनसक्ने पनि उहाँले बताउनुभयो ।
नयाँ सीडीओ लामिछाने आएपछि दैनिकरुपमा स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको टोली आगलागी नियन्त्रणमा खटेको छ । चामे गाउँपालिका–२ थानचोकबाट शुरु भएको आगलागीले हाल नासो गाउँपालिका–८ ताचै आइपुग्दा ७ सय हेक्टरभन्दा बढी जंगल सखाप पारिसकेको छ ।

तस्वीर ः नवीन लामिछाने

प्रतिक्रिया दिनुहोस्