विद्यार्थीलाई दिवाखाजा, अब चाहिएन ‘भोकछुट्टी’



न्युज अफ नेपाल, हेटौंडा ।

केही समययता विद्यार्थीले बीचमै छुट्टी मागेका छैनन् । तोकिएको समय ज्ञानी भएर कक्षामा बस्छन्, रमाउँछन् अनि पढ्छन् । उनीहरुको शरीरमा आलस्यता देखिएको छैन । फूर्तिलो शरीरसाथ उनीहरुको ध्यान पढाइमै केन्द्रित भएको देखिन्छ ।

यसको प्रमुख कारया हो–दिवाखाजा । विद्यालयमै दिइने दिवाखाजा कार्यक्रमले मकवानपुरका विद्यालयमा विद्यार्थी टिकाउने मेसो मिलाइदिएको छ । दिवाखाजा कार्यक्रमले विद्यार्थी, विद्यालय र अभिभावकबीचको सम्बन्धलाई पनि थप नजिक ल्याएको छ । छोराछोरी विहान विद्यालय पुर्‍याउन र बेलुका लिन अभिभावक विद्यालय जान्छन् । यसले विद्यार्थीको रेखदेख र शिक्षामा पनि सहयोग पुर्‍याएको छ । दिवाखाजाले नयाँ सोच विकास गर्न खोजेको छ ।

हाल सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकले उनीहरुको स्वास्थ्यमा खासै चिन्ता राख्दैनन् । किनकि, दैनिक पोषण मिलाएर दिवाखाजा दिइने भएपछि अभिभावकले छोराछोरीको शिक्षामा चासो बढाउन थालेको देखिएको छ । त्यसैले होला विद्यार्थीलाई नियमित विद्यालय उपस्थित गराउन सञ्चालन गरिएको दिवाखाजा कार्यक्रम प्रभावकारी बनेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा दिवाखाजा उपलब्ध भएपछि बालबालिका पूरै समय विद्यालय बस्न थालेका छन् । प्राथमिक तहका बालबालिकालाई खाजाको व्यबस्था गरिएपछि बालबालिका पठनपाठनमा ध्यान दिन थालेको शिक्षकको अनुभव छ ।

विद्यालय समयमा बीचमै कक्षा छाडेर भाग्ने विद्यार्थी दिवाखाजाले पूरै समय विद्यालयमा बसेर पढाइमा रुचि देखाउन थालेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो–कतिले त भोक लाग्यो भन्दै छुट्टी माग्ने गरेका थिए । तर, खाजा दिन थालेपछि बिदा माग्न छाडे । सरकारले प्राथमिक तहका बालबालिकालाई दिवाखाजा व्यबस्था गरेपछि बालबालिका नियमित विद्यालय आउन थालेको उहाँको भनाइ छ ।

शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि गरी सिकाइस्तर सुधार गर्ने लक्ष्यसहित दिवाखाजा कार्यक्रम सुरु भएको हो । बालबालिकाको भोक न्यूनीकरण, पोषण तथा स्वास्थ्यस्थितिमा सुधार गरी शैक्षिकस्तर अभिवृद्धि गर्ने दीर्घकालीन उद्धेश्यसाथ कार्यक्रम लागु भएको छ । खासगरि न्यून आय भएका र खाद्य जोखिममा रहेका परिवारका बालबालिकालाई भोकको समयमा स्वस्थ्कर खाना उपलब्ध हुनाले त्यस्ता समुदायका लागि दिवाखाजा सामाजिक सुरक्षा कार्यक्रम बनेको जनाइएको छ ।

विद्यालयमा पुस १९ गतेदेखि दिवाखाजा व्यबस्था गरिएपछि बालबालिकालाई नियमित विद्यालय आउन र पूरै समय पढ्न प्रेरणा मिलेको प्रअ आचार्यले बताउनुभयो । ‘भर्ना भएका विद्यार्थी वर्षभर विद्यालयमा टिकाउनुप¥यो । उसलाई सिकाउनु पनि प¥यो,’ उहाँले भन्नुभयो–भर्ना हुने र बीचमा कक्षा छाड्नेहरु धेरै देखिएपछि उनीहरुलाई विद्यालयमा टिकाउन दिवाखाजाले सकारात्मक प्रभाव पारेको छ । किनकि, जिल्लाका सामुदायिक विद्यालय अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजा पठाउने चलन कमै छ ।

‘दिवाखाजा कार्यक्रमको सकारात्मक प्रभाव देखिएको छ,’ उहाँले भन्नुभयो–दिउँसै कक्षा छाडेर हिँड्नेको संख्यामा कमी आउनुका साथै उनीहरुको पढाइमा समेत उत्साह थपिएको पाइएको छ । सरकारले गाउँपालिकामार्फत् प्रतिविद्यार्थी हाजिर भएको दिन १५ रुपियाँका दरले दिवाखाजा रकम उपलब्ध गराउन थालेको छ ।

विद्यालयमा स्रोत नभएका कारण दिवाखाजा बनाउने, वितरण गर्ने, भाँडा माझ्नेलगायत व्यबस्थापनमा कठिनाइ भने भएको विद्यालय व्यबस्थापन समिति अध्यक्ष माधव गौतमले गुनासो गर्नुभयो ।

मनहरी गाउँपालिकामा ३२ सामुदायिक विद्यालयका १० हजार विद्यार्थीमध्ये प्राथमिक तहमा अध्ययन गर्ने करिब चार हजार बालबालिका खाजाबाट लाभान्वित भएको पालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । उहाँले साना विद्यार्थी कुपोषित नहुन्, उनीहरुको शारीरिक र मानसिक विकाससँगै होस् भन्ने हेतुले कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।

बालबालिका विद्यालयमा टिकाउन घरदेखि विद्यालयसम्मको वातावरण अनुकूल हुनुपर्ने उहाँको कथन छ । उहाँले थप्नुभयो–घर र विद्यालयको वातावरण राम्रो हुनुपर्छ भनेर दिवाखाजा खुवाएका हौँ । विद्यालय र घरका अभिभावक मिलेर नै विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाउनुपर्ने उहाँले औंल्याउनुभयो ।

जिल्लाका कतिपय ठाउँमा सञ्चालित सामुदायिक विद्यालय जान पैदल तीन घण्टासम्म हिँड्नुपर्ने अवस्था छ । विहान ७ बजे विद्यालय गएका विद्यार्थी बेलुका ८ बजेमात्र घर पुग्ने हुँदा कतिपयले बीचमा विद्यालय छाड्ने गरेका छन् ।

भर्ना भएका सबै विद्यार्थीलाई वर्षभर टिकाएर ज्ञानगुनका कुरा सिकाउन गाह्रो भएपछि सरकारले दिवाखाजा दिएर पढाइमा निरन्तरता दिन लागेको हो । यसअघि विद्यालयमै खाजा व्यबस्थापन समितिले खुवाउँदै आएको दिवाखाजा विद्यार्थीलाई दिने गरिएको छ ।
सरकारले २०७३ मा जारी गरेको सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवाखाजा कार्यक्रम सञ्चालन कार्यविधिअनुसार एक सय

विद्यार्थी भएका विद्यालयले मासिक १० हजार, एक सय ५० सम्म विद्यार्थी हुनेले मासिक १२ हजार पाँच सय, एक सय ५१ देखिमाथि संख्या हुने विद्यालयले मासिक १५ हजार दिवाखाजाका लागि बजेट पाउँदै आएका थिए । संघीयता कार्यान्वयन भएसँगै माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहले हेर्छन् ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गर्दै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई दिवाखाजा खुवाउने घोषणा गर्नुभएको थियो । दिवाखाजाका लागि पाँच अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्