चोरीका मोटरसाइकलसहित ७ जना झापा प्रहरीको नियन्त्रणमा



न्युज अफ नेपाल, भद्रपुर ।

मोटरसाइकल चोरी गरेर धन्दा चलाउने गहिरोका सात जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरुले बिर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउँदै आइरहेको खुलेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले मंगलबार विहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा माइ नगरपालिका–६ बस्ने मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षिातिज भनिने रोशन तामाङ र वडा नम्बर ८ का रोशन बुढाथोकी रहेका छन् । त्यस्तै पाचँथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बु रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट झापा लगायतका बिभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ । प्रहरीले १५० सिसिको २ वटा अपाची, २२० सिसिको २ वटा पल्सर र बाँकी १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेका उहाँले जानकारी दिनुभयो ।

मोटरसाइकल चोरी भएको उजुरी परेपछि पछिल्लो २४ घण्टामा प्रहरीले चोरी भएका मोटरसाइकल फेला पार्दै उनीहरुलाई पक्राउ गरिएको डिएसपी रिजालले बताउँनुभयो । बिर्तामोडमा डेरा गरि बस्दै आएका युवाहरुले मोटरसाइकल चोरीलाई धन्दा नै बनाएको अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । हरेक दिन साँझ परेपछि मोटरसाइकल हराएको उजुरी प्रहरीमा आएको साथै एकै समयमा धेरै वटा मोटरसाइकल हराए पछि प्रहरीले घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धानलाई अघि बढाउँदा सफलता मिलेको उहाँले जनाउँनुभयो । प्रहरीले शनिबार पाँच जनालाई इलामबाट पक्राउ गरि झापा ल्याएको जनाएको छ । पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्