बालविवाह बढ्नुको मुख्य कारक ‘फेसबुक’



डोटी ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाह पनि भयो । हाल उहाँ २० वर्षकी हुनुभयो । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई सन्तान जन्मिसकेका छन् । आजभोलि दुई सन्तान पाल्न आफूलाई समस्या हुँदै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “फेसबुकले गर्दा लभ प र्‍यो बिहे पनि गर्‍यौँ, तर अहिले समस्या भयो, आफ्नो यस्तो लाई पीडा कसलाई सुनाउनु रु त्यसैले दुःख सहेरै बसेकी छु ।” आफूले सानै उमेरमा बिहे गरेकोप्रति अहिले निकै पछुतो भएको पीडा उहाँले सुनाउनुभयो । उहाँले गहभरी आँशु निकाल्दै थप भन्नुभयो, “लहैलहैमा लागेर सानै उमेरमा बिहे गरियो, त्यसको परिणम भोग्दै छु ।”

त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिका–४ मान्नाकापडीका १७ वर्षीय दीपक बोहरा र छिमेकी गाउँकी १४ वर्षीया शर्मिलाबीचको विवाहको मुख्य माध्यम पनि सामाजिक सञ्जाल, फेसबुककै नै हो । यसै माध्यमबाट बालविवाह हुनपुग्यो । बिहे गरेको दुई वर्षमै छोरी जन्मिइन् । हाल उहाँहरुको परिवारमा पनि सधैँजसो झगडा र कलह मात्रै हुने गरेको शर्मिला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बुद्धि नपुगेर सानैमा विवाह गरेँ अहिले झगडा मात्रै हुन्छ, कसरी जीवन धान्ने होला भन्नेमा नै चिन्तामा छु ।”

डोटी जिल्लाकै दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी चनरी नेपाली पनि बालविवाहका कारण आफ्नो भविष्य बर्बाद भएको निष्कर्षमा पुग्नुभएको छ । तर उहाँका आमा बुबाले नै बालविवाह गरेको उहाँको भनाइ छ । आमाबुबाकै कारण आफूले बालविवाह गरेकाले अहिले हास्ने खेल्ने उमेरमा परिवार र सन्तानको स्याहारमा जीवन बितेको उहाँको भनाइ छ । उहाँकै शब्दमा अहिले आएर बुझेपछि भने उहाँ आत्मग्लानी भइरहेको बताउनुहुन्छ । “आमाबुबाले सानैमा बिहे गरिदिए, उहाँहरूको बोझ बनेर माइत बस्नु छोरीको धर्म होइन” उहाँले भन्नुभयो, “बाल्यकाल कसरी ढल्क्यो थाहै भएन, सानैदेखि पढ्ने रहर हुँदाहुँदै घरपरिवारको करकापले विवाह गरिदिए, अहिले पछुताउनुबाहेक अरू विकल्प छैन् ।”

डोटी जिल्लामा पारिवारिक दबाब, साथीसङ्गीको लहलहैमा लागेर, अभिभावकको हेरचाह तथा पालन पोषणको अभाव रहेका र राम्रो घरपरिवार पाउँदा विवाह गर्ने चलनका कारण यहाँ बालविवाह बढेको देखिएको छ । यसका साथै भविष्य सुन्दर हुने आशले र सानो उमेरमै विवाह गर्दा राम्रो हुन्छ भन्ने मान्यताका कारण पनि बालविवाह अझै रोकिएको छैन । यहाँका स्थानीय चाडपर्वको प्रभावका कारण हुने भेटघाटका साथै सामाजिक सञ्जाल, मोबाइल र इन्टरनेट प्रयोगका कारण बढी मात्रामा बालविवाह हुने गरेको सरोकारवाला बताउछन् । डोटीको दिपायल सिलगढी नगरपालिका–८ ९साविकको लडागडा गाविस० मा मात्रै विगत तीन वर्षको अवधिमा १६३ वटा बालविवाह भएको देखिएको छ । साविकको क्षेत्रीय सदरमुकाम दिपायल राजपुर नजिकै रहेको उक्त वडामा बालविवाह तीन वर्षदेखि क्रमशः उकालो लागिरहेको पाइएको छ । सामुदायिक विकास केन्द्र ९सिडिसी० को सहयोगमा यहाँका जनप्रतिनिधिले गरेको सर्वेक्षणअनुसार विसं २०७३ मा ३८, विसं २०७४ मा ५६ र विसं २०७५ सालमा ६९ जनाको बालविवाह भएको पाइएको छ । उक्त सर्वेमा संलग्न सामुदायिक विकास केन्द्रका परियोजना जिल्ला संयोजक एकराज बडूले बालविवाहको दर घट्नुको सट्टा बढिरहेको पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“तथ्याङ्क हेर्दा बालविवाह घट्नुको सट्टा बढिरहेको पाइयो, बालविवाह गर्नु अपराध हो भन्ने जान्दाजान्दै पनि किन मानिस यसो गरिरहेका होलान बुझ्नै सकिएको छैन ।” जिल्लामा हुने अधिकांश बालविवाह पुण्य कमाउने नाममा हुने गरेको जोरायल गाउँपालिका–५ की स्थानीयवासी तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी नहुँदै छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासले यहाँका मानिस सानैमा छोरीको विवाह गरिदिने गरेका छन् । जसले गर्दा पछि छोरीलाई समस्या हुनेगर्छ ।” यति मात्र नभइ जिल्लामा पछिल्लो केही वर्षयता बालविवाहको अवस्था बढ्दै गइरहेको छ, बालविवाहलाई समाजले पनि मौन स्वीकृति प्रदान गरेको जस्तो देखिन्छ ।

जिल्लामा विसं २०७३ वैशाख देखि २०७५ चैतसम्म १३३ जना बालिका र २७ जना बालकको बालविवाह भएको विभिन्न सङ्घ संस्थाको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । उक्त तत्थ्याङ्कअनुसार विवाह गर्ने १४ देखि १९ वर्षका बालबालिका धेरै रहेका छन् । डोटीमा बालविवाहले वर्षेनी बिकराल रुप लिँदै आएको स्थानीयवासी बताउछन् ।

यसरी बालविवाह गर्नेपछि गएर सुखी र खुशी जीपनयापन नहुने गरेको कथा सुनाउने धेरै भेटिन्छन् । अभिभावकको करकाप तथा आफ्नै इच्छाले विवाह गरेका जोडी पनि विवाहपछि देखापर्ने समस्यासँग जुध्न नसकेर पछुताउने गरेका भेटिन्छन्् ।

गरिब, विपन्न र शिक्षाबाट वञ्चित परिवारमा बालविवाह बढ्दै गएको यहाँका स्थानीयवासी बताउछन् । प्रजनन अङ्गको पूर्ण रूपमा विकास नहुँदै विवाह गर्दा महिलामा समस्या देखापर्ने गरेको नेपाल परिवार नियोजन सङ्घ डोटी शाखाका पूर्व प्रबन्धक चेतराज फुलाराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सानैमा बिहे गरेका दम्पतीको समय नपुग्दै बच्चा जन्मिने, कम तौल भएको बच्चा जन्मुनका साथै महिलाको प्रजनन अङ्गमा समस्या हुने गरेको छ, उनीहरू पछि गएर परिवार व्यवस्थापन गर्न नसक्ने भएपछि पछुताउछन् ।” ‘बालविवाह अन्त्यका लागि म पनि प्रतिवद्ध छु’ भन्दै दिपायल सिलगढी नगरपालिकाले अभियान सञ्चालन गरे पनि त्यो फलदायी हुन नसकेको स्थानीयवासी बताउछन् । उता नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बालविवाह जस्ता सामाजिक कुरीतिको अन्य गर्न नगरपालिकाले कुनै पनि कसूर बाँकी नराख्ने दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “बालविवाह अन्त्य गर्न नगरपालिका लामो समयदेखि सक्रिय छ तर पनि रोक्न सकेका छैनौँ, कसलाई के भनौँ ।”

डोटी जिल्लामा बालविवाह छाउपडी कुप्रथा, र बहुविवाह जस्ता कुरीतिहरुले वषौँदेखि जरो गाडेको छ । जिल्लामा हुने बालविवाह, छाउपडी जस्ता सामाजिक कुरीतिका विरुद्धमा अभिभावक र बाल क्लब नै सक्रिय हुनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह, छाउपडी जस्ता कुप्रथा हटाउनका लागि यहाँका जिम्मेवार नागरिक तथा घरका अभिभावक नै सक्रिय नभएसम्म यो अवस्थाको अन्त्य हुने छाटकाँट नै देखिँदैन ।” जिल्लामा बालविवाह गराउने र गर्ने अभिभावकलाई कानूनको दायरामा नल्याएसम्म यहाँको बालविवाह अन्त्य नहुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“बालविवाह गर्ने र गराउनेलाई कानूनी सजाय नहुञ्जेलसम्म बालविवाह अन्त्य हुने छैन, यस्तो कार्य गर्नेलाई कानूनी दायरामा ल्याएरै छोड्ने छौँ ।”कानूनमा विवाह गर्ने उमेर २० तोकिए पनि जिल्लामा कानूनको खासै पालना गरिएको पाइदैन । सामुदायिक विकास केन्द्र डोटीले बालविवाह गरेका दम्पतीहरूलाई आत्मनिर्भर बनाउन तथा सम्भावित बालविवाहलाई निरुत्साहित गर्न नगरपालिकासँगको सहकार्यमा विभिन्न आयआर्जन र शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरिरहेको छ । बालविवाह गरेर बढी सन्तान जन्माउदा पाठेघर खस्ने, विभिन्न रोगले सङ्क्रमण हुने, शरीर कमजोर हुने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका निमित्त प्रमुख तथा डा भीमबहादुर बुढाले बताउनुभयो ।

दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीका अनुसार नगरपालिकाको वडा नं ९ मा १०० बालबालिकामा गरेको अर्को सर्वेक्षणमा २० प्रतिशत अभिभावकका आत वटा सन्तान रहेको भेटिएको छ । उहाँले ५० प्रतिशत दम्पतीको चारदेखि ६ र ३० प्रतिशतको तीन जनासम्म सन्तान रहेको तत्थ्याङ्क फेला परेको जानकारी दिनुभयो ।

वर्षेनी बालविवाह बढ्दै जानुमा घरपरिवार र केटाकेटीको मात्र दोष नभइ त्यसलाई विभिन्न तत्वलेसमेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको दिपायल सिलगढी नगरपालिका– ४ का वडाध्यक्ष वीरेन्द्र शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय निकै नै प्रचलनमा रहेको सामाजिक सञ्जाल फेसबुकका कारण पनि डोटीमा बालविवाह बढ्दो क्रममा छ, जो आफैमा खतरा र जोखिमपूर्ण हो ।” सामाजिक सञ्जालका कारण पछिल्लो समय उमेर नपुग्दै प्रेम सम्बन्धका नाममा बालविवाह गर्ने क्रम बढ्दै गएको उहाँको बुझाइ छ । जिल्लामा बालविवाह रोक्नका लागि विभिन्न सङ्घसंस्था क्रियाशील रहेपनि यहाँको बालविवाह अन्त्य हुन नसकेकोप्रति सामाजिक क्षेत्रमा काम गर्ने अभियन्ता पनि चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्