फलेबास नगरपालिकाको कार्यालय झक्लकमा सार्ने निर्णय



पर्वत ।

लामो समय देखि बिबादित रहँदै आएको पर्वतको फलेवास नगरपालिकाको कार्यपालिका कार्यालय झकलकमा राख्ने निर्णय भएको छ । फलेवास ५ खानीगाउँमा अस्थायी रुपमा रहेको कार्यापालिका कार्यालय झकलक सार्ने निर्णय भएको हो ।

नगर परिषदले कार्यालय वडा नं ५ मा राख्ने निर्णय गरेपनि कार्यालय राख्ने स्थानको बारेमा बिबाद हुँदै आएको थियो । कार्यपालिकाको वहुमतको आधारमा कार्यालय सार्ने निर्णय गरेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । सभाको दुई तिहाई सहमतिका आधारमा पिप्लेमा रहेको केन्द्र झकलकमा सारिएको शर्मा ले बताउनुभएको छ । नगर उपप्रमुख मञ्जु अधिकारी सहितका जनप्रतिनिधी भने कार्यालय स्थानान्तरणको बिरोधमा रहँदै आउनुभएको छ।
नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यपछि फलेवास सिंचाई आयोजनाको कार्यालयमा स्थानान्तरण गरेर संचालन गरिँदै आएको थियो ।

हाल रहेको अस्थाई केन्द्रबाट नयाँ स्थानन्तरण हुने झकलक झण्डै १ किलोमिटरको दुरीमा रहेको छ । उक्त स्थानमा ६० दशमलव ८ रोपनी जग्गा उपलव्ध भएको छ ।उक्त जग्गा मध्ये अधिकांस स्थानिय नागरिकले नगरपालिकालाई अनुदान दिएका छन । जम्मा ३ रोपनी क्षेत्रफलमा रहेको सिँचाईको भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको र आफ्नो स्वामित्वमा नभएका कारण अन्य भौतिक पूर्वाधारहरु समेत थप गर्न कठिनाई भएपछि नयाँ स्थानमा केन्द्र र प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ मा नगर तथा गाउँपालिकाको स्थायी केन्द्र बनाउन आफ्नै स्वामित्वको जग्गा हुनुपर्ने र उक्त जग्गा नगरपालिकाको हकमा कम्तीमा ८ रोपनी र गाउँपालिकाको हकमा कम्तीमा पनि ६ रोपनी हुनुपर्ने उल्लेख छ ।नगरप्रमुख शर्माका अनुसार नगरपालिकाको मुख्य प्रशासनिक भवन, विषयगत शाखाका भवनहरु लगायत बजार क्षेत्रको विस्तार लगायत नगरपालिकाको केन्द्रका लागि आवश्यक पूर्वाधारहरु झकलकमा निर्माणकार्य अघि बढाईने भएको छ ।

स्थानीयले नगरपालिकालाई जग्गाको लालपूर्जा समेत दिईसकेका छन् । मुख्य प्रशानिक भवन निर्माणको काम चालु आर्थिक वर्षभित्रनै शुरु गरिने पनि नगरप्रमुखले बताउनुभयो । नगरपालिकाको दिर्घकालीन विकासका लागि अहिले स्थानान्तरण गर्न लागिको स्थान सवैभन्दा उपयुक्त रहेको कार्यपालिका सदस्यहरुको ठहर छ ।खानेपानी, सञ्चार, विद्युत तथा यातायातको सुविधा हुनुपर्ने पनि ऐनको दफामा उल्लेख छ । नगरपालिकाको केन्द्र सार्ने निर्णयमा नगरउपप्रमुख मञ्जु अधिकारीको भने असहमती छ । नगरसभामा उपस्थित सबैले निर्णयमा सहमति जनाएपनि उपप्रमुख अधिकारीले नोट अफ डिसेण्ट लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्