युभेन्ट्सले जित्दा रोनाल्डो रेकर्ड नजिक



रोम, (एजेन्सी)
इटालियन सिरी ए लिग फुटबलमा युभेन्ट्सले उपाधि होडमा रहेको सासुओलोलाई हराएको खेलमा क्रिस्टियानो रोनाल्डोले जोसेफ बिकानको रेकर्डसँग बराबरी गरेका छन् ।

आइतबार राति भएको १६औं साताको खेलमा युभेन्ट्सले १० खेलाडीमा सीमित सासुओलोमाथि ३–१ को जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जितका लागि ठूलै संघर्ष गर्नुपरेको थियो । एलिनाज रंगशालामा भएको खेलमा युभेन्ट्सलाई जिताउन ड्यानिलो, आरोन राम्से र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे ।

पाहुना टोली सासुओलोका मिडफिल्डर पेड्रो ओबिङ पहिलो हाफको थप समयमा सोझै रातो कार्ड पाएर मैदान छाडेपछि टिम १० खेलाडीमा सीमित भएको थियो । फेड्रिको किइजामाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । तर, एक खेलाडी कम भएर पनि सासुओलोले दोस्रो हाफमा युभेन्ट्सलाई निकै कठिनाइमा पारेको थियो । खेलमा भएका चारवटै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५०औं मिनेटमा ब्राजिलियन डिफेन्डर ड्यानिलोले डीबक्स बाहिरबाट शक्तिशाली सटमा खतरनाक गोल गरे । उनले लो सटमा हानेको शक्तिशाली प्रहारले डिफेन्डरको भिड छिचोल्दै सोझै जाली चुमेको थियो । तर, युभेन्टसको अग्रता धेरैबेर टिकेन । खेलको ५८औं मिनेटमा सासुओलोका डेफ्रेले गोल गरेर खेल १–१ बनाए ।

त्यसपछि युभेन्ट्सलाई विजयी गोलका लागि ठूलै संघर्ष गर्नुपरेको थियो । कडा संघर्षपछि खेलको ८२औं मिनेटमा आरोन राम्सेले डीबक्स भित्रबाट स्लाइड टचमा बललाई जाली चुमाउँदै टिमलाई जितको बाटो देखाएका थिए । त्यसपछि थप समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को सुन्दर गोल गरेपछि युभेन्ट्सले ३–१ ले जित पक्का गरेको थियो । ड्यानिलोले लामो दूरीबाट दिएको पास रोनाल्डोले निकै आकर्षक ढंगले नियन्त्रणमा लिएर सासुओलोका डिफेन्डरका माझबाट लो सटमा बललाई जाली चुमाएका थिए ।

रोनाल्डोको सिजनमा १५औं लिग गोल
रोनाल्डोका लागि यो सिजनको १५औं लिग गोल थियो । उक्त गोलसँगै रोनाल्डोले फुटबल इतिहासकै सर्वाधिक आधिकारिक गोलको रेकर्डसँग बराबरीसमेत गरेका छन् । रोनाल्डोको कुल आधिकारिक गोल संख्या ७ सय ५९ पुगेको छ । यसअघि, लिजेन्ड जोसेफ बिकानका नाममा इतिहासकै सर्वाधिक आधिकारिक गोलको रेकर्ड थियो ।

दिवंगत बिकानले आफ्नो करिअर दौरान कुल ७ सय ५९ आधिकारिक गोल गरेका थिए । तर, पाँचपटकका ‘बालोन डि ओर’ विजेता रोनाल्डोले बिकानको रेकर्डसँग बराबरी गरेका हुन् । योसँगै फुटबल इतिहासमा सर्वाधिक आधिकारिक गोल गर्ने खेलाडीको रेकर्ड संयुक्तरूपमा बिकान र रोनाल्डोका नाममा रहेको छ । रोनाल्डोलाई बिकानको गोल रेकर्ड तोडेर एकलरूपमा आफ्नो नाममा लेखाउन एक गोल मात्रै आवश्यक छ ।

रोनाल्डोले आगामी खेलमा एक गोल गरे उनी फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बन्नेछन् । आइतबारको जितपछि युभेन्टस् १६ खेलबाट ३३ अंकमा पुगेको छ । पराजित सासुओलोको भने १७ खेलपछि २९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्