पोखरा म्याराथन फागुनमा हुने



कास्की, (नेस)
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १५आंै संस्करण आगामी फागुन १ गते हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

यसपटक महिला हाफ म्याराथन पनि हुने नेपाली अग्रज खेलाडीहरूको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले बताएका हुन् । पोखरालाई खेलकुद शहरको रूपमा विश्वमा चिनाउन म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड–१९ को कठिन समयमा यसलाई निरन्तरता दिएको गुरुङले बताए ।

कोभिड–१९ का कारण प्रतियोगितामा १० किमि महिला÷पुरुष, ५ किमी छात्र÷छात्रा तथा दृष्टिविहीन दौड र ह्विलचियर दौड फरक–फरक मितिमा आयोजना हुनेछन् । यसअन्तर्गत दृष्टिविहीन दौड तथा ह्विल चियर दौड फागुन २२ गते आयोजना हुनेछन् । यस्तै, १० किमी महिला र पुरुष दौड चैत १४ गते तथा ५ किमि छात्र र छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ ।

म्याराथनतर्फ पहिलो हुने धावकले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रो हुने धावकले १ लाख तथा तेस्रो स्थानमा आउने धावकले ७५ हजार पुरस्कार हासिल गर्नेछन् । प्रतियोगितामा चौथो स्थान हासिल गर्ने धावकको लागि पनि २५ हजार रकम दिइनेछ ।

यसैगरी, महिला हाफ म्याराथनमा पहिलो हुने धाविकाले १ लाख पाउनेछिन् । यस्तै, दोस्रो हुने धाविकाले ७५ हजार पाउँदा तेस्रो हुने धाविकाले ५० हजार पुरस्कार प्राप्त गर्नेछिन् । त्यस्तै, चौथो स्थान हासिल गर्ने खेलाडीले १५ हजार प्राप्त गर्नेछिन् ।

त्यस्तै, ह्विल चियर महिला÷पुरुष तथा दृष्टिविहीन महिला÷पुरुष दौडतर्फ शीर्ष तीनस्थान हासिल गर्ने खेलाडीले क्रमशः ७, ५ र ३ हजार प्राप्त गर्नेछन् । १० किमि महिला र पुरुषतर्फ विजेता खेलाडीले क्रमशः १५, १० र ५ हजार हासिल गर्नेछन् । यसैगरी, ५ किमि छात्र÷छात्राको दौडका शीर्ष तीन खेलाडीले क्रमशः १०, ७ र ४ हजार प्राप्त गर्नेछन् ।

पोखराको प्रतिष्ठित औधोगिक संस्था सफल दूधको मुख्य प्रायोजनमा हुने १५औं संस्करणको पोखरा म्याराथन सम्पन्न गर्न करिब ५१ लाख खर्च हुने मञ्चले जनाएको छ । कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनमा लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको तर सबै पोख्रेलीलाई आफ्नो परम्परागत वेषभूषा तथा बाजागाजासहित खेलाडीलाई घर आँगन र चोकहरूमा उभिएर स्वागत गर्न आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्