‘माधवको ढाडमा टेकेर ओलीलाई हान्न खोज्दा ‘प्रचण्ड’ पछारिए’



नेपाल समाचारपत्र, बाँके

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा भुइँमा बजारिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभएको छ । सोमबार बाँकेको खजुरामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

‘विगतमा माओवादीको एउटा नीति थियो, ढाडमा टेकेर टाउकोमा हान्ने । प्रचण्डले अहिले त्यही नीतिअनुसार माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोजेका थिए । माधवले प्रचण्डको भार थेग्न नसक्दा दुवै जना सडकमा पुगे ।

अनि भन्न थाले, हामी यता छौं’, प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रसमेत रहेका पोखरेलले भन्नुभयो– ‘प्रचण्डको सत्ता र पदको लोभ र त्यसका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइज्जतीपूर्ण तरिकाले विस्थापित गर्ने षड्यन्त्र हुँदा पार्टी यो अवस्थामा आइपुगेको हो ।’

आफ्नो सम्बोधनको अधिकांश समय प्रचण्ड र माधव नेपाललाई गाली गर्नमै खर्चिनुभएका नेता पोखरेलले प्रचण्डलाई ३३ वर्ष र माधव नेपाललाई १५ वर्ष पार्टीको नेतृत्व गरे पनि अझै धित नमरेको टिप्पणी गर्नुभयो । उहाँले विभिन्न समयमा पार्टीको नेतृत्व गरिसकेका नेताहरुलाई पद नै चाहिने प्रवृत्तिले पार्टीमा विग्रह आएको बताउनुभयो । ‘हाम्रो समस्या नै भयो । नेतृत्व गरिसकेका नेताहरु अभिभावक वा संरक्षक भएर बस्नै सक्नुहुँदैन, पोखरेलले भन्नुभयो– ‘सधैं आफैंलाई पद चाहिने प्रवृत्तिले अहिलेको समस्या आएको हो ।’

नेता पोखरेलले ओली सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि सरकार गिराउने खेल शुरु भएको बताउनुभयो । ‘एक व्यक्ति, एक पदको कुरा निकालियो । त्यतिले नभएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीविरुद्ध संगीन आरोप पत्र ल्याइयो’, पोखरेलले भनाइ छ– ‘एक व्यक्ति, एक पद भन्नेहरु अहिले त विघटन भइसकेको संसद्को नेतासम्म हुन भ्याए ।’ उहाँले अझै पनि सच्चिएर आएमा प्रचण्डलाई पार्टीमा जिम्मेवारी दिने बताउनुभयो ।

प्रचण्डले मिहेनत गर्दा जम्मा नहुने कार्यकर्ताहरु ओलीले सिटीमात्रै फुक्दा ह्वारह्वार्ती आएको पोखरेलको भनाइ थियो । पार्टी एकता गर्दा कुञ्जिएर बसेका कार्यकर्ताहरु दुई चिरा हुनेबित्तिकै पहिलेजत्तिकै सक्रिय भएको बताउनुभयो ।

प्रदेशमन्त्री बैजनाथ चौधरी, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक, केन्द्रीय सदस्य देवराज भार, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पार्टी सिद्धान्तका आधारमा नभई पद नपाएकाहरुले दुई चिरा गराएको टिप्पणी गर्नुभएका थियो ।

 

प्रतिक्रिया दिनुहोस्