राष्ट्रियता एकता दिवसको बारेमा चर्चा



काठमाडौं, (नेस)
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती तथा राष्ट्रियता एकता दिवस–२०७७ का अवसरमा विचार गोष्ठीको आयोजना गरियो ।

‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक भानुभक्त ढकालले राष्ट्रनिर्माता तथा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताउनुभयो ।

उहाँले पृथ्वीनारायण शाहको योगदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने उल्लेख गर्नुभयो । मन्त्री ढकालले राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनारायण शाहको प्रेरणालाई आम जनमानसमा उजागर गरिनुपर्ने पनि खाँचो औंल्याउनुभयो ।

मन्त्री ढकालले भन्नुभयो– ‘सच्चा नेपाली भएर सम्झने हो भने गर्व गर्न लायक अभिभावक भनेकै पृथ्वीनारायण शाह हुनुहुन्छ, उहाँको योगदानलाई हामीले भुल्नहुँदैन । पृथ्वीनारायणले आधुनिक नेपाल निर्माणमा अभिभावकीय भूमिका निर्वाह गरेकैले आम नेपाली र राष्ट्रले सदासर्वदा सम्झिरहेका छन् ।’ सत्ता स्वार्थका लागि विखण्डन गर्नुहँुदैन, राष्ट्र रहे मात्रै सबै चीज रहन्छ भन्ने पृथ्वीनारायणको आदर्श र अविभाज्य दृढतालाई आजको सन्दर्भमा पनि आत्मसात गरेर अघि बढ्न सकेको खण्डमा मुलुकमा स्थायित्व कायम हुने उहाँको भनाइ थियो ।

कार्यक्रमका सभाध्यक्ष एवं नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई बुझेर अघि बढ्न सके मात्रै उहाँप्रति सच्चा सम्मान हुने उल्लेख गर्नुभयो । जटिल भूराजनीतिक अवस्थामा रहेको नेपाल राष्ट्रलाई स्वाभिमान, स्वतन्त्रता र सार्वभौम बनाउन पृथ्वीनारायण शाहले खेलेको भूमिका र शासन सञ्चालनका विधि र पद्धतिलाई अनुसरण गर्न सकेको खण्डमा मात्रै नेपालको हित हुने उहाँको धारणा थियो ।

उपकुलपति डा. जगमान गुरुङले पृथ्वीनारायण शाहको चरित्रलाई विकास गर्न नसकेकै कारण मुलुकमा अस्थिरता उत्पन्न भएको दाबी गर्नुभयो । उहाँले पृथ्वीनारायण शाहको विचार र चरित्रलाई आत्मसात गरेको खण्डमा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । कार्यक्रममा प्राज्ञ प्रा. दिनेशराज पन्तले आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायणले गरेको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्राडा टेकबहादुर श्रेष्ठले ‘पृथ्वीनारायण शाहको एकीकरण अभियान ः सङ्क्षिप्त चर्चा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पृथ्वीनारायण शाहले आर्थिक, सामाजिक संकटलाई पार गर्दै एकीकरण अभियानमा गरेको मिहिनेत र संघर्षको योगदानलाई आधुनिक पुस्ताले भुल्न नहुने बताउनुभयो । उहाँले नुवाकोट पृथ्वीनारायणको एकीकरण अभियान दृष्टिले महत्वपूर्ण रहेको र उहाँको कर्मभूमि पनि भएकाले एकीकरणसँग जोडिएका सम्पदाको संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा साझा प्रकाशन सञ्चालक समितिका नवनिर्वाचित सदस्यहरू हरिप्रसाद भण्डारी, सीताकुमारी ओझा, डीपी अर्याल र लेखा सुपरीवेक्षण समितिका सदस्य रामेश्वर राउत मातृदासलाई कार्यकाल सफलताको कामनासहित कुलपति गङ्गाप्रसाद उप्रेतीले खादा ओढाई सम्मान गर्नुभएको थियो । सो अवसरमा सफलतापूर्वक साझा प्रकाशन सञ्चालन समितिको निर्वाचन सम्पन्न गराएकोमा महाप्रबन्धक होमप्रसाद गौतमलाई कुलपतिले खादा ओढाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्