दुर्गम भेगका नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ सेवा पाए



रुकुम ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–१का नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम –पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन् ।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट दईसय २१ ले सेवा पाएका थिए । शिविरमा सेवा लिनेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर भन्दा बढी रहेको छ । शिविरबाट ७० पुरुष र एक सय ५१ जना महिलाले सेवा लिएका कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिनुभयो । शिविरमा भिडियो एक्सरे गरिनुका साथै स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगहको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँच समेत गरिएको थियो ।

शिविरमा ८० को भिडियो एक्सरे गरिएको थियो । पाठेघर सम्बन्धि समस्या भएका नौलाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुको त्यहाँ निशुल्क उपचार गरिने छ ।यस्तै दुईमा एचआइभी पोजेटीभ देखिएको छ भने एक जना हेपाटाइटीसका बिरामी फेला परेका छन् । शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी भेटिएका उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् । एचआइभी पोजेटीभ देखिएका दुई जनालाई भने रुकुम –पूर्व अस्पतालमा रिफर गरिएको छ ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा रामकुमार दास, जनरल फिजिसीयन डा अरविन्दकुमार यादव लगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुभएको थियो । जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । सदरमुकाम आउन पनि हिडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुशी भएका छन् । निरन्तरको दुई दिनको पैदल यात्रापछि स्वास्थ्यकर्मीको टोली वडा नं १ को भट्टेचारैमा पुगेर शिविर सञ्चालन गरेको हो भने औषधी पनि बोकेरै पु¥याइएको हो ।

प्रतिक्रिया दिनुहोस्