विद्रोहीको अध्यक्षतामा पत्रकार मञ्चको नयाँ नेतृत्व



काठमाडांंै, (नेस)
नेपाल पत्रकार मञ्चको छैठौं महाधिवेशनबाट युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । पुस २५ गते भर्चुअल माध्यमबाट उद्घाटन, प्रतिवेदन प्रस्तुति र चुनावी सत्र सम्पन्न भएको थियो । सीमित व्यक्तिहरुको भौतिक उपस्थितिमा निर्वाचन कार्यक्रम भएको थियो ।
महाधिवेशनबाट उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मेनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुयाँल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् ।
महाधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिका रुपमा महासचिव रमेश विष्ट सहभागी हुनुभएको थियो । त्यस क्रममा बोल्दै उहाँले पछिल्लो समय लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको बताउँदै यस समयमा नेपाली पत्रकारिता चनाखो हुनुपर्ने धारणा राख्नुभयो । नेपालको संविधानले दिएका मौलिक हक जोगाउन र लोकतन्त्रलाई संस्थागत बनाउन पनि पत्रकारको भूमिकालाई सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो ।
पत्रकार सुरक्षा, वृत्ति विकास र क्षमता विकासका क्षेत्रमा पत्रकार मञ्चले उल्लेख्य काम गरेको बताउँदै विष्टले मञ्चका क्रियाकलापले नेपाली पत्रकारिताको उत्थानमा सहयोग पुगेको बताउनुभयो ।
‘नेपाली जनजीवनका सवालको उठान गर्दै देशको सार्वभौमिकताका पक्षमा नेपाली पत्रकारको कलमलाई बलियो बनाउन मञ्चले आफ्ना सदस्यहरुलाई प्रेरित गर्ने र पत्रकारको पेसागत सुरक्षामा सदैव अग्रपङ्क्तिमा रहनेछ भन्ने महासंघको विश्वास छ ।’ –सहासचिव विष्टको भनाइ थियो ।
कार्यक्रममा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले व्यावसायिक पत्रकारिताले नै समाज रुपान्तरमा महŒवपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिताले सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल पत्रकार मञ्चले कोभिड–१९ को संक्रमणका बेला पत्रकारको सुरक्षाका निम्ति विशेष कार्यक्रमहरु आयोजना गरेर दायित्व निर्वाह गरेकोमा प्रशंसा गर्नुभयो । मञ्चमा २ सय जना पत्रकारहरु सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्