खोप आउँछ, समय नसोध्नुस् 



काठमाडौं ।

नेपालमा कोरोनाविरुद्धको खोप कहिले आउँछ भन्ने आम कौतूहलता भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले समयमा नै उक्त खोप उपलब्ध गराई सबै नेपाली नागरिकलाई निःशुल्करुपमा वितरण गर्ने बताउनु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा उहाँले कहिलेसम्म आउँछ भन्ने निश्चित नभएपनि कोरोना खोप नेपाल ल्याउन सरकारले तीव्ररुपमा पहल गरिरहेको जानकारी दिनुभयो ।मन्त्री त्रिपाठीले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणका समयमा अग्रपंक्तिमा रहेर काम गरेकोमा नायकको संज्ञा दिँदै कोरोनाविरुद्धको खोप नेपाल आउनेबित्तिकै अग्रमोर्चामा रहेकालागि लगाइने पनि दाबी गर्नुभयो ।

उहाँले विश्व नै त्रसित भएर कोरोनाको नाम सुन्दा पनि भाग्ने र लुक्ने अवस्था सिर्जना र्भरहेको बेलामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरु भने अग्र पंक्तिमा रहेर कोरोनाबाट बच्ने बारेमा जनचेतना जगाउनुका साथै आम नेपालीको भरोसाको केन्द्र हुन सफल भएको बताउनुभयो । कोरोनाविरुद्धको खोप विश्वकै प्राथमिकतामा परेको छ र नेपालमा पनि पारदर्शी ढंगले खोप ल्याउने बारेमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।

अब भण्डारण र वितरणको पनि व्यवस्था भइसकेकाले त्यसमा चिन्ता लिनुपर्ने अवस्था नरहेको मन्त्री त्रिपाठीले बताउनुभयो ।सरकार खरिदका सबै प्रक्रियामा अघि बढेको र अब केही समयपछि खोप नेपाल आउने उहाँले पत्रकारहरुलाई जानकारी गराउनुभयो । मन्त्री त्रिपाठीले नेपालमा अहिले नै कोरोना संक्रमणको जोखिम घटिनसकेकाले पहिलाको जस्तै सर्तकता अपनाउन आम नेपालीलाई आग्रह गर्नुभयो ।खोप खरिदका लागि च्यारीटी खाता खोल्नुका साथै अर्थ मन्त्रालयबाट ५० करोड निकासा भइसकेको र सरकारले गठन गरेको खोप सचिवालयमार्फत सातवटा छुट्टाछुट्टै कमिटीले काम शुरु गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

नेपाली जनतालाई निःशुल्करुपमा खोप उपलब्ध गराउनका लागि ६८ करोड लाग्ने र उक्त रकमसमेत सरकारले व्यवस्था गर्ने मन्त्री त्रिपाठीले बताउनुभयो । खोप आइपुगेको एक साताभित्र १६ हजार खोप केन्द्र, ५ हजार कर्मचारीका साथ ५२ हजार स्वास्थ्य स्वयंसेवीका परिचालन गरी खोप सञ्चालनमा ल्याउने योजना बनिसकेको मन्त्री त्रिपाठीले बताएपनि कुन कम्पनीको खोप कहिलेसम्म नेपाल आउने भन्ने बारेमा स्पष्ट जवाफ भने दिनुभएन ।

उहाँले सञ्चारकर्मीहरुको जिज्ञाशाको सम्बोधन गर्दै प्राविधिक टोलीका साथै अन्तर्राष्ट्रिय खोप उत्पादक कम्पनीहरुको रेस्पोन्सका आधारमा भरपर्ने बताउनुभयो । उहाँले घुमाउरो पारामा फागुनसम्म खोपको प्रक्रिया पूरा हुने संकेत गर्नुभयो । सञ्चारकर्मीहरुको जिज्ञाशामा उहाँले खोपको विश्वसनीयता, सस्तो र प्रभावकारिता कुन देशको हुन्छ, त्यही खोप नेपालमा भित्रिने र यस विषयमा अहिले नै धेरै नबोल्नु नै बेस होला भन्नुभयो ।

विश्वका ३० मुलुकले कोरोनाविरुद्धको खोप सञ्चालन गरिसकेको अवस्थामा नेपाल भने खरिद प्रक्रियामै स्पष्ट नभएको अवस्थामा समयमै खोप भित्रिन्छ भन्ने विश्वास गर्ने आधार के छ भन्ने प्रश्नको जवाफमा मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको लडाइँमा सरकार सचेत रहेको र जीवन जोगाउने तथा जीवन चलाउने विषयमा नेपाल कोभ्याक्समा मात्र निर्भर छैन, कोभ्याक्सभन्दा पहिला नै अन्य खोप भित्रिन सक्छभन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्