संविधानको मर्म र भावनाको रक्षामा जुट्न अध्यक्ष नेपालको आग्रह



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताको रक्षाका लागि सबैलाई आग्रह गर्नुभएको छ । नागरिक समाजले आज आयोजना गरेको नागरिक भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानको मर्म र भावनाको रक्षाका लागि राजनीतिक दल र नागरिक समाजलाई अनुरोध गर्नुभयो ।

नेकपाको संस्थापन पक्ष आफूहरु नै भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन आयोगलाई समेत त्यसबारेमा जानकारी गराइसकिएको तथा आधिकारिता दिन आग्रह गरिएको बताउनुभयो । उहाँले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकाले कुनै एक व्यक्तिका भरमा पार्टी नचली विधानसम्मत चल्ने स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको जिकिर गर्दै उहाँले देशलाई लोकतन्त्र र स्थायित्वका बाटामा लैजान सबै परिवर्तनकर्मी शक्तिबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

आधिकारिता टुङ्ग्याउन आग्रह

नेकपाको सो समूहले संविधान, कानून र विधिका आधारमा पार्टीको आधिकारिता टुङ्गो लगाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ । नेता लीलामणि पोखरेलका अनुसार संविधान, राजनीतिक दलसम्बन्धी ऐन र विभाजनअघिको पार्टीको विधानमा लेखिएक आधारमा निर्णय गर्न आयोगलाई अनुरोध गरिएको छ ।

आयोगका पदाधिकारीसँग सो समूहका अध्यक्षद्वय नेपाल र पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत नेताले सोबारे छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्