अंशवण्डातर्फ नेकपा : एउटा ढोकामा २ वटा ताला



न्युज अफ नेपाल, हेटौंडा ।

संसद् विघटनको प्रभावका मकवानपुरमा पनि उत्तिकै परेको छ । शनिबार केपी ओली पक्षको भेलाले नेकपा मकवानपुर अध्यक्षमा एकलाल श्रेष्ठलाई चयन गरेको थियो । यसअघि नेकपा मकवानपुर अध्यक्षमा मुनु सिग्देल थिइन् । संसद् विघटनपछि ओली समूह एकातिर र प्रचण्ड–माधव नेपाल समूह अर्कातिर बाँडिएका छन् ।

प्रचण्ड–नेपाल समूहको अध्यक्ष रहेकी सिग्देललाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदमुक्त गरी श्रेष्ठलाई चयन गरेका हुन् । शनिबार हेटौंडामा भएको नेकपा मकवानपुरको अगुवा कार्यकर्ता भेलामा केन्द्रीय सदस्य रामेश्वर रानाले ‘कारबाही’ को जानकारी तथा अध्यक्ष घोषणा गरेका हुन् ।

आफू नेकपा मकवानपुर अध्यक्ष नियुक्तिपछि हेटौंडा–५ मा मदन भण्डारी स्मृति भवनमा रहेको नेकपा पार्टी कार्यालयमा कार्यभार सम्हाल्न पुग्नुभएका श्रेष्ठका लागि कार्यालयको ढोका खोलिएन । कार्यालय सुरक्षामा बसेका कार्यालय सहयोगीलाई ढोकाको साँचो नछाडेर सिग्देलले आफ्नै साथमा राखेको कार्यालय सहयोगीले बताए ।

अन्य समयमा कार्यालय खोलेर राख्ने गरेकोमा सोमबार कार्यालयको ढोका बन्द थियो । अध्यक्ष श्रेष्ठसहित पुगेको टोलीले कार्यालयको ढोका खोल्न आग्रह गर्दा साँचो आफूसँग नभएको कार्यालय सहयोगीले बताएको श्रेष्ठले जानकारी गराउनुभयो ।
कार्यालयको अगाडिको ढोका बन्द भए पनि पछाडिको ढोका खुला नै रहेको तर आफू पछाडिको ढोकाबाट पस्न नचाहेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो–पार्टी कार्यालय सबैको साझा सम्पत्ति हो ।

तर, आफ्नो घरजस्तै ताला लगाएर साँचो बोकेर हिँड्नु कतिको उचित हो । यो कुरा उहाँले पनि विचार गर्नु आवश्यक थियो । हामी ताला फोडेर पनि कार्य सञ्चालन गर्न सक्थ्यौं । तर, हामीलाई पार्टी कार्यालयको माया छ । हामी आफैंले बनाएको कार्यालय भएका कारण हामी तोडफोडतिर लागेनौं । अर्को ताला लगाएका छौं । खुलेसँगै वार्तामा खुल्छ । नत्र बन्द भइरहन्छ ।

सिग्देल भने पार्टीमा झमेलाको स्थिति सिर्जना भएका कारण सुरक्षाका लागि सधैं जसरी साँचो नछाडिएको र आफंैले साथमा लिएर हाँडीखोलामा आयोजित पार्टी कार्यक्रममा सहभागी हुन गएको बताउनुभएको छ । अन्य समयमा पार्टी कार्यालय चलाइरहेको र आफू बाहिर जानुपर्ने भएकाले बन्द गरेर हिँडेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो–उहाँ (श्रेष्ठ) सडकबाट अध्यक्ष नियुक्ति हुनुभएको हो । पार्टीको मर्यादा कुल्चन चाहँदैनौं । एउटै पार्टी कार्यालयका कार्यकर्ताबीच झगडाको वातावरण बनाउने काम नगरौं भन्ने हो । भोलि पार्टी एक भएर हिँड्नु परेको समयमा अप्ठेरो स्थिति सिर्जना नहोस् भन्ने चाहन्छौं । श्रेष्ठलाई कार्यालयमा पस्न नदिने हेतुले भन्दा पनि अप्ठेरो स्थितिमा कार्यालय जोगाउनेतर्फ लागेको प्रदेशसभा सदस्यसमेत रहनुभएकी सिग्देलको भनाइ छ ।

अर्का अध्यक्ष श्रेष्ठले भने पार्टी टुक्र्याउँदै हिँड्नेले हेटौंडा–५ कै गर्दोइमा रहेको पार्टी कार्यालयमा कार्यसञ्चालन गर्नुपर्ने बताउनुभएको छ । तर, सिग्देलले सोही पार्टी कार्यालयमा आफ्नो अधिकार भएको बताउनुभएको छ । ‘उक्त पार्टी कार्यालय नेकपाको हो । हामी नेकपाको आधिकारिक नेतृत्वमा छौं । त्यसकारण पार्टी कार्यालय हाम्रो हो । कसैले अधिकार जमाउन खोज्दैमा हुँदैन,’ उहाँले भन्नुभयो ।

तालाबन्दी गर्न नेकपा केन्द्रीय सदस्यहरु रामेश्वर राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेश बर्तौला, नेकपा मकवानपुर अध्यक्ष श्रेष्ठ, पार्टी जिल्ला नेताहरु, जनसंगठनका नेताहरुको सहभागिता थियो । पार्टी कार्यालयको सम्पत्ति सुरक्षा र अदालतमा उक्त विषय प्रवेश गरेको भन्दै छिनोफानो नभएसम्मका लागि सुरक्षा आबश्यक रहेको भन्दै तालाबन्दी गरेको केन्द्रीय सदस्य रानाले बताउनुभयो । तालाबन्दी कार्यक्रममा नेकपा मकवानपुर अध्यक्ष श्रेष्ठले पार्टी कार्यालय हजारौं नेकपाको रगत/पसिनाबाट बनेको भन्दै कार्यालयको सुरक्षा आफूहरुको प्राथमिकतामा परेको बताउनुभयो ।

केपी शर्माओली नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको भन्दै चोइटिएर गएकालाई गर्दोइमा रहेको कार्यालय प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको थियो । नेकपा केन्द्रीय सदस्य बर्तौलाका अनुसार भर्खर जिम्मेवारी पाएका पार्टी मकवानपुर अध्यक्ष श्रेष्ठसहित टोली सोमबार विहान करिब १० बजे पार्टी कार्यालय पुगेको थियो ।

कार्यालयको मुलढोकामा ताला लगाइएको थियो । पार्टीको नियमित काम गर्न कार्यालय खोलिदिन अनुरोध गरियो । निकै बेर कुरियो । तर, ताला लगाउनेहरु सम्पर्कमै आएनन् । तत्पश्चात् पार्टी कार्यालयमा कुनै अवाञ्छित गतिविधि हुन नपाओस् र पार्टीका हजारौं कार्यकर्ताको मेहनत, परिश्रम, लगानी र पसिनाबाट निर्माण भएको पार्टी कार्यालयलगायत सम्पत्तिको पूर्ण सुरक्षाको उद्धेश्यले सुरक्षा ताला लगाइएको उहाँले बताउनुभयो ।

‘पार्टीका सम्पूर्ण सम्पत्तिको रक्षा गर्नु हाम्रो प्रमुख दायित्व हो । यो दायित्व पूरा गर्ने कुरामा हामी कहींकतै च्युत हुनेछैनौं,’ उहाँले भन्नुभयो ।  आफू सरकारको नेतृत्वमा रहेर अध्यक्ष भएको श्रेष्ठको भनाइ रहेको छ भने आफू जनताको भोटले चुनिएर अध्यक्ष भएको सिग्देलको दाबी छ । एउटै ढोकामा लागेका दुई ताला एकआपसको छलफलपछिमात्र खोल्ने निर्णय दुवै पक्षले गरेका छन् ।

संसद् विघटनको झड्का मकवानपुरका नेताहरुमा पनि प्रत्यक्षरुपमा परेको पाइन्छ । एउटै पार्टीका नेताहरु बीच गुटको असरले केही असभ्यता देखिन थालेको छ । प्रचण्ड–माधव पक्षका सांसद्हरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेदेखि मकवानपुरको राजनीतिक क्षेत्रमा चर्काचर्की देखिन थालेको छ । संसद् विघटनपश्चात् एक पक्षले अर्को पक्षका व्यक्तिहरुलाई ‘कारबाही’ गर्ने, अविश्वास प्रस्ताव दर्ता गर्ने, विरोधसभा गर्ने जस्ता गतिविधि हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्