सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह प्रदान



न्युज अफ नेपाल, काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएका ६ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा स्वयम्भूमा पौष २७ गते आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

सोही विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर हुनुभएका ९ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।

नेपाल सरकार गृहमन्त्रालय माननीय मन्त्रिस्तरको यही पौष २४ गतेको निर्णयले ६ जना अधिकृतहरु सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएको तथा पौष २४ गतेकै निर्णयले ९ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर हुनुभएको हो ।

सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व पुरा गर्न पूर्ण व्यावसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्र र संगठनको लागि आफ्नो ज्यानको समेत आहुती दिएका अमर सशस्त्र प्रहरीहरुको त्याग र बलिदानको सम्मान हुने गरी ईमान्दारिताका साथ जिम्मेवारी निर्वाहमा लाग्नुपर्ने चर्चा गर्नु हुँदै सशस्त्र प्रहर अधिकृतहरुले आफु मातहतकालाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै कुशल नेतृत्व प्रदानगरी आगामी दिनमा अझै परिस्कृत भएर राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा परेकाहरुको उद्वार कार्यमा सकृय रहनुपर्ने उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्