कोरोना खोपका अन्तर्राष्ट्रिय नायक



केशरमान श्रेष्ठ । 

बायोएनटेक र फाइजरको कोरोना खोपका आविष्कारक तुर्केली मूलका जर्मन दम्पती हुन्। अनकोलोजी र संक्रामक रोगको क्षेत्रमा आफ्नो जिन्दगी अर्पण गरेका वैज्ञानिकद्वय युगर साहिन र ओज्लेम टुरेसीले क्यान्सर उपचारका लागि इम्युनोथेरापीको क्षेत्रमा पनि कयौं वर्ष बिताएका थिए। तर कोरोना भाइरस महामारीपछि जेनेटिक कोड हेरफेर गर्ने शोधमा यो जोडीले हासिल गरेको अद्भूत उपलब्धिले तिनीहरूलाई चर्चित बनाइदिएको छ। यी ती दुई मस्तिष्क हुन् जसले विश्वकै पहिलो प्रभावकारी कोरोना भाइरस खोप दिन सफल भए।

५५ वर्षीय साहिन र ५३ वर्षीया टुरेसीले सन् २००८मा मध्य जर्मनीको मेन्ज शहरमा बायोएनटेक कम्पनी स्थापना गरेका थिए। उक्त कम्पनीका पार्टनर अमेरिकी फार्मास्युटिकल फाइजरले तिनीहरूको कोरोना खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताएको छ।

फाइजरका सीईओ अल्बर्ट बौर्लाले यसलाई सय वर्षकै सबैभन्दा ठूलो चिकित्सा उपलब्धि भनेका छन्। खोपको विकासमा आएको यो अभूतपूर्व छलाङलाई विश्वव्यापीरूपमै चिकित्सा क्षेत्रको विशेष उपलव्धि मानिएको छ। यस उपलव्धिले साहिन र टुरेसीलाई विश्वकै महान् नायक बनाएको छ।

दुवै दक्ष फिजिसियनको यो जोडीले सन् २००१ मा क्यान्सरसँग लड्ने एन्टिबडी विकसित गर्ने कामका लागि शुरुमा आफ्नै गेनिम्ड फर्मास्युटिकल्स स्थापना गरेका थिए। सन् २०१६ मा यसलाई १ अर्ब ४० करोड डलरमा उनीहरूले बेचेका थिए। साप्ताहिक वेल्ट अम सोन्टाङ्ग अखबारका अनुसार प्रमुख कार्यकारी प्रमुख साहिन र प्रमुख चिकित्सा अधिकृत टुरेसी जर्मनीको १ सय धनाढ्यको सूचीमा परेका छन्। नास्डाकमा सूचीकृत उनीहरूको कम्पनी गत वर्षको ४ अर्ब ६० करोड डलरको बजार मूल्यबाट आकासिँदै २५ अर्ब ७२ करोड डलरमा पुगेको छ।

साहिनको जन्म टर्कीको भूमध्यसागरीय तटस्थित इक्सन्डरन शहरमा भएको थियो। उनी ४ वर्षको उमेरमै जर्मनीको कोलोनमा सरेका थिए जहाँ उनका पिता एक स्थानीय फोर्ड कारखानामा काम गर्थे। शैक्षिक योग्यता हासिल गर्ने क्रममा उनले टर्किस फिजिसिनकी छोरी टुरेसीलाई भेटे। साहिन र टुरेसी दुवैले क्यान्सर अनुसन्धानको लगाब साझा गर्ने क्रममै बन्धनमा बाँधिएका थिए। ती जोडीले तिनीहरूको विवाहको दिन पनि प्रयोगशालामै बिताएका थिए। गत वर्षको जनवरीमा चीनको वुहानमा देखिएको कोरोना भाइरसका बारेमा वैज्ञानिक लेख पढेपछि साहिनले क्यान्सरविरुद्ध प्रयोग हुने एमआरएनएबाट एआरएनए आधारित भाइरल भ्याक्सिनका लागि सानो कदम चालेका थिए।

बायोएनटेकले ५ सय कर्मचारीलाई एमआरएनएका सम्भावित थुप्रै यौगिकलाई लिएर यस परियोजनामा काम गर्न लगाइएको थियो र अन्ततः गत मार्चमा यसका लागि अमेरिकी औषधी कम्पनी फाइजरसँग साझेदारी पनि गरे।

केटलिन कोरिको

फाइजर बायोएनटेकले विकसित गरेको कोरोना भाइरस खोप पश्चिममा अनुमति पाउने पहिलो खोप बनेको छ। महामारीविरुद्ध पहिलो खोपका रूपमा अनुमति पाएको यस खोपका आविष्कारक सन् १९८० को दशकमा साम्यवादी शासनमा टिक्न नसकेर अमेरिका पलायन भएकी हंगेरियाली जीवरसायनविद् केटलिन कोरिको हुन्।

गत नोभेम्बरमा फाइजर बायोएनटेकको कोरोना भाइरस खोपको परीक्षणले यो ९५ प्रतिशत प्रभावकारी भएको देखायो जुन जेनेटिक कोड आरएनए (राइबोन्युक्लिक एसिड)मा केटलिन कोरिकोको ४० वर्ष देखिएको अनुसन्धानको अद्भूत सफल उपलब्धि थियो। कोरिकोले पहिलो प्रतिक्रियामा भनेकी छन्– ‘मैले आफूलाई जीवनको सम्पूर्ण तनाबबाट पूर्णतः मुक्त भएको अनुभव गरेकी छु। म हावामा मुठ्ठी कस्दै थिएँ, म यति उत्साहित थिएँ कि मलाई म मर्छु वा केही होला भन्ने लागेको थियो, डरको अनुभूति पनि भइरहेको थियो।’मध्य हंगेरीको स्जोल्नोक शहरमा एक इसाई परिवारमा सन् १९५५ मा जन्मेकी कोरिको ग्रेटका पिता पशुबधको काम गर्थे। सानै उमेरदेखि विज्ञानमा विशेष चासो देखाउँदै आएकी कोरिकोले २३ वर्षको उमेरमै युनिभर्सिटी अफ स्जेजेडको बायोलोजिकल रिसर्च सेन्टरबाट आफ्नो करियर शुरु गरेकी थिइन्। त्यहींबाट उनले विद्यावारिधि पनि हासिल गरिन्।

कम्युनिस्ट हंगेरीमा उनले सोचेजस्तो काम गर्न नपाएपछि सन् १९८५ उनी अमेरिका पलायन भइन्, त्यहाँ उनी फिलाडेल्फियाको टेम्पल युनिभर्सिटीमा काम गर्न थालिन्। अमेरिका जान उनलाई परिवारको गाडी बेच्नु परेको थियो। त्यतिबेला हंगेरीबाट पैसा बाहिर लग्न रोक लगाइएकोले आफ्नी दुई वर्षीया छोरीको खेलौना टेडी बियरमा केही पैसा लुकाएर लानुपरेको थियो। अन्ततः कोरिकोको कोषमा प्रोटिन कसरी बनाउने भन्ने रुचि नै आज विश्व महाहमारीका रूपमा मानवका लागि संकट बनिरहेको कोरोना भाइरसको खोप विकासमा बरदान सावित भयो।

मोडेर्ना खोपका नायक हेमिल्टन बेन्नेट

कोरोना भाइरसले महामारीरूप लिएलगत्तै तुलनात्मकरूपमा कुनै चर्चामा नआएको अमेरिकाको म्यासाच्युसेट्सको क्याब्रिजस्थित सानो बायोटेक कम्पनी मोडेर्ना एकाएक विश्वको समाचारमा छायो। मोडेर्ना कोरोना भाइरस खोपको दौडमा सहभागी हुने पहिलो अमेरिकी कम्पनीका रूपमा उदायो। यसको श्रेय मोडेर्नाका साझेदार तथा वरिष्ठ निर्देशक तथा २५ वर्षीय हेमिल्टन बेन्नेटलाई दिइएको छ। अनिश्चितता र अराजकताबीच बेन्नेट महामारीको गुमनाम नायकका रूपमा उदय भइन्। अमेरिकी खाद्य तथा औषधी प्रशासनबाट आपत्कालीन प्रयोगका लागि अनुमति पाउने मोडेर्नाको दोस्रो खोपका लागि हेमिल्ट बेन्नेटको टोलीले काम गरेको थियो। १० वर्षको अनुसन्धान अनुभव हासिल गरेकी हेमिल्टन बेन्नेटले युनिभर्सिटी अफ वासिङ्टनबाट इन्भारोन्मेन्टल हेल्थ एन्ड माइक्रोबाइलोजीमा स्नातक गरेकी थिइन्। उनले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट इपिडेमियोलोजीको पनि प्रमाणपत्र हासिल गरेकी छन्। विगत चार वर्षका लागि बेन्नेट मोडेर्नाको खोप पोर्टफोलियोमा नेतृत्वदायी भूमिकामा रहिन्।

‘हरेक दिन समयसीमा छिटोछिटो बित्दै थियो। म परियोजनामै केन्द्रित थिएँ र १० बजे राती अफिस छोड्थें भने विहान ७ बजे नै फर्किसक्थें। मलाई त धर्ती नै सरिरहेको महसुस भइरहेको थियो तर परियोजनामा खटिरहेका हाम्रा लागि भने सम्पूर्ण जगत् नै परियोजना बनेको थियो’ बेनेटले एक सञ्चार माध्यमलाई भेनेकी थिइन्।

‘स्पुतनिक भी’का नायक अलेब्ज्यान्डर जिन्ट्सबर्ग

रुसको गेमेलिया इन्स्टिच्युटको स्पुतनिक भी कोरोना भाइरसविरुद्ध अनुमति पाउने विश्वकै पहिलो विकसित खोप हो। स्पुतनिक भीलाई रुसले २०२० को सेप्टेम्बरमै आपत्कालीन प्रयोगका लागि आधिकारिक अनुमति दिएको हो। यद्यपि यसको तेस्रो चरणको मानव परीक्षणको नतिजा उपलब्ध नभएकोले अझै पनि रुसबाहेक अन्य प्रमुख देशमा यसले अनुमति पाउन सकेको छैन। गेमेलिया इन्स्टिच्युटका प्रमुख अलेक्ज्यान्डर जिन्ट्सबर्गको टोलीले स्पुतनिक भी विकसित गरेको हो। यो खोप रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनकी छोरीले पनि लगाइसकेका छन्। जिन्ट्सबर्गको जन्म सन् १९५१ नोभेम्बर १० मा भएको थियो। उनी सन् १९९७ देखि सोभियत र रुसी माइक्रोबाइलोजिस्टका रूपमा कार्यरत छन्। जिन्ट्सबर्ग गेमेलिया रिसर्च इन्स्टिच्युट अफ इपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक हुन्। उनकै नेतृत्वमा गेम कोविड भ्याक अर्थात् स्पुतनिक भीलगायत इबोला भाइरसविरुद्ध गेमइभ्याक कोम्बी, बीभीआरएस गेमभ्याक (मर्स)जस्ता खोपहरू बनेका थिए।
प्रतिक्रिया दिनुहोस्