रोल मोडल व्यवसायी



दुर्गाप्रसाद शर्मा ।

चैतको पहिलो सातादेखि नै पर्वतमा पनि कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनको अगुवाइमा भेला, बैठक र योजनाहरू निर्माणका काम भैरहेका थिए। ती भेला र बैठकको एकजना सहभागी सदस्य हुनुहुन्थ्यो केदारनाथ शर्मा।

हरेक बिहान ९ बजे बैठकमा जाने उहाँको दैनिकी बन्यो। त्यति मात्रै होइन, दिनभर अस्थायी कोरोना अस्पताल, क्वारेन्टिन निर्माणदेखि अन्य कामको अनुगमनका लागि हिँड्दैमा बित्यो। घरको व्यवसाय त परै छाडौं, उद्योग वाणिज्य संघको काम पनि गर्न उहाँलाई फुर्सद हुँदैन थियो। जसरी जिल्लाका सुरक्षा प्रमुख र जनप्रतिनिधि खटिए, त्यसरी नै उहाँ खटिनुभयो।

निजी क्षेत्रको एउटा महत्वपूर्ण संस्था भएका कारण पर्वत उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष शर्मा भेला र बैठकमा सहभागी भएपछि अहिले नौ महिनासम्म दैनिकजसो बस्ने बैठकमा निरन्तर सहभागी हुने मात्रै होइन, नियन्त्रण अभियानको एउटा महत्वपूर्ण व्यक्तिको रूपमा उहाँले आफूलाई स्थापित गर्नुभयो। ‘चैतयता असोजको पहिलो सातासम्म कोरोना नियन्त्रणको कामबाहेक अरु कुरामा कुनै ध्यान नै थिएन’, अध्यक्ष शर्माले भन्नुभयो– ‘घर, व्यवसाय र संघको काम पनि मैले हेर्न सकेको पाइन।’

देशमा कोरोना संक्रमण नियन्त्रणका लागि अन्य सामाजिक संस्थाहरू पनि अभियानमा खटिएकै थिए तर निजी क्षेत्र तथा सामाजिक क्षेत्रको तर्फबाट जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) पर्वतमा औपचारिक सदस्यको रूपमा पर्वत उद्योग वाणिज्य संघलाई पनि सामेल गराइएपछि अध्यक्ष शर्माको भूमिका झनै बढेको थियो। अन्य जिल्लामा आवश्यकताका आधारमा जुनकुनै संस्थालाई बैठक विशेषमा बोलाइने गरेको भए पनि पर्वतमा पर्वत उद्योग वाणिज्य संघलाई डीसीसीएमसीको सदस्य नै बनाइनुको पछाडिको कारण भनेको अध्यक्ष शर्माको सक्रियता नै भएको डीसीएमसीका अन्य सदस्यहरू बताउँछन्।

अध्यक्ष शर्मा पनि जिल्लामा आवश्यक परेका बेला सहयोग गर्नु कर्तव्य भएकाले यस्तो भूमिका खेलेको बताउनुहुन्छ। ‘पर्वत उद्योग वाणिज्य संघलाई विश्वास गरेर डीसीसीएमसीमा सदस्य बनाएपछि मैले सबै भूमिका निर्वाह गर्नुपथ्र्यो र सकेसम्म काम पनि गरेँ,’ अध्यक्ष शर्माले भन्नुभयो– ‘स्थानीय प्रशासन र जनप्रतिनिधिका बीचमा समन्वय गराउनेदेखि व्यवसायीका बीचमा पनि समन्वयका लागि काम गरेँ।’

कोरोना महामारी नियन्त्रणको अभियानमा दिनरात नभनी जिल्लाका सुरक्षा प्रमुख तथा स्वास्थ्यकर्मीसँगै लाग्नुभएको मात्रै छैन, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले यसबीचमा प्रशस्त काम पनि गर्नुभएको छ। शर्मा मात्रै सम्भवतः यस्तो एउटा पात्रको रूपमा हुनुहुन्छ जसले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सदस्यको रूपमा ९ महिनादेखि हरेक दिन खटिरहनुभएको छ। स्वास्थ्य सामग्री र उपकरण खरिद तथा बिक्रीमा कालोबजारी गरेको भनी कतिपय व्यवसायीहरू आरोपित भैरहेका बेला पर्वतजस्तो सानो जिल्लामा पनि कोरोना संक्रमण नियन्त्रणका लागि अध्यक्ष शर्माले खेलेको भूमिकालाई सबैले प्रशंसा गर्ने गरेका छन्।

पर्वत जिल्लामा संक्रमण नियन्त्रणका लागि चैत ११ गते लक डाउन हुनुपूर्व नै प्रभावकारी योजना बनाइको थियो। जिल्लाका हरेक स्थानीय तहको केन्द्र र वडामा क्वारेन्टिन बनाउने, जिल्लामा कोभिड अस्थायी अस्पताल बनाउनेदेखि एम्बुलेन्स, सवारीसाधनको व्यवस्थापनलगायतका कामका योजना बनेका थिए। कोरोनाको महामारी शुरु भएपछि लकडाउन व्यवस्थापन र विदेशबाट आउने नागरिकलाई क्वारेन्टिनमा राखेर व्यवस्थित गर्ने मामिलामा पर्वत जिल्ला सबैभन्दा अग्रणी रहेको थियो।

बागलुङमा कोरोना संक्रमित भएको पुष्टि भएकी युवतीलाई अस्पतालमा भर्ना गर्न महाभारतको युद्ध जितेको अनुभव गर्नुप¥यो भने अर्की संक्रमित महिलालाई लिन जाने एम्बुलेन्सका चालक नै फरार भए। एम्बुलेन्सका चालक फरार भएपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले आफ्नो कार्यालयका चालकसहित एम्बुलेन्स लिएर बिरामी लिन जानुपर्‍यो। कोरोना भाइरसको महामारीको राम्रो तयारी नभएका कारण दुईजना संक्रमित भेटिएको बागलुङ जिल्लाले बिरामीको उपचारदेखि महामारीको रोकथामका लागि पर्याप्त सतर्कता अपनाउन नसकेको बेला पर्वतमा भने तयारीलाई प्रभावकारी बनाइएको थियो।

पर्वतमा क्राइसिस म्यानेजमेन्ट सेन्टर तत्कालीन प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको नेतृत्वमा गठन गरिएको थियो भने सुरक्षासम्बन्धी कार्यहरू जिल्लास्थित सुरक्षा निकाय, स्वास्थ्य सेवासँग सम्बन्धित कार्य डा. शिशिर देवकोटा, पालिकास्तरको सीएमसीसम्बन्धी कार्य डा. भोजराज गौतम र जिल्ला समन्वय अधिकारीबाट गर्ने र निजी क्षेत्रसँग समन्वय गरी स्वास्थ्य उपकरण, औषधि र आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने जिम्मेवारी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष शर्मालाई तोकिएको थियो। पर्वतमा एकजना संक्रमित नदेखिए पनि चैतको दोस्रो सातादेखि नै अस्थायी कोरोना अस्पताल बनेको थियो।

शुरुमा कुस्मा नगरपालिकाले मात्रै अस्थायी कोभिड अस्पताल बनाउन शुरु गरेपछि केही स्थानीय तहले त्यसको विरोध पनि गरे। तर पछि सबै पालिकाको बैठक बसेपछि सबै पालिकाले लगानी गर्न तयार भएका कारण साझा कोभिड अस्पाताल निर्माण सम्भव भएको थियो।

यसले संक्रमित र संक्रमणको जोखिममा रहेका सबैलाई राखेर आइसोलेसनको सुविधा दिएको थियो। पर्वतमा यो बाहेक विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीले सोही अस्पतालमा बसेर विरामीको उपचार गरेका थिए। अस्पतालका लागि तत्काल आवश्यक ५० लाख रुपियाँ पर्वतका सातवटै स्थानीय तहबाट जुटाउने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको थियो तर तत्काल सामग्री उपलब्ध गराउन निजी क्षेत्रबाट समन्वय गरी उधारोमै सबै सामान किन्ने व्यवस्थापन अध्यक्ष शर्माको पहलमा भएको थियो। हरेक पालिकाले गाउँ–गाउँमा क्वारेन्टिन बनाएपछि त्यहाँ आवश्यक पर्ने बेड, किचनका सामग्री पनि पर्वत उद्योग वाणिज्य संघ जिम्मा बसेर व्यवसायीले पालिकालाई उपलब्ध गराएका थिए। पर्वतमा झन्डै ४ सय बेड क्षमताका क्वारेन्टिन तयार भएका थिए। त्यसमध्ये अधिकांश क्वारेन्टिनका लागि आवश्यक सामग्री कुस्माबाट नै पठाइएको थियो।

अहिलेसम्म एक–दुई पालिकाबाहेक सबैले क्वारेन्टिन निर्माणको खर्च भुक्तानी गरिसकेका छन्। ‘सबै ठाउँमा एकैपटक क्वारेन्टिन बनाउनुपरेकाले सामग्रीको अभाव थियो तर हामीले समन्वय गरेर सामान पठाउने काम ग¥यौं’, अध्यक्ष शर्माले भन्नुभयो– ‘अहिले पनि कतिपय व्यवसायीले रकम पाउनुभएको छैन तर हामीले संकटको समयमा अभाव हुन नदिएकै हो।’

कोरोना नियन्त्रणका क्रममा पर्वत जिल्लाले मुलुकमै पहिलोपटक शुरु गरेको अर्को अभ्यास भनेको ‘पुलिङ क्वारेन्टिन निर्माण’ को काम हो। भारत तथा तेस्रो मुलुकबाट आउनेलाई सीमाबाटै एकद्वार नीतिबाट उद्धार गरी पीसीआर परीक्षण गर्दा संक्रमण फैलन नपाउने तथा परीक्षणका लागि र संक्रमितलाई आइसोलेसनमा लानसमेत सहज हुने भएकाले यस्तो व्यवस्था गरिएको थियो। विदेशबाट घर फर्कनेलाई विनापरीक्षण पालिकाहरूमा पठाउँदा परीक्षणका लागि पनि जनशक्ति, समय र उपकरणको समेत सहज उपलब्धता नहुने भएकाले कुस्माका होटलमा राख्ने र परीक्षण गरेपछि मात्र पालिकाको क्वारेन्टिनमा पठाउने व्यवस्था मिलाइएको थियो।

बजार क्षेत्रका होटलहरू उपलब्ध गराउन व्यवसायी तयार नभएपछि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष शर्माको पहलमा दुईवटा होटललाई तयार पारिएको थियो। होटलमा परीक्षणमा राखिएकाको पीसीआर परीक्षणपश्चात् भने संक्रमित देखिएमा आइसोलेसन वार्डमा लगिएको थियो, रिर्पोट नेगेटिभ आएकाहरूलाई स्थानीय तहले निर्माण गरेका सम्बन्धित स्थानीय तहका क्वारेन्टिनमा पठाइएको थियो।
‘राजनीतिक दलहरूले समेत भित्रीरूपमा विरोध गरेको अवस्थामा पनि आपसी समन्वय गर्दै व्यवसायीलाई आस्वस्त तुल्याउन सकेका कारण होटलहरू प्रयोगमा आएका हुन्’, अध्यक्ष शर्माले भन्नुभयो– ‘होटलको क्षमताले नभ्याएपछि मात्रै विद्यालय र अन्य ठाउँमा क्वारेन्टिन बनाइएको हो।’

तत्कालीन अवस्थामा पर्वतको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत कल्पना घिमिरे नेपालको अनुभवमा पनि शुरुमा नै योजना बनाउँदादेखि नै पर्वत उद्योग वाणिज्य संघलाई समावेश गरिएको थियो। सरकारको एउटा निश्चित सहयात्री भएका कारण पनि आपूर्तिको व्यवस्थापनको जिम्मा पनि उद्योगी व्यवसायीको भएको र महामारी फैलिएको र लक डाउनसमेत भएको अवस्थामा पनि आपूर्ति व्यवस्थापनमा कुनै कमजोरी नहोस् भनेर डीसीसीएमसीमा सहभागी बनाइएको थियो। शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा र आपूर्ति व्यवस्थापन गरी महामारी नियन्त्रणका लागि तीनवटा अंगको महत्वपूर्ण भूमिका हुन्छ। ‘आपूर्ति व्यवस्थापन मात्रै होइन, स्वास्थ्य सुरक्षाका लागि पनि निजी क्षेत्रसँग समन्वय गर्नका लागि केदार सरले अत्यन्तै सकारात्मक भूमिका खेल्नुभयो’, उहाँले भन्नुभयो– ‘कुस्मामा होटललाई पुलिङ क्वारेन्टिन बनाउनका लागि उहाँले पहल नगरेको भए सम्भव बनाउन कठिन थियो।’

आफ्नो क्षेत्रगत भूमिकाबाहेक जनप्रतिनिधि र प्रशासनका बीचमा बुझाइमा समस्या हुँदा होस् वा स्वास्थ्यकर्मी र स्थानीय प्रशासनका बीचमा समस्या आउँदा पनि शर्माले सहजकर्ताको भूमिका खेलेर समस्या समाधान गर्दै कोरोना नियन्त्रणको अभियानमा सबैलाई सँगै हिँडाउनुभएको थियो।

पर्वत अस्पतालका स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचार नै नगर्ने भनेर आन्दोलनमा जाने मनस्थिति बनाएको बेला पनि तत्कालीन प्रहरी प्रमुख श्यामु अर्याल र अध्यक्ष शर्माको पहलमा आपसी सहमति र समझदारी कायम भएको थियो।

विश्वव्यापी फैलिएको कोरोना नियन्त्रणका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अग्रमोर्चामा उभिएर काम गरिरहेका छन्। तीनै तहका सरकारअन्तर्गतका सरकारी संयन्त्रले योजना बनाउनेदेखि कार्यान्वयन गर्ने काम गरिरहेका छन्। कोरोना नियन्त्रणको अभियानमा केही निजी क्षेत्रका नेताहरूले कालोबजारी गरेका कारण कारबाहीको पनि भागिदार भैरहेका बेला केही निजी क्षेत्रका नेताहरूले भने उल्लेख्यरूपमा सरकारी संयन्त्रसँगै बसेर पनि काम गरिरहेका छन् भन्ने उदाहरणीय पात्र हुनुहुन्छ पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा।

प्रतिक्रिया दिनुहोस्