जसले सयौंको ज्यान बचाए



कृष्णउदास खनाल ।

पर्साको जगरनाथपुर गाउँपलिकाका समसुल होदा मियाँ उमेरले ४७ वर्ष हुनुभयो। उहाँले एम्बुलेन्स चलाएर दुई श्रीमतीसहित १० जनाको परिवार पाल्दै आइरहनु भएको छ। भारतीय ज्वाइँको नाममा निकालेको एम्बुलेन्स उहाँका निम्ति जिउने सहारा बनेको थियो। मियाँले एम्बुलेन्समै शव पनि बोकिदिएर आपत परेकाहरूलाई सजिलो बनाइदिनुहुन्थ्यो। तर, कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चैत १० देखि लकडाउन सुरु भएपछि पर्सा प्रहरीले भारतीय नम्बर प्लेटको उहाँको एम्बुलेन्स नियन्त्रणमा लियो, त्यसपछि उहाँको परिवार पाल्ने बाटो नै बन्द भयो। यसै बीचमा पर्सामा कोरोनाका बिरामी देखा परे। जिल्लामा सयौं एम्बुलेन्स भए पनि संक्रमित बोक्न कोही नमान्ने। नारायणी अस्पतालको एम्बुलेन्सलाई स्वावको नमूना पीसीआर परीक्षणका लागि काठमाडौं लग्दैमा भ्याईनभ्याई थियो। यस बीचमा प्रहरीले उहाँलाई सोध्यो बिरामी बोक्ने हो, उहाँले कोरोना संक्रमितलाई बोक्न तयार रहेको बताउनुभयो। पर्साका कोरोना संक्रमितहरूलाई फटाफट बोक्ने एम्बुलेन्स चालक उहाँ नै हो। पर्सामा कोरोनाले ५० जनाको ज्यान लियो, ती शव व्यवस्थापनका पनि उहाँ मियाँ नै खटिनुभयो, एम्बुलेन्समा शव राख्दै व्यवस्थापन गर्र्दै।

कोरोना संक्रमणबाट मृत्यु भएपछि परिवारजनले समेत छुन नमिल्ने। अरु त परपर पर्ने भइहाले। तर, मियाले कतिपय अवस्थामा शवलाई आफै उठाएर एम्बुलेन्समा राख्नुभयो। २०४४ सालदेखि नै गाडी चलाउन थालेका मियाँले बालबच्चा भएपछि एम्बुलेन्स चलाउन थाल्नुभयो। निजी गाडीभन्दा एम्बुलेन्स चलाउँदा बढी फाइदा हुने देखेपछि उहाँ त्यतै लाग्नुभयो। एम्बुलेन्स चलाउँदा थाहा भयो, शव बोक्ने कम रहेछन्, अनि उहाँले शव बोक्ने काम थाल्नुभयो। आपतमा काम गरिदिँदा मानिसहरूले राम्रै पैसा दिन्थे। आठ–दश वर्षमा चार–पाँच लाख बचाएर छोरीको विवाह गरेको अनुभव उहाँले सुनाउनुभयो।

उहाँले थप्नुभयो – एम्बुलेन्स चलाउँदा २४ घण्टा ड्युटी हुन्छ। आधा रातमा कहिले पोखरा, कहिले काठमाडौ त कहिले धरान जानुपर्ने हुन्छ। राति वीरगञ्ज आइपुग्दा गाउँमा रहेको घरमा जान भ्याइँदैन। अर्काको गाडी लिएर घर जान पनि पाइँदैन। त्यसपछि ज्वाइँको नाममा रहेको भारतीय एम्बुलेन्स ३ लाख ३१ हजारमा किनेर यहाँ (वीरगञ्जमा) चलाएँ।” उहाँ भन्नुहुन्छ –श्रीमती र बालबच्चा छन्, मैले नदिए उनीहरूले कसरी खान्छन् भने लाग्छ र मेहनत गर्छु। श्रीमतीका नाउँमा पनि थोरै जग्गा जोडेको छु।

तर, कोरोना कहरसँगै लकडाउन सुरु भयो। त्यसको तेस्रो दिन नै उहाँको गाडी भारतीय नम्बर प्लेटको भएकाले स्थानीय प्रशासनले समात्यो। त्यसपछि उहाँ यसै घरमा बसिरहनु भएको थियो छिमेकी दाइले अरुको गाडी पनि छोडिरहेका छन्, तिम्रो पनि छोड्छ होला भन्नुभयो। अनि उहाँले पर्साकी एसपी गंगा पन्तलाई फोन गरेर पर्सा बारा जिल्लाको शव ठाउने मै हुँ, मेरो एम्बुलेन्स गण्डक अस्पतालबाटै समातियो भन्नुभयो। उहाँले बोलाएपछि बिहान प्रहरी कार्यालय उहाँ पुग्नुभयो। एसपीले एउटा कागज दिँदै कसैले रोक्यो भने यो देखाउनु भन्दै गाडी छाडिदिनुभयो।

२८ जेठमा घण्टाघरमा बेवारिसे शव भेटिएको छ भनेर प्रहरीबाट फोन आयो। उहाँले नारायणी अस्पतालमा पुर्‍याइदिनुभयो। दुई दिनपछि बेवारिसे शवमा कोरोना संक्रमण देखियो। प्रहरीले अब कम्तिमा सात दिन परिवारसँग नबस्नु भनेपछि उहां घर जानु भएन। साउनमा त दिनहुँ मानिस मर्न थाले। उठाउन कोही नमान्ने। उहाँले सुरुमा तिलावे पुल छेउमा र पछि जंगलमा शव पुर्‍याउन थाल्नुभयो। सुरक्षाकर्मीले गाड्ने काम गर्थे। कुनै कुनै शव जलाउँदा स्थानीयले विरोध गरे। शव गाडीमा छ, बाहिर झडप हुने स्थिति आयो। त्यस्तो बेला मध्यरातमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी आउँथे। उहाँ गाडीमा शव लैजानुहुन्थ्यो अनि राति नै गाडिन्थ्यो। पर्सामा सय जना जति एम्बुलेन्स चालक होलान्। तर, शव उठाउने कोही थिएनन्। कसैले न कसैले यो काम गर्नुपथ्र्यो, उहाँले गर्नुभयो। पीपीपी सेट लगाएर दिनरात खटिनुभयो। बारा पर्सामा मृत्यु भएका अधिकांश संक्रमितको शव उठाएको अनुभव उहाँसँग छ। ‘संक्रमितको एउटा शव उठाएको १० हजार रुपियाँ आउँछ भन्ने थियो। तर, सीडीओ सा’बले पाँच हजार कायम गरिदिनुभएछ। केही समय पहिले एकैपटक एकमुष्ट १ लाख ८५ हजार पाएर जग्गावालालाई बैना दिएँ’ उहाँले सुनाउनुभयो।

एकदिन एकजना इन्स्पेक्टरले फोन गरेर ‘समसुल भाइ, नागरिकता र ड्राइभिङ लाइसेन्स लिएर आउनुस्, नगरपालिकामा जागिर लगाइदिन्छु’ भन्नुभयो। कति पैसा आउँछ भनेर सोध्दा ‘२०–२२ हजार होला’ भन्नुभयो। मैले भयो, जागिर गर्दिनँ भनेँ। एसपी, डीएसपी सा’बहरू जागिर खाँदा राम्रो हुन्छ भनेर सम्झाउनुभयो र नगरपालिकामा जागिर लाग्यो।कोभिड कालमा दुःख धेरै पाउनुभयो,उहाँले। शरीर पसिनाले भिजेको हुन्छ, पेटले खाना खोजिरहेको हुन्छ, पीपीई सेट खोल्न मिल्दैन। दिनरात भोकैप्यासै खट्नुपर्छ। यसरी काम गर्दा पनि मानिसहरू ‘तिमी कोरोना संक्रमितको शव उठाउँछौ, अलि पर बस’ भन्थे यसो भन्दा उहाँलाई धेरै पीडा हुने गर्दथ्यो। सात महिना कोभिडमा काम गरेको अनुभव छ उहाँसँग। अहिले पनि काम गर्दै हुनुहुन्छ मियाँ। अहिलेसम्म स्वास्थ्यमा उहाँलाई समस्या छैन जुन दिन होला त्यही दिन सोचौंला भन्ने तर्क मियाँको छ।

प्रतिक्रिया दिनुहोस्