स्यालुट मलामी बनेका सैनिक महिलालाई !



दीपक रिजाल  ।

महामारीको अवस्था सिर्जना गर्ने कोरोना भाइरसबाट पराजित काठमाडौं उपत्यकाका कयौं व्यक्तिको अन्तिम संस्कारमा सहभागी भएर नेपाली सेनाका महिलाले पीडित परिवारलाई सघाइरहेका छन्, सबैतिरबाट स्याबासी पाइरहेका छन्।

शव व्यवस्थापनमा सहभागी सैनिक महिलामध्येकी एक ‘पूर्णमाया’ (पूरा परिचय नखुलाइएको) संगठनले यस्तो चुनौतीपूर्ण कामको जिम्मेवारी दिएकोमा आफू गौरवान्वित भएको बताउनुहुन्छ। संगठनले मलाई योग्य देख्नु नै मेरो लागि गौरवको विषय हो। कोरोना संक्रमितको शव व्यवस्थापनमा सहभागी हुन आउँदा श्रीमान्ले समेत हौसला दिएपछि जिम्मेवारी पूरा गर्न प्रेरित भएको पूर्णमायाको भनाइ छ।
‘घरपरिवारभन्दा पनि विपद्मा परेकाहरूका लागि सहयोग गर्नु मेरो पहिलो कर्तव्य हो, यही विश्वासले म यसकार्यलाई महान् सेवा मानेर समर्पित भएकी हुँ’ पूर्णमायाले भन्नुभयो– ‘मैले यस कामका बारेमा श्रीमान्बाहेक परिवारका अन्य सदस्यलाई जानकारी गराएकी छैन। संगठनले दिएको जिम्मेवारी पूरा गर्न श्रीमान्को हौसलाका साथै पीडित परिवारको अन्तरआत्माबाट प्राप्त हुने आशीर्वादले आफ्नो कामप्रति गर्व महशुुुस हुन्छ।’

‘श्रीमान्ले हिम्मत नहार्नू, विभागले दिएको जिम्मेवारी पूरा गर्न समर्पित हुनू भनेका शब्दहरू अहिले पनि मेरो मानसपटलमा ताजा छन्। श्रीमान्को हौसला र विभागको जिम्मेवारीले मलाई ऊर्जा प्रदान गरेको छ। साथसाथै आफ्नो कर्तव्य र सेवाभाव जागृत भएको हुँदा चुनौतीपूर्ण जिम्मेवारीलाई पूरा गर्न म दृढ छु’ पूर्णमायाले नेपाल समाचारपत्रलाई भन्नुभयो। उहाँ पशुपति गौशालास्थित शवदाहगृहमा मृतकको अन्तिम संस्कारको व्यवस्थापन गर्ने क्रममा छोटो समय मिलाएर प्रतिक्रिया दिंदै हुनुहुन्थ्यो।

पूर्णमायाजस्तै अरू सैनिक महिलाको हौसला पनि उस्तै बुलन्द देखिन्छ। महिलाको हृदय कोमल हुन्छ भन्ने आममान्यता छ। कोरोनाको संक्रमणका बेला नेपाली सैनिक महिलाले बहन गरेको यो चुनौतीपूर्ण र आममानिसको सोचभन्दा अलि फरक कामका लागि उनीहरूको सर्वत्र प्रशंसा भएको छ। शव व्यवस्थापनजस्तो जटिज कार्यमा उनीहरूको सफल भूमिका उदाहरणीय बनेको छ। महिला कोमल हृदयका मात्र होइनन्, दृढ आत्मविश्वास र समाजप्रतिको उत्तरदायित्वमा पनि उत्तिकै जिम्मेवार छन् भन्ने पुष्टि यस भूमिकाले गरेको छ।

नेपालमा दुई हजार शव व्यवस्थापन

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ अर्थात् नोबेल कोरोना भाइरस संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेको छैन। कोरोनाबाट अहिलेसम्म विश्वमा ८ करोड ९० लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १९ लाख १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। नेपालमा अहिलेसम्म दुई लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक हजार नौ सय २५ जनाको मृत्यु भइसकेको छ।

त्यसो त, नेपाली सेनाले अहिलेसम्म दुई हजार आठ सय ६१ शव व्यवस्थापन गरेको बताएको छ, तर सरकारले भने अहिलेसम्म कोरोना संक्रमणबाट एक हजार ९ सय २५ जनाको मात्र मृत्यु भएको जनाएको छ। मृतक संख्यासम्बन्धी नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा शुरूदेखि नै अन्तरविरोध रहँदै आएको छ। जे होस्, नेपाली सेनाले गरेको शव व्यवस्थापनमा अहिलेसम्म जनस्तरबाट असन्तुष्टि प्रकट भएको छैन।

जेहोस्, कोभिडका कारण मानव सम्भ्यतासँगै विश्व अर्थतन्त्रलाई गम्भीर असर पुगेको छ। कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न विश्वभरका वैज्ञानिकहरू खोप उत्पादन गर्ने अनुसन्धानमा सक्रिय छन्। केहीले आंशिक सफलता पनि प्राप्त गरिसकेका छन्। यद्यपि, कोभिडको नियन्त्रण भने अहिलेसम्म हुनसकेको छैन। कोभिड–१९ पछि यसले आफ्नो स्वरूप परिवर्तन गर्दै आएको स्थितिमा कोभिड भाइरस वैज्ञानिक समुदायलाई कठिन चुनौती भएको छ।

अहिलेसम्म विकास भएका औषधि, खोपलगायतका चिकित्सकीय प्रयास असफल हुँदा लाखौंको ज्यान गइसकेको छ। धेरैलाई मृत्युको मुखबाट बचाएर चिकित्सकले जीवनदान पनि दिएका छन्। कोभिडको यो विश्वव्यापी महामारीका बेला घर, अस्पतालदेखि अन्तिम संस्कारसम्म बिरामीको सेवाका लागि धेरैको अतुलनीय योगदान रहेको छ।

नेपालको सन्दर्भमा सरकारले कोरोना व्यवस्थापनमा लिएको नीतिको जनस्तरबाट तीव्र आलोचना भइरहेको छ। सरकारले कोरोना नियन्त्रणमा लिएको नीतिकै कारण समाजमा जोखिम बढेको भन्दै विज्ञहरूले आलोचना गरिरहेका बेला केही क्षेत्रबाट भएका प्रयासलाई भने जनस्तरबाट निकै प्रशंसा प्राप्त भएको छ। सीमित स्रोत साधन, कतिपयले आफैं स्रोतको व्यवस्था गरेर कोभिडका कारण उत्पन्न भएका विभिन्न कठिनाइलाई न्यूनीकरण गर्न चालेका कदमले आममानिसको मन जितेको छ।

नेपाली सेना राजनीतिमाथि

आफ्नो कर्तव्यपथमा निरन्तर क्रियाशील भएका विभिन्न अंगहरूमध्येएक हो ‘नेपाली सेना’ नेपाली सेनाले शव व्यवस्थापनमा लिएको नीति तथा गरेको व्यवहारको सर्वत्र प्रशंसा भइरहेको छ। राजनीतिले नेपालमा गिजोल्न नपाएको एउटै मात्र क्षेत्र सेनालाई सरकारले दिएको जिम्मेवारी र उसले बहन गरेको भूमिकाले राष्ट्रिय सेनाको महत्व झल्काएको छ।

सिमानामा मात्रै सेना खटिन्छ, सेना युद्धमा मात्रै सक्रिय हुन्छ भन्ने आमबुझाइभन्दा पनि फरक रहेको हुन्छ सैन्य सेवा। मुलुकलाई बाह्य शक्तिबाट जोगाउने र आन्तरिक द्वन्द्वलाई साम्य पार्नेजस्ता सैन्य कारबाहीबाहेक पनि सैन्य जिम्मेवारी रहेको हुन्छ। प्राकृतिक विपद्लगायत जबदेशलाई जुनसुकै बेला संकट आइपर्छ, त्यो संकट समाधान गर्न सरकारसँग अन्तिम र भरपर्दो विकल्प सेना नै हो। कतिपयले सैनिक परिचालनलाई सैन्य कारबाहीका रूपमा हेर्ने गरेका छन्। तर, सेनाले गैरसैनिक जिम्मेवारी पनि उत्तिकै कुशलतापूर्वक निर्वाह गरेको छ।

मुलुकको आर्थिक मेरुदण्डको रूपमा रहेको बाटो निर्माण वा राष्ट्रिय गौरवका आयोजनाको निर्माण एवं सुरक्षाको जिम्मेवारी पनि सरकारले सेनालाई दिँदै आएको देखिन्छ। पछिल्लोपटक कोरोना महामारी नियन्त्रण तथा त्यसबाट उत्पन्न हुने जोखिम न्यूनीकरणलगायतका क्षेत्रमा पनि सेनालाई सरकारले महत्वपूर्ण जिम्मेवारी दिएको छ। त्यसैसँग जोडिएको कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा मुलुकभर ठूलो समस्या देखापरेको थियो, जसलाई नेपाली सेनाले कुशलतापूर्वक समाधान गरिरहेको छ।

मृत्यु आफैंमा संवेदनशील विषय हो त्यसमा पनि कोराना संक्रमणका कारण मृत्युभएका व्यक्तिको शव व्यवस्थापनको विषय शुरूका दिनमा नेपाली समाजमा निकै चुनौतीपूर्ण बन्न पुग्यो। त्रास, अज्ञानता, लहलहैमा र कतिपय सन्दर्भमा मानवीय संवेदना हराउँदा यससन्दर्भले सामाजिक विचलन खडागर्ने अवस्था सिर्जना भयो। कोरोना संक्रमण न्यूनीकरण गर्न चालिएका कदमले भौतिक दूरी कायम राख्नुपर्नेमा सामाजिक दूरी बढाउन पुग्यो।

चुनौतीपूर्ण रहेको शव व्यवस्थापनमा सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएपछि भने निकै सहजता आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलको भनाइ। निश्चय पनि सेनालाई शव व्यवस्थापनको जिम्मेवारी दिएपछि मुलुकभर सेनाले आफ्नो संयन्त्र परिचालन गरेका कारण शुरूमा देखिएको समस्या विस्तारै हट्दै गयो। त्यसमा पनि शव व्यवस्थापनमा महिला सहभागिताले नेपाली समाजमा निकै प्रशंसापाएको छ।

‘मुलुकको रक्षाका लागि जस्तोसुकै चुनौती बहन गर्न तयार छु’ सैनिक चाहे पुरुष हुन् या महिला सबैलाई दिइने मूलमन्त्र हो यो। त्यसैको परिणामस्वरूप सैनिक महिलालाई पनि शव व्यवस्थापनको जिम्मेवारीमा सहभागी गराइएको सैनिक मुख्यालयको दाबी छ। अहिलेसम्म सैनिक महिला टोलीले राजधानीका विभिन्न अस्पतालमा मृत्युवरण गरेकाहरूको शव व्यवस्थापन गरेका छन्।

पूर्णमायाको जस्तै छ ‘ईश्वरी’को अनुभव पनि। संगठनले यो जिम्मेवारी पूरा गर्न छनोट गरेकोमा कमान्डर एंव संगठन प्रमुखलाई समेत उहाँले आभार व्यक्त गर्नुभएको छ। हिन्दू परम्परामा दाहसंस्कार प्रक्रियामा महिलाको प्रत्यक्ष सहभागितालाई बर्जितजस्तै मानिएको छ। तर, पनि सेनाले भने शव व्यवस्थापनमा सैनिक महिलालाई परिचालन गरेर सैनिक महिला पनि जस्तोसुकै चुनौतीको सामना गर्न तयार छन् भन्ने सन्देश समाजमा दिन खोजेको देखिन्छ।

अहिलेसम्म सैनिक महिलाले दुई दर्जन कोरोना संक्रमितहरूको शव व्यवस्थापन गरिसकेका छन् भने ४० जनाभन्दा बढी सैनिक महिला यस काममा जुटेका छन्। शुरू–शुरूमा शव व्यवस्थानमा सहभागी हुँदा मृतकका परिवारमा रुवाबासी हुँदा आफूसमेत सम्हालिन गाह्रो भएको थियो। तर, शव व्यवस्थापनमा जुटेपछि भने यस्ता चुनौतीपूर्ण काममा सहभागी हुन पाएकोमा गर्वको अनुभव भएको अर्की सैनिक महिला ‘मनिता’ बताउनुहुन्छ।

वास्तममा मृत्यु आफैँमा पीडादायी घटना हो, त्यसमा पनि संक्रमणबाट मृत्युवरण गरेका शवलाई आफन्तले समेत छुन हिचकिचाउने, त्रसित हुनुपर्ने अवस्थामा सैनिक महिलाले ती सबै समस्याको चाङलाई थन्क्याएर अगाडि बढेका छन्। यसले नेपाली समाजलाई मात्र होइन विश्व समुदायलाई समेत मार्गनिर्देश गरेको छ। महिलाहरू घरभित्रको काम, चुलोचौकामा मात्रै सीमित हुनुपर्दछ भन्ने परम्परागत मान्यतालाई चिर्दै सैन्य सेवामा प्रवेश गर्नु एउटा फड्को हो भने त्योसँगै फौजले दिएको जिम्मेवारी, राज्यले खोजेको साथ र समाजले खोजेको समानुभूति यस कार्यले दिएको छ। यसले आगामी दिनमा जस्तोसुकै कठिन चुनौतीमा पनि सैनिक महिलाले आफूलाई अब्बल साबित गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ। ती महान् महिलाप्रति सिंगो समाजले स्यालुट गर्नै पर्छ। महिला जननी हुन्, माता हुन्, संरक्षक र संवद्र्धक पनि हुन् भन्ने यर्थाथलाई सैनिक महिलाले प्रमाणित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्