घरबासी र प्रबासी



– माधव सिवाकोटी “प्रियमन”
मुम्बैमा रमाइलो छ,
दिल्ली, बंगलोर घमाइलो छ,
तर मेरो घरबासी मन,
छ महिना बित्नासाथ,
कोल्टी देखी सात दिन हिडेर,
नेपालगंज देखि ताल्चा ऊडेर,
दैलेख देखि गमगढी गूडेर,
चाइना,पिना, छिचोल्दै,
रोवाको र्याञ्चेकाटि पुगेको दिन,
राराको शीतल हावा र चंखेलिले अंकमाल गर्दा
ढाड दुखेको बिर्सन्छु,
पैताला फुटेको भुल्दिन्छु I
यो घरबासी को मन गाईघाट देखी फाप्लु पुग्दा,
तूङ्ग्वा पिएर रात्नान्गले चड्दा
चम्पावत हुदै खलङ्गा टेक्दा,
दार्चुला लाइ महाकाली ले छेक्दा,
तिम्रो कसम!
बयान गर्ने सब्दै छैन,
त्यो ठाउँ बाहेक अन्त स्वर्गै छैन I
यसपाली सगरमाथाको ऊचाई बढ्यो रे,
समाचार हरुको पारो माथी माथी चड्यो रे
सायद पूर्खाहरुको पौरख हो,
प्रबासी मनको पनि गौरब हो,
पौरख ढल्यो भने गौरब ढल्छ I
ऊचाई झर्दा मुटू पोल्छ
घरबासी हुदा आफु मातिन्छु,
माइतीघरमा कहिले कहिँ तातिन्छु,
म भन्छु डाँफे को प्वाँख को के काम,
तिमि भन्छौ, यो त वातावरण,
म भन्छु, रिसर्च, रिसर्च,
तिमि भन्छौ, एक्सन, एक्सन,
म भन्छु देश का कुरा,
तिमि गर्छौ पोषण का कुरा, घर का कुरा,
आमाहरुका कुरा, अनि केटाकेटी का कुरा I
हे प्रबाशी मन, तिमीले कन्फ्युज बनाइदेउ,
म घरबासी कि तिमि घरबासी?
म प्रबासी कि तिमि प्रबासी?
प्रबासमा हरेकदिन आफुलाई,
घरबासी सम्झन्छु,
घरबासमा हरेक दिन आफुलाई
प्रबासी सम्झन्छु II
प्रबास र घरबास को
संगमस्थल सायद सगरमाथा होला
तेसैले त झन् झन् अग्लो हुदैछ,
तेसैले त त्यो झन् सग्लो हुदैछ II

प्रतिक्रिया दिनुहोस्