पुष्पालाई बंगबन्धु ढाका म्याराथनमा स्वर्ण



काठमाडौं ।

नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन् । पुष्पामाले २०७६ साल मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन् ।

बंगलादेशको ढाकामा भएको म्याराथनमा जितसँगै पुष्पाले ५ लाख टाका नगद पुरस्कार जितेको टिम प्रशिक्षकको भूमिकामा ढाकामा रहेका धनीराम चौधरीले जनाएका छन् । पुष्पा दक्षिण एसियाली राष्ट्रमा पहिलो भएकी हुन् । उक्त स्पर्धामा विभिन्न ३ राष्ट्रका १२ खेलाडी सहभागी थिए । भारतबाट ३, नेपालबाट १ र बंगलादेशबाट ८ खेलाडीले भाग लिएको प्रशिक्षक चौधरीले जानकारी गराए ।

भारतीय खेलाडीले दोश्रो र तेश्रो स्थान हासिल गरे ।म्याराथनमा पुरुषतर्फ १३औं सागका स्वर्ण विजेता किरणसिंह बोगटीले प्रतिस्पर्धा गरेका थिए । किरण दक्षिण एसियाली राष्ट्रमा चौथो भए । निर्धारित दूरी तय गर्न किरणले २ घण्टा २६ मिनेट १३ सेकेन्ड समय खर्चे । प्रशिक्षक चौधरीका अनुसार किरणबाहेक म्याराथनमा भारतबाट ५, माल्दिभ्सबाट १ र बंगलादेशबाट ७०÷८० जनाले भाग लिएका थिए । शीर्ष तीन स्थानमा भारतीय खेलाडीले कब्जा जमाए ।

प्रतिक्रिया दिनुहोस्