स्थानीय तहको १ सय २६ अर्ब अझै खर्च हुन सकेन



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहमा पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गर्नु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहमा पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गर्नु भएको हो ।
स्थानीय तहमा पुगेको रकममध्ये १ सय २६ अर्ब रुपियाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकामा विकासको थप लहर सिर्जना गर्न आग्रह गर्नुभयो । यसैबीच अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो । प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।

उता, अर्थमन्त्री पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुसहितको बैठकमा भूमिसम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल भयो । आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ वटा पालिकासँग सम्झौता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. तुम्बाहाम्फेले बा“की रहेका पालिकामा सम्झौता गर्ने र काम शुरु गर्ने पनि जानकारी गराउनुभयो ।

अर्थमन्त्री पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमिसम्बधी समस्यालाई स्थायीरूपमा समाधान गर्ने बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. तुम्बाहाम्फेले काम स्थानीय तहमै हुने भएकाले स्थानीय तहको विशेष सक्रियता जरुरी रहेको बताउनुभयो । नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहमा नै फोकल पर्सन राखेर काम गर्न जरुरी रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्