पल शाह: प्राविधिकलाई सघाउने रियल हिरो



रश्मी थापा

फिल्मका हिरोले दुःखमा परेकालाई बचाउने र सहयोग गरेर वाहवाही पाउने गर्छन्। तर रिल लाइफमा पनि फिल्ममा जस्तै उदार बनेर वाहवाही पाएका छन् रियल लाइफका चक्लेटी हिरो पल शाहले । पल कोरोना संक्रमणको जोखिमका कारण लगाइएको लकडाउनका समयमा अचानक रियल हिरोका रूपमा देखा परे।

आफैं राजधानीको ओम शान्ति चोकस्थित डेरामा बसेर जीवन यापन गर्दै आएका दाङका पल हुँदा मात्र खान सक्ने अवस्थाका प्राविधिकहरूलाई कोरोना संक्रमणबाट हुने कोभिड १९ को जोखिमले लगाइएको लकडाउनका कारण अप्mठेरोमा परेका प्राविधिकहरुलाई रासन सामग्री सहयोग गरेर रियल हिरो मात्र होइन, कमलो र उदार मनका नायकका रूपमा समेत प्रशंसित भए। बैंकमा जम्मा गरेकोमध्ये केही रकम दैनिकीका लागि राखी ५ लाख रुपियाँ झिकेर दिनभर मेहनत गरेर आज खान आजै कमाउनुपर्ने अवस्थाका प्राविधिकका लागि आफैँ किनमेल गरी घर–घरमै पुगेर प्राविधिकलाई रासन प्रदान गरेर आफुलाई मनका धनी कलाकारका रुपमा चिनाएका पलले यो काम गरेपछि अन्य कलाकारलाई पनि प्राविधिकहरुलाई सघाउन दबाब भयो।

‘धेरै प्राविधिक लकडाउनका कारण दैनिक गुजारा चलाउन नै धौ धौ परेको थाहा पाएँ। सबैलाई लकडाउन कहिले खुल्ला, ६-७ महिना जाला भन्ने भयले सताइरहेको पाएँ। शुरूमा ४०-५० घर टेक्निसियनलाई हेर्ने मेरो सोच थियो। तर मसँग खासै पैसा पनि थिएन’ पलले सुनाए ‘बैंक अकाउन्टमा ७ लाख जति मात्र थियो। त्यही पैसा मध्येबाट २ सय प्राविधिकको घरलाई हेर्छु भन्ने जोश र आँट आयो। आखिर मैले यो पैसा म्युजिक भिडियो र फिल्मबाटै कमाएको होे। अहिले उहाँहरूलाई गाह्रो छ, मलाई परेका बेला भगवान्ले हेर्नुहुन्छ भन्ने आँटले सहयोग गरेको हुँ।’ पलले पछि कुल साँढे दुई सय जनालाई सहयोग गरे। उनले प्राविधिकहरुको कमसेकम हातमुख जोर्ने समस्या केहि समयका लागि टारी दिएका थिए।

मनबाटै आफँ सहयोग गर्नुपर्छ भन्ने सोचका साथ सहयोगको हात बढाएका बताउने पल भन्छन् ‘मलाई धेरै जनाले तिमीले आह्वान गरेको भए टन्नै पैसा उठ्थ्यो, किन आफ्नै पैसा खर्च गरेको भन्नुभयो। तर, मलाई मनबाटै आफैँले सहयोग गर्नुपर्छ, धर्म लाग्छ भन्ने लाग्यो। लक डाउनको कारण आम मानिसदेखी सेलीब्रेटीसम्मलाई पनि प्रभाव पारेको थियो। म्युजिक भिडीयो तथा फिल्मको काम पनि चलेको थिएन डर पललाई पनि थियो आफुलाई केहि समस्या परे कसरी चलाउने भनेर।’ तर प्राविधिकहरुको समस्याले मन छोयो र भित्रैदेखि सहयोग गर्छु भन्ने अठोट लिएका पलले जसो पर्ला त्यसै टर्ला भन्ने सोचल काम गरे।

‘बैंकमा भएको ५ लाख रुपियाँ झिकें र सामान किनेर दिएँ। टोटल ५ लाख ४ हजार खर्च भयो’ पलले सुनाए ‘प्राविधिकलाई सहयोग गरेको थाहा पाएर कतिले हामीलाई चाहिँ सहयोग नगर्ने भनेर गाली पनि गर्नुहुन्छ’ पल भन्छन् ‘सुटिङ वा अन्य ठाउँमा भेट्दा कतिपय टेक्निसियन अहिलेसम्म पनि तपाईंको चामलले २ महिना पुग्यो, तपाईंले गर्दा बाँचियो, सजिलो भयो, गर्जो टर्‍याे भन्नुहुन्छ। यस्तो कुरा सुन्दा आत्मसन्तुष्टि मिल्छ ’ पलले सन्तुष्टिको श्वास लिँदै सुनाए।

प्रतिक्रिया दिनुहोस्