एनआरएनएमा संस्थागत प्रक्रिया ओझेलमा परकै हो त ?



चिरञ्जीवी ढकाल
गैरआवासीय नेपाली संघ (एनआरएनए) विशेष महाधिवेशनका बारेमा पक्ष र विपक्षमा क्रमशः लामो समयदेखि स्वर सुनिदै आएको छ । संस्थापन पक्ष जसरी पनि विधान संशोधन कोरोना महामारीकै बेला भर्चुअल जुममार्फत तत्काल पारित गराउन चाहन्छ । संघकै करिब पाँच दर्जन कार्यसमितिकै साथीहरु विस्तृत अध्ययन गरेर पास गरौं भनिरहेका छन् । मलाई जानकारी भएअनुसार दुवै पक्षबीच पटक–पटक भेटवार्ता भएका छन् । वार्ता परिणाममुखीभन्दा दाउपेचमा परिणत भएको मैले बुझेको छु । संघ बैठकमै उपाध्यक्षहरु मन केसी, रविना थापा, अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापा र युरोपका क्षेत्रीय संयोजक नारायण आचार्यलगायतले हतारमा भन्दा विस्तृत छलफल गरी अघि बढाऔं भन्दै पत्रकार सम्मेलनमा बोलेको मैले घरमै बसेर हेरिरहेको थिएँ ।
पक्ष र विपक्षमा मत बाँडिदै जाँदा दिनदिनै मेरो मनमा पिर थपिदै गएको छ । हामीले आजभन्दा झन्डै १८ वर्षअघि जन्मभूमि छाडेर विभिन्न मुलुकमा बसोवास गर्ने नेपालीलाई एकताको सूत्रमा बाँध्न गैरआवासीय नेपाली संघ स्थापना गरेका थियौं । १८ वर्षअघिको मेरो उमेर र जोशमा डा. उपेन्द्र महतो, भीम उदास, देवमान हिराचन, रामप्रताप थापाले साथ दिएपछि नेपालीले गर्व गर्न सक्ने संस्था जन्माउन पाएकोमा व्यक्तिगतरुपमा म दंग थिएँ । संसारभरका नेपालीलाई समेट्ने संस्था गठनले शरीरमा छुट्टै स्फूर्ति थियो । भर्खर जन्माएको संस्थामा अस्ट्रेलियाबाट शेष घले, बेलायतबाट प्रा.डा. सूर्य सुवेदी र नेपालबाट कुलचन्द्र गौतम बसेपछि एनआरएनएले नयाँ उचाइ लिनेमा म ढुक्क थिएँ । त्यसपछि क्रमशः धेरै प्रतिष्ठित साथीहरु जोडिँदै जानुभयो । उहाँहरु सबैको नाम यहाँ लिन सम्भव छैन । यो एनआरएनए बेलायतबाट शुरु गर्दा सन् २००३ देखि २००५ मा डा. उपेन्द्र महतो अध्यक्ष हुनुुहुन्थ्यो भने म सचिव थिएँ । २००५ देखि २००७ मा अर्को कार्यकाल मैले काम गरेपछि म युरोप संयोजकतिर गएँ । अहिले गैरआवासीय नेपाली संघ ८० भन्दा बढी देशमा पुगिसकेको छ ।
प्रत्येक दुई वर्षमा जन्मभूमि नेपाल गएर सम्मेलन गर्ने र दशैँ–तिहार परिवारसँग मनाउँदै नेतृत्व पनि चयन गर्ने परम्परा नै बनिसकेको थियो । १६ वर्षपछि गतवर्ष नवौं सम्मेलनमा एनआरएनए पुग्दा संस्थाका आर्थिक र सांगठनिक प्रतिवेदन पारित नहुने अवस्थामा पुगे । विगतमा पूर्वअध्यक्ष महतो र हामीले सोचेको एनआरएनए बिस्तारै बदलिँदै जान थालेको आभास मैले त्यति बेला पाएँ । लाखौं रुपियाँ पाँचतारे होटलका अल्कोहलमा खर्च भए । तर आर्थिक पारदर्शितामा संस्था शून्यमा झरेको महसुस मैले मनमनै गरें । म संस्थापक सचिव भए पनि संस्थाभित्रको मेरो पहुँच र अधिकार केही छैन । मैले अहिले दिने भएको एकथान सुझावमात्र हो । त्यो पनि सुझाव जहिले पनि ऐच्छिक हुन्छ, त्यो बाध्यकारी हुँदैन । त्यसैले मैले संस्थाका बारेमा सार्वजनिकरुपमै बोल्ने निर्णय गरेर लेख तयार गरें । यो लेख तयार गर्दै जाँदा १८ वर्षअघिदेखि एनआरएनएमा लागेका केही अग्रजहरुबाहेक धेरै नयाँ व्यक्तिहरु छन् । उनीहरु आ–आफ्नो क्षेत्रमा विज्ञ पनि छन् । मजस्ता पुराना व्यक्तिलाई भेट्दा एकथान नमस्कार गर्नेबाहेक संस्थाका परम्परा, संस्कार र एनआरएनए गठनका बारेमा आजसम्म एनसीसीदेखि आईसीसीसम्म कसैले मलाई एक शब्द पनि सोधेको सम्झाना छैन । आ–आफ्ना उद्देश्य पूर्तिका लागि ल्याएको प्रस्तावमा समर्थन पाउन बेला–बेलामा केही कुरा सुनाउँछन् । उनीहरुको प्रस्तावमा समर्थन गरे धन्यवादसम्म पाइन्छ । यी घटनाहरुले मलाई एनआरएनएजस्तो संस्था अब एउटा प्रयोगका साधनका रुपमा विकास भैरहेको अनुभव हुन थालेको छ । जब कुनै चिज वस्तुको रुपमा विकास हुन्छ त्यहाँ सामाजिक भावना हुँदैन । खरिद वा बिक्री गर्ने साधन बन्न जान्छ । जसले बढी पैसा तिर्छ उसैले सामान खरिद गर्छ, बजारको नीति यही हो ।
साँझ सुत्ने बेलामा मेरो मनमा यस्तै–यस्तै कुरा खेलिरहेको थियो । संघका महासचिव हेमराज शर्माले विवाद बनिरहेको विशेष महाधिवेशनका लागि नयाँ प्रतिनिधिहरु पठाउन गैरआवासीय नेपाली संघका शाखाहरुलाई पत्राचार गरेको विज्ञप्तिको समाचारमा एक्कासी आँखा पुग्यो । अनि मनमा कस्तो–कस्तो नरमाइलो लाग्यो । धेरै साथीहरुले विधान संशोधनका विषयमा विभिन्न कुराहरु उठाएका छन् । सबैलाई समेटेर लैजानुपर्ने बेलायमा महासचिव शर्माले संस्थागत मान्यता विपरीत एकलौटी ढंगले विज्ञप्ति जारी गरेर के उपलब्धि हासिल गर्लान् र ? महासचिव शर्मा पनि पीएचडी गरेकै व्यक्ति हुन् । उनले पनि अध्यापन गराएर जीविकोपार्जन गरेकै छन् । एउटा सम्मानित पेसामा भएका मानिसले अब्बल भएर देखाउनुपर्नेमा निजी कम्पनी चलाएजस्तो व्यवहार देखाएको गुनासो धेरैले मसँग गरेका छन् । कुनै पनि व्यक्ति अध्ययनशील वा धनाढ्य भएर मात्र पुग्दो रहेनछ, त्यसको व्यवहार नै समाजले जाँच्ने कसी हो । महासचिव शर्माको जीवनमा पनि त्यो लागू हुन्छ जस्तो लाग्छ ।
सामाजिक संस्थाका बारेमा मनभित्रका अन्तरविरोध चलिरहेको बेला संघका महासचिव शर्माले पटक–पटक सामाजिक सञ्जालमार्फत जारी गरेका सूचनाहरु मेरो मानसपटलमा आइरहन्छन् । संघको विधान त कार्यकारी अधिकार संघका अध्यक्ष र महासचिवमा रहन्छ । तर पनि संघलाई सामूहिक नेतृत्व प्रणालीमा लग्न त्यहाँ उपाध्यक्षहरु, सचिवहरु, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, महिला र युथ संयोजकहरु भएको कार्यकारी सचिवालय बनाएका छौं । त्यहाँ छलफल गरी सबैको भावनालाई समेटेर अघि बढ्नुपर्नेमा उनले व्यक्तिगत संस्था चलाएजसरी सामाजिक सञ्जालमा सूचना जारी भएको देखेर मेरो मन थप छियाछिया भयो । अनि सोचें, यो धर्तीमा आमाको कोखबाट बच्चा जन्माउन मद्दत गर्ने पनि एकजना डाक्टर हुन्छ । एउटा आमाले कोखबाट बच्चा जन्माउन सकिनन् भने अप्रेसन गरेर बाहिर संसार देखाउन मद्दत गर्ने पनि डाक्टर हुन्छ । कहिलेकाहीँ गलत औषधि दिएर वा सही उपचार नदिएर बालकालिकाको हत्या गर्ने पनि डाक्टर नै हुन्छ । झन्डै दुई दशकअघि जन्माएको पवित्र संस्था एकपक्षीय निर्णयले दुघर्टना हुने हो कि भनेर अहिले मलाई धेरै चिन्ता लागेको छ ।
जीवन्त संस्थामा व्यक्ति आउँछ र जान्छ । संस्थामा एउटा पद्धति हुन्छ । संस्थाका स्थापित मान्यताहरु हुन्छन् । त्यहाँ सामूहिक छलफल हुनुपर्छ । त्यहाँ सामाजिक भावना हुनुपर्छ । संस्थागत मर्यादाहरु उल्लंघन गरिए भने निर्वाचित व्यक्ति नै एकतन्त्रीय बन्न पुग्छ अनि उसलाई जे मन लाग्यो त्यही निर्णय हुन्छ । अन्ततः संस्थाको अवसान हुन्छ । आज ८० भन्दा बढी देशमा भएको संस्था आगामी दिनमा हेर्दाहेर्दै लाइट बालेर खोज्नुपर्ने अवस्थामा पुग्छ । क्षणिक स्वार्थमा जोडिएका व्यक्तिहरुले आफ्नो स्वार्थ पूर्ति गरेर हिँड्लान् तर एनआरएनए सामाजिक संस्थाका रुपमा रहिरहन सक्दैन ।
(लेखक एनआरएनएका संस्थापक सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्