नेपालमा पहिलो प्रादेशिक लोकसेवा परीक्षा



न्युज अफ नेपाल, हेटौंडा ।

सुदूरपश्चिम घर भएका २६ वर्षीय हर्क नेपाली प्रशासनतर्फ लोकसेवाको परीक्षा दिन हेटौंडा आउनुभयो । काठमाडौं बसेर पढाइ गरिरहनुभएका नेपाली आफू पश्चिम क्षेत्रको बासिन्दा भए पनि बागमती प्रदेशमा नै बस्ने भएका कारण प्रदेशस्तरीय लोकसेवा आयोगको परीक्षा दिन रुचाएको बताउनुभयो ।

‘कोरोनाका कारण रोकिएको लोकसेवाको परीक्षा दिन पाउँदा खुशी लागेको छ । यसअघि दिइएको परीक्षाभन्दा यस वर्षको परीक्षामा भिन्नै अनुभव प्राप्त भएको छ,’ उहाँले भन्नुभयो । देशव्यापी लोकसेवाको परीक्षा दिँदा कहाँको मान्छे कहाँ गएर परीक्षा दिनुपर्ने समस्या थियो । तर, हाल प्रदेशस्तरीय लोकसेवाको परीक्षा दिँदा निकै सहज महसुस भएको उहाँले अनुभव सुनाउनुभयो । ‘नाम निस्केपछि बागमती प्रदेशमै बसेर काम गर्न पाइन्छ । त्यही कुराले रमाइलो लागेको छ,’ उहाँ भन्नुहुन्छ ।

मकवानपुरको भीमफेदी गाउँपालिकाकी शान्ति दानीले पहिलोपटक भएको प्रदेशस्तरीय लोकसेवा आयोगको परीक्षा दिँदा निकै सहजता भएको बताउनुभयो । उहाँले भन्नुभयो–परीक्षा दिनमात्र भए पनि देशको जुनसुकै जिल्लामा पनि जानुपर्ने हुन्थ्यो ।

अझै नाम निस्कियो भने महिलालाई अन्य जिल्ला तथा प्रदेशका स्थानमा गएर काम गर्न असहज हुन्थ्यो । तर, हाल परीक्षा दिनमात्र नभएर नाम निस्के बागमती प्रदेशकै स्थानमा बसेर काम गर्न पाउने हुँदा अझै खुशी लागेको छ ।‘प्रदेशस्तरीय परीक्षाले हामी परीक्षार्थीलाई हौसला थपिदिएको अनुभव गर्न पाएका छौं,’ हेटौंडामा रहेको ज्ञानदा माध्यमिक विद्यालय केन्द्रबाट प्रशासनतर्फ लोकसेवाको परीक्षा दिनुभएकी उहाँले अघिल्लो पटक देशव्यापीस्तरीय परीक्षामा सामेल हुँदा भन्दा निकै सहज लागेको अनुभव सुनाउनुभयो ।

नेपालमा प्रदेश छुट्याइएपछि पहिलोपटक प्रदेशस्तरीय लोकसेवा आयोगको परीक्षा सञ्चालन गरिएको हो । प्रशासनसेवा, लेखा समूह, चौथो तह र सहायक लेखापाल पदपूर्तिका लागि खुलेको आवेदनको परीक्षा सञ्चालन भएको हो । देशका अन्य प्रदेशभन्दा बागमती प्रदेश पहिले लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सफल भएको बागमती प्रदेश लोकसेवा आयोग अध्यक्ष सुरेशमान श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो–नेपालभरका इच्छुकले प्रदेशको आयोगमा फाराम भरेर परीक्षा दिन तयार थिए । परीक्षा दिनका लागि सबै जिल्लाका नागरिकलाई आवेदन खुला गरिएको तर कार्यक्षेत्र भने बागमती प्रदेशमा तोकिएको छ ।संघीयता लागु भएपछि प्रदेश लोकसेवाले पहिलो प्रदेशस्तरीय लोकसेवाको परीक्षा लिएको हो ।

‘कोरोनाबाट बच्ने स्वास्थ्य सावधानी अपनाएर लोकसेवा आयोगको पहिलो पत्रको परीक्षा सम्पन्न गरेका छौं । यसरी नै हामी छिटै दोस्रो पत्रको पनि परीक्षा सञ्चालन गरेर प्रदेशमा आवश्यक पदपूर्ति व्यबस्थापन गर्न हामी लागेका छौं,’ उहाँका अनुसार बागमती प्रदेश लोकसेवा आयोगको परीक्षामा उल्लेख्य सहभागिता रह्यो ।

अनिवार्यरुपमा मास्क, सेनिटाइजर तथा भौतिक दुरी कायम गरेर परीक्षा लिइएको बागमती प्रदेशका लोकसेवा आयोग अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । शनिबार सम्पन्न प्रदेशस्तरीय लोकसेवा आयोगको परीक्षामा देशभरबाट लगभग ९ हजार १ सय परीक्षार्थीले फाराम भरेकोमा परीक्षामा सहभागी हुनेको संख्या ८ हजार ३ सय ५७ जना थियो ।

हेटौंडा उपमहानगरपालिकाका १९ विद्यालयमा परीक्षा केन्द्र तोकेर परीक्षा लिइएको थियो । त्यसमध्ये सबभन्दा धेरै परीक्षार्थी मकवानपुर बहुमुखी क्याम्पसमा १ हजार ९ सय परीक्षार्थीले परीक्षा दिए ।हेटौंडा क्याम्पसमा ८ सय ५०, सिद्धार्थ माध्यमिक विद्यालयमा ३ सय १०, भुटनदेवी माध्यमिक विद्यालयमा ४ सय ५०, रिलायन्स इङ्ग्लिस स्कुलमा ३ सय ५०, आधुनिक माध्यमिक विद्यालयमा १ हजार ५०, तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालयमा ४ सय २०, ज्ञानदा माध्यमिक विद्यालयमा ३ सय ९०, सोलिड्यारिटी इङ्ग्लिस स्कुलमा १ सय ९०, अमर माध्यमिक विद्यालयमा ३ सय ५०, जनजागृति माध्यमिक विद्यालयमा १ सय ८०, त्रिभुवन माध्यमिक विद्यालयमा ३ सय ३०, नवज्योति माध्यमिक विद्यालयमा १ सय ७०, तासिर माध्यमिक विद्यालयमा १ सय ५०, श्रमिक माध्यमिक विद्यालयमा ३ सय, जीएस निकेतनमा ३ सय ५०, चन्द्रोदय माध्यमिक विद्यालयमा ६ सय परीक्षार्थीले परीक्षा दिए भने अन्यले सिद्धार्थ शिशु सदनबाट परीक्षा दिए ।

प्रत्येक प्रदेशका प्रदेश लोकसेवा आयोगले प्रदेश सरकार र स्थानीय तहमा आवश्यकताअनुसार योग्यता प्रणालीको आधारमा स्वच्छता, निष्पक्षता कायम गरी प्रदेश सरकार र स्थानीय तहलाई उत्कृष्ट र दक्ष जनशक्ति उपलब्ध गराउन प्रतिवद्धता जनाएका थिए । यसअनुरुप अनुकूल समयमा लोकसेवाको विज्ञापन गरेर परीक्षा सञ्चालन गरिएको आयोगका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बागमती प्रदेशको लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका सहायकस्तर चौथो तहका विभिन्न पदका ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशन गरेको थियो । प्रदेशस्तरमा यति धेरै पदमा विज्ञापन गरिएको यो पहिलो हो । प्रदेशका स्थानीय तह र बागमती प्रदेशका दुई मन्त्रालयमा गरी सहायकस्तर चौथो तहका ४ सय ६९ कर्मचारी माग गरिएको थियो । प्रदेशभरका ४४ स्थानीय तह र बागमती प्रदेशका दुई मन्त्रालयका २२ जनासमेत गरेर ४ सय ६९ जनाको दरबन्दीमा कर्मचारी माग गरिएको थियो ।

प्रदेशका एक सय १९ स्थानीय तहमध्ये २२ स्थानीय तहले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विवरण पठाएका हुन् । प्रदेश सरकारका ७ मन्त्रालयमध्ये दुई वटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका थिए । प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयले २ जना कर्मचारी माग गरेको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनशक्ति अभावका कारण प्रदेश सरकार अगाडि बढ्न नसकेको गुनासो गर्नुभएको थियो । ‘कामै गर्न सकेन, पैसा खर्च गर्नै सकेन भन्ने कुरा कर्मचारी अभावका कारण भएको हो,’ उहाँको दाबी छ । मुख्यमन्त्री पौडेलले प्रदेश सरकार बनेको लामो समय बित्दा पनि कर्मचारी अभावले प्रदेश सरकारले सोचेजति काम गर्न नसकेको बताउँदै प्रदेश सरकारसँग जनशक्ति अभावका भएको स्वीकार गर्नुभयो ।

प्रदेश लोकसेवा आयोगले आफ्नो नियमावली, पाठ्यक्रमलगायत नीतिगत व्यबस्था गरी २०७७ असारभित्र समायोजन ऐन, २०७५ बमोजिम परीक्षा सञ्चालन गर्ने गरी वार्षिक कार्यतालिका तयार गर्ने प्रतिवद्धता जनाएको थियो । प्रदेश सरकार तथा स्थानीय तहलाई आवश्यक पर्ने जनशक्ति पदपूर्तिमा प्रदेश लोकसेवा आयोगको प्रभावकारी कार्यान्वयनमा आफ्नो बुद्धि, विवेक र समय उपयोग गर्न प्रतिवद्धता व्यक्त गर्ने साझा धारणा सबै प्रदेशले हेटौंडा भेलाबाट बनाएका छन् ।

प्रदेश सरकार तथा स्थानीय तहलाई प्रभावकारीरुपमा कार्यसम्पादन गर्न आवश्यक योग्य जनशक्ति यथासमयमा नै पदपूर्ति गरी जनशक्ति व्यबस्थापनमा टेवा पु-याउने प्रतिवद्धता जनाइएको छ । प्रदेशसभाबाट भदौ १४ गते लोकसेवा आयोग गठनसम्बन्धमा विधेयक पारित भएको थियो । मुख्यमन्त्री पौडेल संयोजक रहेको सिफारिस समितिले कात्तिक २९ गते अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरेको थियो । प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवावधि ६ वर्ष तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्