संसद् विघटन प्रभाव : कोरोनाको बेवास्ता गर्दै राजनीतिक सभा



न्युज अफ नेपाल, हेटौंड ।

हेटौंडा बजारका होटल तथा पार्टी प्यालेसलाई यतिबेला भ्याइनभ्याइ छ । कार्यक्रमका लागि प्रदेशको राजधानी आउने ठूला नेता/कार्यकर्ताको बसाइले लकडाउनपछि पहिलोपटक होटलको माहोल फेरिएको छ । कतै संसद् विघटनको विरोधमा सभा, कतै ओली पक्षको भेलाले पछिल्लो समय पार्टी प्यालेस भरिभराउ हुने गरेका छन् ।

एउटै हलमा सयौंको संख्यामा भेला तथा जमघट गर्दा कोरोना संक्रमण बढ्छ भन्ने कुराको जिम्मेवार व्यक्तिले ध्यान दिन नसक्दा कोरोना संक्रमणको ग्राफ बढ्नसक्ने स्वास्थ्यसम्बद्ध व्यक्तिहरुले बताएका छन् । पुस ५ गते संसद् विघटन भएदेखि यहा“ हरेक दिन पार्टी प्यालेस तथा सडकमा विरोध र समर्थनमा कार्यक्रम हुँदै आएका छन् ।

शनिबार प्रम केपी ओली पक्षले एक पार्टी प्यालेसमा अगुवा कार्यकर्ता भेला ग-यो । त्यसमा सहभागिता जनाउन मकवानपुर र बाहिरी जिल्लाका समेत गरी सयौंको संख्यामा आए । सोही दिन नेपाली कांग्रेसले सरकारविरुद्ध हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन ग-यो । त्यसमा पनि सयाैँको संख्यामा मानिस सहभागी थिए । आइतबार नेकपाको प्रचण्ड–माधव पक्षको भेला भयो । त्यसमा पनि सयौंको सहभागिता देखियो ।

तर, कुनै भेलामा मास्क बितरण गरिएन न त सेनिटाइजरको व्यबस्था । सहभागीमध्ये मस्किलले १५ प्रतिशतको मुखमा मास्क देखियो । ‘आफ्नो पार्टी’ भन्दै गाउँगाउँबाट सदरमुकाम झरेका कार्यकर्ताका लागि एउटा मास्क र दुई थोपा सेनिटाइजर व्यबस्था मिलाइएन । यसको नतिजा कोरोना संक्रमण जोखिम उच्च रहनसक्ने हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताउनुभयो ।

नेकपाका दुई गुट, नेपाली कांग्रेस, राप्रपा र जनता समाजवादी तथा अन्य पार्टीले विभिन्न तरिकाले विरोध प्रदर्शन गर्दै आएका छन् । २०/२२ दिनदेखिको राजनीतिक माहोलले दिनहुँजसो पार्टी प्यालेस तथा सडकमा भेटघाट तथा सभासमारोह जारी छन् ।

कोरोना भाइरसको त्रासले गाउँघरमै बसिरहेका मानिसलाई आफ्नो गुटको भेलामा सामेल गराउने प्रवृत्ति नौलो विषय रहेन । महामारीको त्रास जारी रहेको बेला रोगसंग खेलवाड गर्दै पार्टीगत भेला गर्दा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुनसक्छ भन्ने बुझ्नुपर्ने जनस्वास्थ्य निरीक्षक चौलागाईं बताउनुहुन्छ ।

‘कोरोना संक्रमण हुन छाडेको होइन । परीक्षण कम भएका कारण संख्यामात्र कम भएको हो । कोरोनासंग बच्ने उपाय अपनाउनुपर्ने समयमा सयौंको संख्यामा भेला गर्दा जोखिम अझै बढ्नसक्छ । विरोध कार्यक्रम गरे पनि स्वास्थ्य मापदण्ड अपनाएरमात्र गर्नु आबश्यक छ,’ उहाँले सुझाउनुभयो ।

पार्टी प्यालेसका कोठाहरुमा कार्यक्रम गर्दा झन संक्रमणको जोखिम बढ्नसक्ने आशंका गरिएको छ । उहाँले भन्नुभयो–भौतिक दुरी कायम नगरी एउटै कोठामा ठेलमठेल गर्दै कार्यक्रम गर्दा संक्रमणको जोखिम हुनजान्छ । फरक भुगोलको मान्छेको जमघटमा पनि जोखिम हुनसक्छ ।

केही दिन अघिसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन गराउनेको संख्या कमी आएको तर पछिल्लो केही दिन अवधिमा संख्या बढेको छ । ‘यसरी गरिएका भेलाका प्रभावका कारण बिरामी बढेका हुन् कि भन्ने कुरामा ध्यान दिनुपर्ने समय आएको छ,’ उहाँका अनुसार दिनमा १७ देखि २० जना स्वाब संकलन गराउन आउने गरेकोमा केही दिनदेखि स्वाब संकलन गराउनेको संख्या ३५ सम्म पुग्ने गरेको छ ।

विश्वका केही देशमा कोरोनाको दोस्रो लहर चलिरहेको र रोकथामका लागि पुनःलकडाउन गरिरहेको अबस्थामा नेपालमा भने राजनीतिलाई ठूलो बनाउँदै महामारीलाई सामान्य रुपमा लिन खोजिँदैछ । यसको असर कुनै दिन कोरोना पुरानै स्थितिमा नफर्केला भन्न नसकिने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका निर्देशक डा. हरिबहादुर खड्का बताउनुहुन्छ ।

उहाँले भन्नुभयो–न कुनै भौतिक दुरी कायम गरिएको छ, न त मास्क । यसको प्रभावले कोरोना संक्रमणको जोखिम अवश्य बढेको छ । भिडभाडमा आउने मानिसलाई लक्षण नदेखिएको तर कोरोना संक्रमण भएको हुनसक्छ । ‘हामीले कम्तिमा २ मिटर दुरी कायम गर्न अनुरोध गर्ने गरेका छौं । तर, यस्ता कार्यक्रममा मान्छे धेरै हुने अनि बस्ने ठाउँ सानो हुने भएकोले कोच्चिएर एउटै हलमा बस्नुपर्ने बाध्यता छ । हामीले यसरी हुलमुल गरेर कार्यक्रम नगर्न पटकपटक आग्रह गर्दै आएका छौं,’ उहाँले दुःख व्यक्त गर्नुभयो–तर, उस्तै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्