ओलीसँग खुराफात बाहेक कुनै सकारात्मक भिजन छैन: झलनाथ खनाल

केपी शर्मा ओली राजनीतिक ठग



पुष्कर बुढाथोकी, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक ठग भएको आरोप लगाउनुभएको छ ।

मध्यपुर ठिमीमा आयोजित नेकपा भक्तपुरका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले नेकपाको अध्यक्ष भएर ओलीले नेता कार्यकर्तालाई ठगेको र प्रधानमन्त्री भएर जनतालाई ठगेको जिकिर गर्नुभयो ।व्यक्ति हत्यामा शुरुमै जेल परेका ओलीलाई पार्टीले जिम्मेवारी लिएर गल्ती गरेको भन्दै बैगुनी ओलीले पार्टीलाई बर्बाद बनाएको बताउनुभयो । १४ वर्ष जेलमा बसेका ओलीलाई पार्टी संगठन कसरी कुन दुखले बन्यो भन्ने पत्तै भएन भन्दै दुख कष्टपूर्वक खडा गरेको पार्टीप्रति माया नभएको बताउनुभयो ।

मनपरी गरेर आज पार्टीलाई बिभाजनको स्थिति बनाए पनि ७० प्रतिसत बढी बहुमत आफूहरुसंग भएको तर ओलीले आफूलाई आधिकारिक भन्दै कार्यकर्तालाई दिउसै रात पार्न प्रयत्न गरिरहेको बताउनुभयो । केन्द्रीय कमितिमा ४० प्रतिशत पु¥याउन नसक्ने केपी ओलीले पार्टी हाम्रो हो भनेर बकवास गरिरहेको नेकपाका नेता खनालले बताउनुभयो । पञ्चायतकालमा पञ्चहरुले जस्तै पैसा दिएर मान्छे बोलाउने अनि कार्यकर्ता भनेर मास देखाएर जुलुस निकाली जनता तर्साउन खोजेको आरोप लगाउँदै केपी ओलीको यथार्थ कुरा कार्यकर्तामाझ बाहिर आएपछि जिउँदो लाश बने पक्का भएको दाबी गर्नुभयो ।

नेता खनालले पार्टीको आधिकारिकताका विषयमा अहिले निर्वाचन आयोगले सोधखोज गरिरहेको भन्दै ऐनको आधारमा मात्र काम गर्छ ऐन मिच्न पाइँदैन भन्दै आयोगबाट आफ्ना पक्षको नेकपाले नै सूर्य चिन्ह र आधिकारिकता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।आफूलाई पार्टीले काम गर्न नदिएको भन्दै प्रधानमन्त्री ओलीले भ्रम फैलाएको भन्दै पूर्वप्रधानमन्त्री खनालले तीन पटकको बजेट ल्याउदा ओलीले जनताको भागमा निरासा र यथास्थिति मात्र लादेको बताउनुभयो ।कम्युनिष्ट पार्टीको सरकार भएपनि सारमा केपी ओलीको खल्तीको सरकारमा परिणत भएको उहाँको भनाइ छ ।

केपी ओलीसंग खुराफात बाहेक कुनै सकारात्मक भिजन नभएको भन्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली राष्ट्रबादी समेत नरहेको बताउनुभयो । पार्टी कमिटीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा जारी गर्न धेरै पटक ताकेता गरेपछि नक्सा निस्किए पनि पछि त्यो सबै आफैले गरे झैँ गरी राष्ट्रबादी भएको नाटक रचेको आरोप लगाउनुभयो ।पार्टीको बैठक नबसाल्ने र बैठकबाट भाग्ने ओली अन्तत परिवर्तन बिरोधी कित्तामा उभिएको र प्रतिनिधि सभा विघटनबाट देशलाई दुर्घटनाको दिशातर्फ लैजान खोजेका खनालको भनाइ छ ।

केही गुन्डा र आपराधिक मानसिकता सहितका मानिसहरूको ग्याङ बनाएर ओलीले पार्टी र संविधान विरुद्ध धावा बोलेका उहाँको आरोप छ । वरिष्ठ नेता खनालले प्रतिनिधि सभाको पुनस्थापनाको लागि आन्दोलनको आधिबेहरी सिर्जना गरिने जानकारी गराउदै कार्यकर्तालाई त्यसको लागि तयार रहन निर्देशन समेत दिनुभयो । प्रधानमन्त्री ओली पूजीवादी दक्षिणपन्थी भासमा भासिएको भन्दै खनालले समाजबादको रणनीतिक लक्षका साथ अब पार्टी तीब्र गतिमा अघि बढ्ने बताउनुभयो ।

सुरक्षाको कारण देखाउँदै पार्टीको बैठकमा सहभागी नजनाउने ओली उपत्यकाबाहिर गएर सम्बोधन गर्न थालेकोप्रति नेता खनालले रोष प्रकट गर्नुभयो ।हाल ओलीले गरिरहेको हरेक गतिविधि केवल हास्य प्रहसनका लागि मात्र उपयुक्त भएको उहाँको भनाई छ ।

उक्त अवसरमा नेकपा नेता हितमान शाक्य, पूर्वमहान्याधिवक्तासमेत रहेका नेता मुक्ति प्रधान, भक्तपुरका इन्चार्ज दिलिप प्रजापति भिष्म, पार्टी सचिव डिपी ढकाल, नेता रंजन केसी लगायतले प्रधानमन्त्री ओली प्रतिक्रान्तिको बाटोमा गैसकेकोले ओलीको प्रतिरोध गर्नु नै अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश सांसदद्वय डा राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठ ,बागमती प्रदेश सचिवालय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकर लगायतका नेताहरु उपस्थित थिए भने सयौंको संख्यामा जिल्लाका अगुवा कार्यकर्ता सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्