भारतमा जनवरी १६ देखि कोरोना विरुद्धको खोप अभियान सुरु हुने



एजेन्सी ।

भारतमा जनवरी १६ देखि कोरोना विरुद्धको खोप अभियान सुरु हुने भएको छ । कोरोना संक्रमणको अवस्थाबारे समिक्षा गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बोलाउनुभएको मन्त्रिपरिषद् बैठकले जनवरी १६ देखि खोप सुरु गर्ने निर्णय गरेको हो ।

समिक्षा बैठकको निर्णय अनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मी र त्यसपछि ५० वर्षभन्दा माथि उमेरका व्यक्तिहरुले खोप पाउनेछन् । स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा कार्यरत झण्डै ३ करोड कर्मचारीले पहिलो चरणमा खोप पाउनेछन् । यस्तै भारतमा ५० वर्षभन्दा माथिका र दीर्घरोगी गरि २७ करोड जनसंख्यालाई खोप दिने तय भएको छ ।

खोप सञ्चालनका लागि बनेको गाइडलाइन अनुसार एक बुथमा एक सय देखि २ सय व्यक्तिलाई खोप लगाइनेछ र खोप लगाएका व्यक्तिलाई ३० मिनेट निगरानीमा राखिनेछ । भारतमा कोरोना महामारी सुरु भएयता डेढ लाख संक्रमितको मृत्यु भइसकेको छ भने १ करोड ४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्