नेपालमण्डल टेलिभिजनको अध्यक्षमा पुन: महर्जन नियुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रिय अध्यक्ष रमेश महर्जन नेपालमण्डल टेलिभिजनको अध्यक्षमा पुन निर्वाचित हुनु भएको छ। ललितपुरको भोलधोखास्थित ज्यापूसमाजको भवनमा शनिबार सम्पन्न भएको नेपालमण्डल टेलिभिजनको ९ औ साधारणसभाले महर्जनलाई चार वर्षको कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो।

मर्हजन दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन हुनु भएको हो । त्यस्तै साधारण सभाले संचालक समितिका सदस्यहरूमा उद्योगपतिहरू पद्म ज्योति, दिपक श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, मंगल महर्जन, कुमारराजा महर्जन, सिल्भिया राजोपाध्याय् , नातिभाइ महर्जन र शर्मिला महर्जन पनि सर्वसम्मतले चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष महर्जनले आगामी कार्यकालमा नेपालमण्डल टेलिभिजनले देश भित्रको मात्र नभएर विदेशमा रहेका संघसस्थाहरूसँग मिलेर गुणस्तरीय कार्यक्रम, समाचारहरूको उत्पादन एवमं प्रशारण गर्ने बताउनु भयो।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा नेपालमण्डल टेलिभिजनको आर्थिक वर्ष २०७६ व ०७७ या वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने २ वर्ष अघि नेपालमण्डलले टेलिभिजनले आयोजना गरेको कलाकार मनराजा साँगितिक कार्यक्रमबाट उठेको आम्दनीबाट नेपाल मण्डल टेलिभिजन श्रस्ता सम्मान कोष पनि स्थापना गरेको छ।

उक्त कोषको लागि संस्थापक सदस्य एवमं प्रबन्ध निर्देशक प्रकाशकाजी महर्जन, संचालक समितिका सदस्यहरू मंगल महर्जन, शर्मिला महर्जन, उद्योतपति बाबुराजा महर्जनले रकम प्रदान गर्नु भएको थियो।

त्यस्तै कार्यक्रममा नेपालमण्डल टेलिभिजनको प्रगतिको लागि ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, सल्लाहकारहरू रामकाजी अबाले, बाबुराजा महर्जन लगायतले शुभकामना दिनु भएको थियो। २०६८ सालको योमरी पूर्णिमाका दिन नेवार समुदायको कला, संस्कृति, भाषा, सभ्यता प्रचार प्रसार गर्ने उद्धेश्यले नेपालको पहिलो आदिवासी टेलिभिजनको रूपमा नेपाल मण्डल टेलिभिजन स्थापना भएको हो।

प्रतिक्रिया दिनुहोस्