‘प्रचण्ड डबल डिलर र दुई जिब्रे’ : मणी थापा



मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपाका नेता एवं खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर, डबल डिलर र दुई वटा जिब्रा भएको ब्यक्तिको संज्ञा दिनु भएको छ । मन्तब्यको अधिकांश समय प्रचण्डको विरोध गर्नु भएका मन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको कदमले मुलुक अग्रगामी तर्फ उन्मुख भएको दावी गर्नु भयो ।

नेकपा काभ्रेको अगुवा कार्यकर्ता भेला एवं विस्तारीत जिल्ला कमिटीको बैठकलाई शनिबार बनेपामा सम्बोधन गर्दै मन्त्री थापाले प्रचण्डकै कारण नेकपा फुटेको बताउनु भयो । ‘सिद्धान्तको खेलवाड गर्ने पात्र र प्रवृति प्रचण्ड हुन्’–मन्त्री थापाले भन्नुभयो–‘प्रचण्डले माओवादी बनाउनु भएन, परिवार बनाउनु भयो । रुकुम र रोल्पाका नेता र उनका परिवार बनाउनु भयो ।

प्रचण्डले बनाएको माओवादी कहाँ छ ? बाबुराम र मोहन बैद्य कहाँ छन् ?’ माओवादीमा रहँदा टाकनटुकन गरेर पार्टी सिध्याएका प्रचण्डले नेकपामा टाकनटुकन गर्न नसकै कारण पार्टी भित्र असहयोग गर्नु भएको मन्त्री थापाले बताउनु भयो ।
‘केपी ओलीसँग पार्टी एकता गरेर आधा आधा कार्यकाल प्रधानमन्त्री हुन पाएको भए गद्धार हुँदैन थिए’ – मन्त्री थापाले भन्नुभयो–‘केपी ओलीसँग हामी मन्त्री हुन गयौं अब लालगद्धार भयौं ।’

केपी ओली स्थिरता भएका नेता भएको बताउँदै मन्त्री थापाले विकास र समृद्धीको नेतृत्व केपी ओली बाहेक कसैले गर्न नसक्ने दावी गर्नु भयो । माओवादीको युद्दका समयमा साथ दिने अधिकांश नेताले प्रचण्डकै परिवारीक मोह, सत्तालिप्सा, अवसरवादी, अस्थिरतावादीका कारण साथ छाडेको बताउँदै मन्त्री थापाले साम्यबादी आन्दोलनको नेतृत्व प्रधानमन्त्री केपी ओली बाहेक कसैले गर्न नसक्ने बताउनु भयो । ‘केपी ओली रात परे पछि खाली कापी र कलम लिएर चिन्तन गर्नुहुन्छ, प्रचण्ड………हल्लिनुहुन्छ’–मन्त्री थापाले भन्नुभयो–‘चिन्तन र प्रवृत्ति नसच्चिँदासम्म प्रचण्डमा लिम्पियाओवादी सोच जिवितै रहन्छ ।’

जनतालाई सार्वभौम बनाउन गरिएको संसद विघटन प्रतिगमन नभएको बताउँदै मन्त्री थापाले जनताको विचबाट भाग्न खोज्ने प्रतिगमनको सहयोगि हुने बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले १० मिनेट ढिला संसद विघटनको निर्णय गरेको भए उहाँ माथी नै कु गरेर प्रतिगमन र अस्थिरता निम्त्याउन प्रचण्ड माधव नेपाल समुह लगायतको योजना रहेकाले प्रधानमन्त्रीले मुलुकका लागि संसद विघटन गरी अस्थिरता रोक्नु भएको उहाँले बताउनु भयो ।

साविक अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई पदमुक्त गरेसँगै साविक नेकपा एमालेका उपाध्यक्ष अशोक ब्याञ्जुलाई अध्यक्ष र सचिव नारायण पाण्डेलाई पुनः सचिवको जिम्मेवारी दिई आयोजना गरिएको भेलामा झण्डै २ हजार भन्दा धेरै अगुवा कार्यकर्ता सहभागि भएको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

सोहि भेलालाई सम्बोधन गरी बैठकको अध्यक्षता गर्नु भएका ब्याञ्जुले ६ सय ९९ सदस्यीय जिल्ला अधिबेशन आयोजक कमिटी घोषणा गर्नु भएको थियो । साविक जिल्ला कमिटीमा १ सय २४ जना, मनोनित गर्न बाँकी ७२ जना र ५ सय ३ जना नयाँ सदस्यहरुलाई अधिबेशन आयोजक कमिटीमा राखिएको अध्यक्ष ब्याञ्जुले बताउनु भयो ।

बैठकले जिल्लाका संघ र प्रदेश कमिटी, गाउँ र नगर तथा वडा कमिटी, जनवगर्गिय संगठनहरुको पुनर्गठन गरी आगामी माघ ९ र १० गते आयोजक जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिईने बताउनु भयो । पार्टीमा रहेर जिम्मेवारी पुरा नगर्ने नेताहरुलाई पदमुक्त गरिएको बताउँदै अध्यक्ष ब्याञ्जुले सच्चिएर पार्टी काममा फर्कन आग्रह गर्नु भयो ।

अगुवा कार्यकर्ता भेलामा पुर्व मन्त्री एवं बागमती प्रदेश कमिटी इन्चार्ज आनन्द पोखरेलले पार्टी भित्रको विवादका कारण जनतामा भ्रम पैदा भएकाले त्यसको निरुपणका लागि अगुवा कार्यकर्ता भेलाले प्रष्ट बनाएको बताउनु भयो । संसद विघटन गरी जनताको बीचमा जाने सरकारको निर्णय कार्यान्वयन गरी पार्टी भित्र असहयोग गर्नेहरु, अवसरवादी चरित्र देखाएर भाँडभैलो मच्चाउनेहरु सच्चिएर आउन उहाँले आग्रह गर्नु भयो ।

पुर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य जिल्ला इन्चार्ज गोकुल बास्कोटाले संघीयता जनताको भारी भएको तर जनताले नस्विकारेको बताउनु भयो । सत्ता छाडेर सुकुल तिर जानेहरुले निर्वाचनमा सुकुल चिन्ह पाउने बताउँदै बास्कोटाले जिल्लाको विकास र समृद्धीका लागि राष्ट्रिय गौरवका आयोजनाहरु शुरु भएको बताउनु भयो । राष्ट्र र जनताको हितमा प्रतिनिधिसभा विघटन भएको बताउँदै बास्कोटाले तानाशाही ब्यवस्था नभई मुलुकलाई अस्थिरताबाट जोगाउन ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनु भयो ।

अगुवा कार्यकर्ता भेलालाई पुर्व राज्यमन्त्री एवं केन्द्रिय सदस्य रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य चन्द्र लामा, केन्द्रिय सदस्य प्रकाश गौतम, प्रदेश सभा सदस्य गोमा भुर्तेल, जिल्ला कमिटी सचिव नारायण पाण्डे, जिल्ला कमिटी सदस्य विनोद गौतम लगायतले नेकपा भित्रको विवाद तथा मुलुकमा घोषणा भएको मध्यावधी निर्वाचनमा नेकपाको विजयी सुनिश्चित बनाउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्