निःशुल्क स्वास्थ्य शिविरमा सुगर तथा प्रेसरका बिरामी धेरै भेटिए



प्रताप बानियाँ, म्याग्दी ।

जिल्लाको ग्रामीण भेगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सुगर तथा प्रेसरका बिरामीहरु धेरै भेटिएको पाइएको छ । शुक्रबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखको स्वास्थ्यचौकीमा गाउँपालिका र स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न शिविरमा सुगर, प्रेसरका बिरामीहरु धेरै भेटिएका हुन् ।

कुल ८६ जना नागरिकको स्वास्थ्य परीक्षण गरिएकोमा तीमध्ये झण्डै ६४ प्रतिशतमा हाई ब्लडप्रेसर (उच्च रक्तचाप) र ३० प्रतिशतमा सुगर रहेको पाइएको अन्नपूर्ण कोभिड अस्पतालका प्रमुख मेडिकल अधिकृत डाक्टर लक्ष्मी पन्थीले बताइन् । उनका अनुसार उक्त शिविरमा सुगर, प्रेसरसहित ग्याँस्ट्रिक, हाडजोर्नी, नशासम्बन्धी तथा छाला रोगीहरुको समेत पहिचान भएको छ ।

अधिकांश नागरिकहरुमा देखिएको सुगर तथा प्रेसरसम्बन्धी समस्यालाई न्युनीकरण गर्न समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको डा. पन्थीले बताएकी छन् । यसका साथै हरेक तीन/तीन महिनामा नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने, रगतको चेकजाँच गर्नुपर्ने, खानपानमा ध्यान दिनुपर्ने र शारिरीक व्यायाम पनि गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय समुदायस्तरमा नसर्ने रोगको जोखिम बढ्दै जान थालेपछि यसको समाधानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

कार्यक्रममा सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गाउँपालिकामार्फत दुर्गम क्षेत्रका नागरिकहरुको स्वास्थ्यमा सुधार ल्याउनका लागि निरन्तर निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताइन् । शिविरको अवसरमा नसर्ने रोग तथा महामारीजन्य रोगहरुको बारेमा डा. पन्थी र सुगरसम्बन्धी विषयमा अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवालले सहजीकरण गरेका थिए ।

शिख, पाउद्वार, चित्रे र फलाटेबाट नागरिकहरुको सहभागिता रहेको शिविरमा दाना स्वास्थ्यचौकीका इन्चार्ज रविना दर्जी र कोभिड अस्पतालका स्टाफनर्स अन्जना पूर्जाले बिरामीको सुगर तथा प्रेसरको जाँच गरेको स्वास्थ्य संयोजक बरुवालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्