जहाज उडाउने पाइलटलाई फोटो खिच्न प्रतिबन्ध



काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजका पाइलटलाई फोटो भिडियो खिच्न प्रतिबन्ध लगाएको छ । हवाई उडानका दौरानमा पाइलट र क्याबिन क्रू सदस्यलाई फोटो, भिडियो खिच्न प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय पाइलट तथा क्याविन क्रू सदस्यले उडानका दौरान खिचेका भिडियो व्यक्तिगत युट्युब च्यानलमा राख्ने गरेका थिए । यसले उडान सुरक्षामा असर पुग्ने भन्दै प्राधिकरणले हवाई उडानका दौरान फोटो भिडियो खिच्न रोक लगाउने निर्णय गरेको हो ।प्राधिकरणका अनुसार यस्तो रोक यात्रुको हकमा भने लागु हुने छैन।

इनफ्लाइट पाइलट र उडान दलका सदस्य, प्राधिकरण तथा नेपाल सरकारले रोक लगाएको क्षेत्रमा बाहेक यात्रुले हवाई उडानमा फोटो तथा भिडियो खिच्न सक्नेछन् । तर, पाइलट तथा उडान दलका सदस्यले यस्तो गरेमा भने प्राधिकरणको निर्देशन उल्लंघन भएको मान्दै कारवाही गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्