भारत-अस्ट्रेलिया टेस्टः स्मिथले बनाए २७औं शतक, अस्ट्रेलिया ३३८ रनमै समेटियो



सिड्नी ।

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन् । स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रनको मध्यम स्कोर खडा गरेको छ ।

स्मिथले १३१ रनको महत्वपूर्ण योगदान दिएका थिए । वर्षाले प्रभावित खेलमा दोस्रो दिनको खेल दुई विकेटको क्षतिमा १६६ रनबाट अगाडि बढाएको अस्ट्रेलियाले मध्य र पुछारका क्रमका ब्याट्सम्यानको फितलो प्रदर्शनका कारण ३३८ रनमै पूरै टिम समेटिएको थियो ।

अस्ट्रेलियाका लागि स्मिथ बाहेक प्रारम्भिक ब्याट्सम्यान विल पुकोभ्स्कीले ६२, मार्नस लाबुसानेले ९१, मिचेल स्टार्कले २४ तथा म्याथ्यु वेडले १३ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तोमै आउट भएका थिए ।

डेभिड वार्नर ५, क्यामरुन ग्रिन ०, कप्तान टिम पेन १, प्याट कमिन्स ०, नाथन लायन ० तथा जस हेजलउडले अविजित १ रन बनाएका थिए ।

भारतका लागि रबिन्द्र जडेजाले ४, नवदीप सैनीले २, मोहम्मद सिराजले १ तथा जसप्रित बुमराहले २ विकेट लिएका थिए ।

यसैबीच, भारतले आफ्नो पहिलो इनिङ शुरु गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले २ विकेटको क्षतिमा ९६ रन बनाएको छ ।

भारतीय ब्याट्सम्यान रोहित शर्माले २६ बनाएर हेजलउडको बलमा आउट भएका छन् भने शुभमन गिल ५० रन बनाएर प्याट कमिन्सको बलमा आउट भइसकेका छन् ।

दोस्रो दिनको खेल समाप्त हुँदा कप्तान अजिन्क्य रहाणे ५ रन र चेतेश्वर पुजारा ९ रन बनाएर अविजित छन् । भारत अझै पनि अस्ट्रेलियाभन्दा २४२ रनले पछि छ ।

प्रतिक्रिया दिनुहोस्