बार्सिलोनाको जित



मेड्रिड, (एजेन्सी)
कप्तान लिओनल मेसी र युवा स्टार पेड्रीको उत्कृष्ट प्रदर्शनको मद्दतमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई उसैको घरेलु मैदानमा ३–२ गोलअन्तरले हराएको हो । बार्सिलोनालाई जिताउन मेसीले दुई गोल गर्दा पेड्रीले एक गोल थपेका थिए । जितको चर्को दबाब लिएर अवे मैदानमा उत्रिएको बार्सिलोनालाई शुरुआतमै झट्का लागेको थियो ।

घरेलु टोेली बिल्बाओले खेल शुरू भएको दुई मिनेट ४९ सेकेन्डमै गोल गरेर पाहुना टोलीविरुद्ध अग्रता लिएको थियो । बिल्बाओले बार्सिलोनाको पोस्टतर्फ बुनेको पहिलो आक्रमणमै इनाकी विलियम्सले उत्कृष्ट गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । बार्सिलोनाको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै विलियम्सले सो गोल गरेका थिए ।

तर, शुरुआतमै गोल बेहोरे पनि बार्सिलोनाले पहिलो हाफमै उत्कृष्ट कमब्याक गर्न सफल भयो । खेलको १४औं मिनेटमा फ्रेन्की डे जोङले कठिन स्थितिबाट पोस्टको साइड लाइनबाट दिएको पासमा अनमार्क रहेका पेड्रीले केही अगाडि बढेर हेडिङमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि ३८औं मिनेटमा कप्तान मेसीले गोल गरेपछि बार्सिलोनाले पछि परेको स्थिति उल्टाएर खेलमा २–१ को अग्रता बनायो । मेसीको गोलमा पेड्रीले नै ब्याक हिलमा चलाखीपूर्वक निकै राम्रो असिस्ट गरेका थिए ।

त्यस्तै, खेलको ६२औं मिनेटमा कप्तान मेसीले एन्टोनी ग्रिजम्यानको पासमा गोल गरेपछि बार्सिलोना सहज जिततर्फ अघि बढेको थियो । सो गोलपछि मेसीका दुई प्रहार गोलपोस्टमा लागेर फर्किंदा उनी सिजनको पहिलो ह्याट्रिक गर्नबाट चुकेका थिए । मेसीले व्यक्तिगत रूपमा उच्च प्रदर्शन गरेको उक्त खेलमा उनलाई ह्याट्रिक गर्ने सहज अवसर पनि थियो ।

बार्सिलोना सहज जितनजिक पुगेका बेला खेलको ९०औं मिनेटमा बिल्बाओका लागि इकर मुनिएनले गोल गरेर खेललाई जीवितै राखेका थिए । तर, थप गरिएको इन्ज्युरी समयमा बिल्बाओले थप गोल गर्न नसक्दा खेल बार्सिलोनाले ३–२ ले जित्यो । यो जितपछि बार्सिलोनाले १७ खेलबाट ३१ अंक जोडेको छ ।

 

प्रतिक्रिया दिनुहोस्