सिटी लगातार चौथोपटक फाइनलमा



लन्डन, (एजेन्सी)
डर्बी भिडन्तमा जित हासिल गर्दै म्यानचेस्टर सिटी लगातार चौथोपटक इंग्लिस ‘काराबाओ कप’को फाइनलमा प्रवेश गरेको छ ।
सिटीले लिगको एउटै शहरी प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडलाई सेमिफाइनलमा २–० गोलअन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । यसअघि, लगातार तीनपटक यस प्रतियोगिताको उपाधि उचालेको सिटी योसमेत चौथोपटक फाइनलमा प्रवेश गरेको हो । सिटीलाई यसपटक लगातार चौथोपटक कप जित्ने अवसरसमेत जुरेको छ ।
बुधबार राति भएको खेलमा सिटीका लागि ५०औं मिनेटमा जोन स्टोनेसले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३औं मिनेटमा फर्नान्डिन्होले दोस्रो गोल थपेपछि सिटीको २–० को जित पक्का भयो । यता पराजित युनाइटेडले खेलभरि जम्मा दुईपटक मात्रै ‘शट अन टार्गेट’ प्रहार गरेको थियो ।
अब सिटीले कपको उपाधिका लागि प्रिमियर लिगकै टोली टोटनह्यामसँग भिडन्त गर्नेछ । यसअघि, टोटनह्यामले मंगलबार भएको पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई २–० ले नै हराएर फाइनल प्रवेश गरेको थियो । फाइनल खेल आगामी अप्रिल २५ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्