मनसँग मनको भाग्य



कोरोना जोखिमका कारण सरकारले लगाएको लकडाउन विस्तारै खोल्दै अन्य क्षेत्र चलायमान गर्दा समेत फिल्म क्षेत्र खुला गरेको थिएन।

यद्यपि लुकिछिपी यदाकदा फिल्मको सुटिङलगायतका क्रियाकलाप भएका थिए। हालै मात्र सरकारले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएनसी) मार्फत बाँकी रहेका सबै क्षेत्रसँगै फिल्म क्षेत्र पनि खुला गरेपछि फिल्मसँग सम्बन्धित गतिविधि पनि विस्तारै लयमा फर्किन थालेको छ।

यसै क्रममा लकडाउन अगाडि नै छायांकन शुरु गरिए पनि कोरोनाका कारण रोकिएको फिल्म मनसँग मन छायांकन राजधानीमा शुरु गरिएको छ। यसै सिलसिलामा बालाजुको चलचित्र विकास कम्पनी परिसरमा सेट लगाएर यसको एक गीत मेरो त भाग्यको छायांकन गरिएको हो। गीतमा डेभिड शंकर र भावना राइको स्वर, दीपक शर्माको संगीत तथा विपीन किरणको शब्द छ।

गीतमा यसका मुख्य कलाकार पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङलगायत फिचरिङ भएका छन्। गीतमा नायक पल शाह र नायिका पूजा शर्माका साथमा हास्य कलाकार रवीन्द्र झा अतिथिका रूपमा छन्।

कैलाश राईको निर्देशन र अरुण तामाङको निर्माणमा निर्माणाधीन फिल्म सौरभ लामाको छायांकन अर्जुन जीसीको सम्पादन र सन्तोष खवासको एक्सन छ। सौरभ इन्टरटेन्मेन्ट र बालाली प्रोडक्सनको प्रस्तुतिमा निर्माणाधीन फिल्मको नाम परिवर्तन भए पनि कथावस्तु परिवर्तन नभएको निर्देशक राईले बताए। शुरुमा फिल्मको नाम चालबाज थियो।

नायक पुष्प खड्का र नायिका वर्षा शिवाकोटीले कथावस्तु निकै राम्रो रहेको प्रतिक्रिया दिए। छायांकन भइरहेको गीतका बारेमा कोरियोग्राफर रामजी लामिछाने भन्छन्– ‘लोकलयको गीतमा हामीले सेट लगाएर काम गरेका हौं। आशा छ, दर्शकले मन पराउनुहुनेछ।’

प्रतिक्रिया दिनुहोस्