कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र स्थापना



नेपाल समाचारपत्र, काठमाडौं
नेपालमा १० वर्षे द्वन्द्वदेखि २०७२ सालको महाभूकम्प, विगत एक वर्षदेखि विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीजस्ता रोगका फरकफरक मानसिक समस्यालाई ध्यानमा राखी कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।
नेपालमै पहिलोपटक बालबालिका तथा किशोरकिशोरी लक्षित मानसिक स्वास्थ्य केन्द्र कान्ति अस्पताल परिसरमा निर्मित गरिएको हो । उक्त केन्द्रमा बालबालिका तथा किशोरकिशोरीका लागि मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने अस्पतालले जनाएको छ । उक्त भवनको मन्त्री त्रिपाठीले अस्पतालको वार्षिकोत्सवका अवसरमा उद्घाटन गर्नुभएको हो ।
बालबालिकामा हुने मानसिक स्वास्थ्य समस्याको पहिचान र न्यूनीकरणका लागि केन्द्रद्वारा दिइने सेवा महŒवपूर्ण हुने अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो । कान्ति बाल अस्पताल र सिविन नेपालका बीच सन् २०१५ मा भएको सम्झौताअनुसार नर्वेका टप आयरल्यान्ड, नर्वेजियन मानसिक स्वास्थ्य एसोसियसनलगायत विभिन्न डोनर एजेन्सीसँगको सहयोगमा २ तलाको भवन झन्डै ६ करोडको लागतमा निर्माण सम्पन्न गरेको पौडेलले जानकारी दिनुभयो ।
हालसम्म नेपाल सरकारको दरबन्दीमा बाल मानसिक चिकित्सक नभएकाले सहयोगी दाताहरुको टिमले उपचार सेवा दिँदै आउनुभएको छ । सोही टिमले भवन निर्माणसम्मको कार्यमा सहयोग गरेको हो ।
यसका साथै आगामी ३ वर्षसम्म सोही समूहले कान्ति अस्पताललाई सघाउ पु¥याउने उद्देश्यले मानसिक स्वास्थ्य केन्द्र सञ्चालन गर्ने र ३ वर्षपछि कान्ति अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । भवनको स्वामित्व कान्तिकै रहने र पछिल्लो समयमा कान्तिकै एउटा युनिट बन्नेछ ।
हाललाई ओपीडी सेवा सुचारु भइरहेको र विगतमा भर्ना गर्नुपर्ने बिरामी कान्ति अस्पतालमै गरिँदै आएको थियो भने यो भवन बनेपछि ओपीडी र १० बेडसम्मको भर्ना गरी उपचार गराउन सकिने डा. पौडेलले बताउनुभयो । मानसिक स्वास्थ्य केन्द्रमा अन्य अस्पतालमा भन्दा फरक ओपीडी, परामर्श केन्द्रका साथै आवश्यकताअनुसारको थप कक्ष आवश्यक पर्ने हुन्छ । भर्ना नै भएर बस्नुपर्ने बालबालिका भने कमै हुने हुनाले शुरुआत हुनु नै महŒवपूर्ण पक्ष भएको डा. पौडेलको ठम्याइ छ ।
नेपालमा यसअघिसम्म एउटै मात्र मानसिक अस्पताल पाटनमा रहेको र त्यहाँ बिरामीको चाप थामिनसक्दो भएको अवस्थामा बालबालिका र युवापुस्तालाई लक्षित गरी अन्य अस्पताल छैनन् । यसरी बालबालिका र किशोरकिशोरी केन्द्रित मानसिक स्वास्थ्य केन्द्र बनेसँगै कतिपय घरेलु हिंसा, यौनशोषण, बलात्कारजस्ता आपराधिक घटनाका कारण विक्षिप्त भएका बालबालिका तथा किशोरीहरुले समेत सेवा पाउने सिविन नेपालले जनाएको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, डा. डीएन शाह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ, डा. रोशन पोखरेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्