म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ बेड क्षमताको कोभिड अस्पताल उद्घाटन



प्रताप बानियाँ, म्याग्दी ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँको आर्थिक सहयोगमा गाउँपालिकामार्फत कोभिड अस्पताल स्थापना गरी बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

अन्नपूर्ण गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा कोभिड अस्पतालको उद्घाटन गर्दै अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि पालिकामार्फत आवश्यक तयारीलाई निरन्तरता दिइएको बताए । उनले गाउँपालिकाको विशेष पहलमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको सहयोगमा विशेषज्ञ डाक्टरसहितको जनशक्तिको व्यवस्थापन गरी कोभिड अस्पताल सञ्चालन गरिएको बताएका छन् ।

अध्यक्ष पुनले कोभिड अस्पतालको सञ्चालन, व्यवस्थापन तथा निरन्तरताको लागि सबैले आवश्यक पहल र सहयोग गर्नुपर्नेमा जोड दिए । उनले पालिकासहित समुदाय र डोनरबाट आर्थिक सहयोग जुटाएर अस्पताल सञ्चालन गर्न सकिने बताए । सोही कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले कोरोना नियन्त्रणका लागि गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्यकर्मीले साथ दिनुपर्ने बताइन् ।

उनले दुर्गम ठाउँमा डाक्टरसहितको जनशक्ति व्यवस्थापन गरी नागरिकको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले पहल गरेकाले यसलाई निरन्तरता र दीगो बनाउन सबैले सहयोग गर्नुपर्ने बताएकी छन् ।प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले गएको असोज महिनामै डाक्टरसहित दक्ष जनशक्तिको व्यवस्थापन गरी कोभिड अस्पताल स्थापना र सञ्चालन गर्ने तयारी गरिएको भए पनि जनशक्तिको अभावमा समयमै अस्पताल सञ्चालन गर्न नसकिएको बताए । उनले ढिलै भए पनि डाक्टरसहितको जनशक्ति व्यवस्थापन गरी दुर्गम ठाउँका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरिएको बताउँदै यसमा गाउँपालिकामार्फत आगामी दिनमा थप सहयोग गरिने जानकारी दिएका छन् ।

अस्थायी कोभिड अस्पतालका प्रमुख डाक्टर लक्ष्मी पन्थीले अन्नपूर्ण गाउँपालिकालाई कोरोनामुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै यसमा सबैले साथ र सहयोग गर्नुपर्ने बताएकी छन् । उनले दुर्गम ठाउँमा आएर गरिब, दुःखी र विपन्न नागरिकको उपचार गर्न पाउँदा आफूलाई निकै खुशी लागेको अनुभव सुनाइन् ।

डा. पन्थीले सोही अवसरमा हालसम्म गरिएका काम र भावी योजनाको विषयमा आफ्नो प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामी, कार्यपालिका सदस्य आत्म तुलाचन, भूरुङ–तातोपानी स्वास्थ्यचौकी प्रमुख बिक्रम पुन, सिर्जनशील आमा समूह नारच्याङका अध्यक्ष नरिमाया गुरुङ, कोरोना विजेता शिव बरुवाल र स्थानीय बेलबहादुर पूर्जाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अवसरमा कोरोनालाई जितेका शिव बरुवाल र लिला खत्रीलाई सम्मान गरिएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता र स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो । जिल्लामै पालिकास्तरमा पहिलोपटक कोभिड अस्पताल सञ्चालन गरिएको अन्नपूर्णमा डाक्टर एकजना, स्टाफनर्स दुईजनासहित पाँच जनाको जनशक्ति रहेको छ भने पालिकाको सहयोगमा एम्बुलेन्स सेवा समेत उपलब्ध गराइएको छ ।

पाँच बेडको क्षमता रहेको अस्थायी कोरोना अस्पतालमा सिसिटिभी क्यामेरा जडान गरी हालसम्म ४ जना कोरोना संक्रमितको उपचार गरिसकिएको डाक्टर पन्थीले बताइन् । उद्घाटन कार्यक्रमको अवसरमा अस्पतालमा कार्यरत नवआगन्तुक स्वास्थ्यकर्मीको टोलीलाई गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय आमा समूहले अबिर तथा फुलमाला लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्