‘झ्यालमा झुण्डिएर’ अदालतको सेवा, ‘लिने दिने’ दुबै उभिएरै



मोतीराम तिमल्सिना, काभ्रे । 

कोरोना भाईरस तथा साँघुरो भवन र कार्यालयका कारण जिल्ला अदालत काभ्रेपलाञ्चोकले ‘झ्यालबाट उपलब्ध गराएको सेवाले सेवाग्रहिहरु जोखिममा परेका छन् । जेष्ठ नागरिक, अपाङ्ग, महिला तथा अन्य सहज अवस्थाका सेवाग्रहिहरुलाई समेत झ्यालबाट लिएको सेवाले जोखिम बढाएको हो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्द घिमिरेले बाध्यात्मक अवस्थाका कारण झ्यालबाट नागरिकहरुलाई सेवा प्रवाह गर्नु परेको बताउनु भयो । सेवाग्रहिरु झ्यालबाट सेवा लिँदा लिदै लडेपछि थप जोखिम हुन नदिन भवन कार्यालयको सहयोगमा अदालतले सहजताका लागि स्टमेट गरी सर्वाेच्च अदालत पठाएको केहि महिना भए पनि बजेट प्राप्त भएको छैन । ‘सिमित श्रोत र साधनका कारण सेवाग्रहिहरुलाई सहजता प्रदान गर्न कठिन भएको छ’–श्रेस्तेदार गोविन्द घिमिरेले भन्नुभयो–‘पुरानो भवन, भुकम्पका कारण जोखिम बढाएको त छदै थियो अदालतको तह बृद्धी भए सँगै साँघुरो भएको छ । जसका कारण सेवाग्रहिहरुलाई कार्यालय भित्रबाट सेवा दिन सम्भव भएन ।’ पछिल्लो समय कोरोना भाईरसका कारण पनि जोखिम बढाएको अदालतले बताएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ५ वटा फाँटबाट सेवाग्रहिलाई दैनिक सेवा उपलब्ध गराउनु पर्नेछ । तीनवटा फाँट, फिराद र प्रशासन, अभिलेख शाखामा दैनिक सेवाग्रहिहरु पुग्नु पर्नेछ । झ्यालबाट झुण्डिएर सेवा लिँदा लिदै धेरै पटक असहज भएको सेवाग्रहि र कानुन ब्यवसायीहरुले बताएका छन् । अझ पानी पर्दा त्यसको संकट ठुलो छ । झ्यालबाट सेवा उपलब्ध गराउँदा भिडभाड कम हुने, सेवाग्रहि र कर्मचारी बीच थप विषयमा कुराकानी नहुँदा सेवाग्रहिलाई सहज हुने अपेक्षा समेत गरिएको छ । राम्रो उदेश्यबाट शुरु गरिएको उक्त सेवालाई सहज बनाउन अदालतले भवनको वरिपरी सिँढी सहितको वाल, पानी पर्दा तथा घाम धेरै लाग्दा ओत लाग्न मिल्ने छानो, सार्वजनिक शौचालय निर्माणको ईस्टमेट गरेको छ । १८ लाख रुपैयाको इस्टमेट गरी पठाएको लामो समय भई सके पनि सर्वाेच्च प्रशासनले जिल्ला अदालतको समस्यालाई प्राथमिकतामा राख्न नसकेको गुनासो सेवाग्रहिहरुको रहेको छ ।

तीनवटा इजलास रहेको जिल्ला अदालतमा न्यायाधिशहरुका लागि च्याम्बरमा शौचालय छैन । इजलाश भए पनि शौचालय नभए पछि न्यायाधिशहरुलाई संकट छ । साँघुरो भवन र साना साना कोठाका कारण सेवाग्रहिहरुको चाप र उपलब्ध जनशक्तिका कारण असहज भएको छ । उपसचिव दरवन्दीका श्रेस्तेदार, ६ जना अधिकृतका लागि कार्यालय छैन । फाँटहरुमा टेबुल जोडेर दुईवटा फाँट संचालन भएको छ । म्याद शाखामा ११ जना कर्मचारी छन । उभिएरै कार्यालयको काम गर्नु परेको कर्मचराीले बताए । प्रविधि मैत्री अदालत निर्माण गर्ने र सेवाग्रहिरुलाई सेवा दिने भने पनि आवश्यक कम्प्युटर नहुँदा अदालतका धेरै सेवा प्रविधिमैत्री हुन सकेका छैनन । न्युन श्रोत र उपलब्ध बजेट मार्फत सेवाग्रहिरुलाई सहज बनाईएको श्रेस्तेदार घिमिरेले बताउनु भयो । अदालतका सबै शाखाहरुमा सिसि क्यामेरा जडान लगायतका सेवाहरुलाई थप प्रभावकारी बनाउँदै सेवाग्रहिहरुको गुनासो सम्बोधन गरिएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्