धार्मिक-सांस्कृतिक उपनिबेस बनाउन धर्म निरपेक्षता लादियो : कमल थापा



हेटौंडा  । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीहरुको ग्रान्ड डिजाइनअनुसार नेपाललाई धार्मिक र सांस्कृतिक उपनिवेश बनाउन धर्मनिरपेक्षता लादिएको दाबी गर्नुभएको छ । हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले २०६२-०६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै उक्त बाटोबाट मुलुक दुर्घटना हुने बुझेर नै राप्रपा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पार्नुभयो ।

विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्नचिह्न खडा भएको भन्दै थापाले संसद् विघटनको घटनाबाट मुलुक थप जटिलतातर्फ फसेको बताउनुभयो । यसलाई अवसरका रूपमा सदुपयोग गर्न त्रुटिपूर्ण मार्गचित्र सच्याउने हिम्मत र साहस आवश्यक रेको उहाँको कथन छ । थापाको प्रश्न छ– ‘क्रान्तिका नाममा बन्दुक बोक्न लगाउनेहरु आज कहा“ छन् ? बन्दुक बोक्नेहरु कहा“ छन् ? आज लोकतन्त्रका नाममा ब्रह्मलुट भइरहेको छ ।’

एकापसमा सर्वसत्तावादीको आरोप–प्रत्यारोप गर्ने कम्युनिस्टहरुले राम्रो बिउ रोप्न नसकेको चर्चा गर्दै थापाले धतुरो रोपेर आ“प नफल्ने टिप्पणी गर्नुभयो । एउटा राजा हटाएर सयौं राजा जन्माउने व्यवस्था र प्रणाली अब चल्न नसक्ने थापाको दाबी थियो । लोभ, लालच र प्रलोभनमा योजनाबद्धरूपमा गाउ“–गाउ“मा धर्म परिवर्तन गराउने कार्यप्रति थापाको कडा आपत्ति थियो ।

कार्यक्रममा पार्टी कार्यसम्पादन समिति सदस्य मधु अधिकारीले अदूरदर्शी, अक्षम र भ्रष्ट नेतृत्वबाट मुलुक अघि बढ्न नसक्ने भन्दै राप्रपालाई मुलुकको वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेताहरु नवराज विष्ट, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, इन्दिरा डल्लाकोटी, शुक्र प्रजा, रामहरि खतिवडा र कृष्णप्रसाद घिमिरेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्