व्यवस्थापिका पुनःस्थापनाको विकल्प छैन : नेता भुसाल



यमलाल भुसाल, बुटवल । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका आन्दोलनका उपलब्धि रक्षाका लागि प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताउनुभएको छ ।

प्रेस संगठन रूपन्देहीले बुधबार तिलोत्तमामा प्रतिनिधिसभा विघटनसम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले युक्त कुरा बताउनुभएको हो ।प्रतिनिधिसभा पुनःस्थापना नभए देश अस्थिरता र अराजकताको दुस्चक्रमा फस्ने बताउँदै नेता भुसालले संसद् पुनःस्थापनामा ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । विघटनसम्बन्धी मुद्दामा अदालतले जति ढिलाइ गर्छ मुलुकलाई राजनीतिक, आर्थिक, सामाजिकरूपमा त्यति बढी क्षति हुने नेता भुसालले औंल्याउनुभयो ।

प्रतिनिधिसभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुँदाहुँदै पनि अदालतले ढिलाइ गर्नुले अदालतमाथि प्रश्न उठ्ने उहाँको भनाइ छ । ‘प्रधानमन्त्री र राष्ट्रपतिको निर्णय संविधानको बर्खिलाप छ, लोकतन्त्र, वामपन्थ, समाजवादविरुद्धको प्रतिगामी र सर्वसत्तावादी कदम हो तर अदालतमा किन ढिलाइ हुँदै छ ?’ – भुसालको प्रश्न छ ।
प्रधानमन्त्री ओली पक्षले सत्ताको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाएर सांसद किनबेचको खेलमा लागेर गणतन्त्रलाई नै विकृत बनाएको आरोपसमेत भुुुसालको लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्